कम्युनिस्ट र कांग्रेस छुट्याउन गाह्रो, देशमा शान्तिपूर्ण र प्रतिष्पर्धात्मक आन्दोलनको खाँचोः प्रचण्ड

कम्युनिस्ट र कांग्रेस छुट्याउन गाह्रो, देशमा शान्तिपूर्ण र प्रतिष्पर्धात्मक आन्दोलनको खाँचोः प्रचण्ड

काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने खालको अर्को आन्दोलन चाहिएको बताएका छन् । 

तत्कालीन नेकपा एमालेकी नेतृ सहाना प्रधानको पाँचौँ स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट विचार र सिद्धान्तका हिसाबले कमजोर बन्दै गइरहेको बताए । प्रचण्डले भने, ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ प्रचण्डले भने,‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ । सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ । नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ ।

अध्यक्ष प्रचण्डले कम्युनिस्ट र कांग्रेस छुट्याउन गाह्रो पर्ने अवस्था आएको पनि बताए । प्रचण्डले भने, “सत्ता प्राप्तिअघि गरेको सङ्घर्षका आधारमा हामीलाई जनताले माया र भरोसा गरे । तर हामीले तदनुरूप व्यवहार गर्न सकेनौं । समाजवादको यात्रा शुरू गर्ने त भनेका छौँ, तर के हामी समाजवादको यात्राका निम्ति एउटा योद्धाजस्तै छौँ त ? या हामी विस्तारै विस्तारै कांग्रेसजस्ता या हिजोका निरङ्कुशहजस्तै ? छुट्याउनै गाह्रो हुने पो भयौँ कि ?”

उनले पूर्वी युरोपको समाजवादी सत्ता धराशायी बनेझैँ नेपालको कम्युनिस्ट आन्दोलन पनि क्रमशः शिथिल बन्दै जाने खतरा रहेको बताए । उनले दुई ठूला कम्युनिस्ट पार्टी एकतावद्ध भएपछि पनि कम्युनिस्ट पार्टीले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले गुटैगुट खडा गरेर आपसमा लड्नका लागि पार्टी एकता नगरेको भन्दै कमरेड सहाना प्रधानले कल्पना गरेजस्तो पार्टी बनाउनका लागि पार्टी एकता गरिएको भाव प्रकट गरेका थिए ।