स्वदेशी उत्पादनको बजार पहुँच बढाउन उद्योग मन्त्री यादवको निर्देशन

 स्वदेशी उत्पादनको बजार पहुँच बढाउन उद्योग मन्त्री यादवको निर्देशन

काठमाडौँ, ८ असोज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले स्वदेशी उत्पादनका वस्तुहरुको बजार पहुँच बढाउनु पर्ने बताएका छन् । स्वदेशी उत्पादनका वस्तुहरुको प्रचार प्रसारको कमी भएको कारण बजारमा सहज पहुँच हुन नसकेको भन्दै अबको आवश्यकता त्यतातिर ध्यान दिनुपर्ने रहेको बताए ।

उद्योग विभाग अन्तर्गत रहेका केन्द्रीय कारागार कारखानाद्वारा उत्पादित शुद्ध सुती कपडाको प्रदर्शनी तथा विक्री कक्षको उद्घाटन एवं निरीक्षण गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । मन्त्री यादवले स्वदेशी उत्पादन भावना तथा राष्ट्रिय उत्पादन सँग जोडिएकोले यसको बजार विस्तारतर्फ विशेष रुपले ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिए ।

उद्घाटन एवं निरीक्षण पश्चात उद्योग विभागका कर्मचारीहरुलाई निर्देशन दिदै मन्त्री यादवले कार्यालयलाई मैत्रीपूर्ण बनाई जनताको विश्वास जितेर देश र जनताको निम्ति केही गर्न निर्देशन दिए । अहिले सुपथ मूल्यको पसलहरु सञ्चालनमा रहेको र अब सहुलियत मूल्य तर्फ ध्यान दिदैँ यसपालीको दशैँ, तिहार एवं चाडपर्वहरुमा जनताले सहज तथा सहुलियत पाओस् भन्ने तर्फ विशेष रुपले पहल गर्न निर्देशन दिए ।

सरकारी अनुगमन फितलो भएको र सोही कारणले कुनै पनि कार्यको कार्यान्वयन पक्षमा लापरवाही भईरहेकोले प्रभावकारी अनुगमन गर्न समेत मन्त्री यादवले कर्मचारीहरुलाई निर्देशन दिए । ‘बजारमा गडबड छ, सबैजना मिलेर काम गरौँ, मन्त्री यादवले भने, ‘अन्य केही भए हामीलाई सूचना दिनुस, हामी त्यतातर्फ आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउछौँ ।’

केन्द्रीय कारागार कारखानामा कार्यरत श्रमिक तथा कैदीहरुको श्रमको उचित मूल्यांकन गर्न तथा बजारीकरणमा समेत ध्यान दिन मन्त्री यादवले विशेष ध्यान दिन निर्देशन दिए ।

केन्द्रीय कारागार कारखानाद्वारा उत्पादित शुद्ध सुती कपडाको प्रदर्शनी तथा विक्री कक्ष राजधानीको त्रिपुरेश्वरमा सञ्चालनमा आएको छ ।