नेपाली मौलिकता अनुरूपको समाजवाद स्थापना गर्ने जिम्मा हाम्रै

नेपाली मौलिकता अनुरूपको समाजवाद स्थापना गर्ने जिम्मा हाम्रै

काठमाडौ । नेकपाका अध्यक्ष प्रचण्डले नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरूपको समाजवाद स्थापना गर्नु पर्ने बताएका छन् ।

नेपालको संविधानको चौथो वार्षिकतोत्सवको अवसरमा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ “ नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरूपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो ।”

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै  प्रचण्डले  भनेका छन् – यस अवसरमा सर्वप्रथम जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्सर्ग गर्ने नेपाली आमाबुबाका सार्वोत्तम छोराछोरी महान् शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यसक्रममा बेपत्ता हुनुभएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु । यस संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेस लगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको विज्ञप्ति मार्फत बताएका छन् ।

संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित, पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको प्रचण्डले जनाएका छन् ।

वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ । नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो विज्ञप्तिमा उल्लेख छ ।

उनले अगाडि भन्छन् –“जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउन केही अराजक तत्वहरु यो व्यवस्थाकै विरुद्ध लागि परेका छन् । जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गरी सम्पूर्ण परिवर्तनकारी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।”

संविधान दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदैछ ।

 यसअवसरमा विभिन्न राजनीतिक दलका नेताले शुभकामना व्यक्त गरेका छन् ।