दशैँमा राजमार्गमा ट्राफिक जाम हुन नदिने  

दशैँमा राजमार्गमा ट्राफिक जाम हुन नदिने  

दशैँको बेला हुने ट्राफिक जामलाई ध्यानमा जिल्ला प्रशासन कार्यालय धादिङ्गले नयाँ रणनीति अख्तियार गर्ने भएको छ । संभावित ट्राफिक जामलाई मध्यनजर राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउन दिइने भएको छ । 

यससँगै दशैँमा उपत्याकाबाट बाहिरिने लाखौं यात्रु राजमार्ग घन्टौंसम्म जाममा बस्नुपर्ने समस्याबाट मुक्ति मिल्ने भएको छ  । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा सरकारी निकाय र सरोकारवालाहरुबीच यस्तो सहमति भएको हो । 
 
त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक खण्डमा पर्ने १२ किलोमिटर क्षेत्रलाई ग्यास बुलेट, लामा तथा ठूला मालबाहक सवारी तथा टिप्परलाई राति ९ बजेपछि मात्र खानीखोलाबाट काठमाडौं प्रवेश गर्न दिइने सहमति भएको छ ।  

उक्त सडक खण्डमा दैनिक औसतमा १ हजारभन्दा बढी टिप्पर चल्ने गरेका छन् । भने अन्य मालबाहक सवारी उकालोमा चढ्दा समस्या आउने र बाटोमै विग्रने समस्याका कारण दिनहुँ जाम पर्ने गर्छ । नौविसेदेखि नागढुंगा सम्मको सडक खण्डमा गति समेत कम हुने र मालबहाक सवारी साधनको चाप अत्याधिक भएपछि गत वर्षमात्रै मर्मत गरिएका सडक समेत भत्किसकेको छ ।