कितापको भाण्टा !

कितापको भाण्टा !

साइँला भाइ

भारतीय जासुस ‘रअ’का पूर्व प्रमुख अमर भूषणले इनसाइड नेपालमा लेखे, ‘नेपालमा गनतान्त्रिक पर्जातन्त्र हामीले उपहार स्वरुप मिलाइ दिएको हो । यो कुरा नेपालका कमल नाम गरेका माउवादीलाई थाहा छ । मैले उनैलाई देखेर नेपालमा गनतान्त्रिक पर्जातन्त्र उपहार दिनु पर्ने ठहर गरेँ । त्यसपछि मैले तरुनी फकाए भन्दा पनि बढी मिहिनत गरेर माउवादी अध्यक्षे प्रचन्नलाई फकाउनसम्म फकाएँ । प्रचन्न मानेका थिएनन् । आनकाकानी गर्दै थिए । सुनेको हो कि गुनेको उनको बढी लेंग्वेज स्थिर हुन सकेको थिएन । तर मैले हदैसम्म जिद्धि, शुक्ति, वुद्धि र आधुनिक जासुसी सूत्र लगाए पछि उनी राजा फाल्न अर्थात गनतान्त्रिक पर्जातन्त्र ल्याउन राजि भए । त्यसैको फलस्वरुप नेपालमा गनतान्त्रिक पर्जातन्त्र आएको हो । नत्र कसलाइ के थाहा नेपालमा के हुन्थ्यो ? सिक्किम हुन्थ्यो कि भूटान ।’

जासुस भुषणले यतिमात्र आफ्नो कितावमा के लेख्न भ्याएका थिए नेपालमा काकोहोलो नै मच्चियो । 

ऋतिक र धर्मेन्द्र

उहिले नै उहिले धेरै नै पहिले भारतका चक्लेटी हिरो क्रृतिक रोसनले पनि यस्तै नेपाललाइ हेप्ने के कुरा गरेको भनिकन नेपालमा ‘भाइरल’ भयो । क्रृतिकले के भनेका थिए त्यो कुरो थाहै नपाई हल्लाबाजहरु टोपी खोलेर उनको विरोधमा दौडिए । रत्नपार्कका बार भाँचे । नेपाल बन्द गराए । भाष्नभुषन तोपे । सर्लाहीमा केहीको झोपडीमा आगो लगाए । 

यो काण्ड भन्दा धेरै अगाडि धर्मेन्द्र नामका अर्का बलउडी हिरोले पनि नेपाललाई गाली गरे भन्दै उनको सिनेमा नेपालमा चल्न नदिने नाकावन्दि गरेका थिए । उनले पनि नेपालको विरोधमा के भनेका थिए आजसम्म कसैलाइ पत्तो छैन । उनको सोले भन्ने फिलिम रिलिज नभएको भए अहिलेसम्म उनको फिलिम चिलिम हुन्थ्यो । सोले फिलिम नेपालमा चल्दा हल्लाबाजले उनीमाथि लगाएको नाकावन्दि पनि हल्लैहल्लामा लगाएको ठहर भयो ।

हल्लैहल्लाको देश:

कवि भूपी शेरचनले नेपाललाइ हल्लै हल्लाको देश त्यसै भनेका रहेनछन । झन भारतीय जासुसले नै भने पछि त अर्को हल्ला चल्ने नै भयो । ति जासुसले नेपालमा गनतान्त्रिक पर्जातन्त्र ल्याएको खसोखास खासखुस चल्यो । बैठक बस्यो, बहस भयो, तर्क तरंग चल्यो । पत्रकारिताले स्कूप पायो । एक्सक्लुसिव समाचार बन्यो । लम्बेचौडे लेख बन्यो, भारतवीद, दक्षीण एसियावीदले भोजपत्रदेखि काँचको पर्दामा खोक्ने मौका पाए । नयाँ कुरामा खोक्न पाएकोमा सबैको रोजीरोटी चल्यो । जासुसले ल्याएको गनतान्त्रिक प्रजातन्त्र रैछ भनेर जोरीपारीलाई कुरा कथुर्ने मौका भयो ।

कितापको शीर कोट्याए, पुच्छर समाए, भूमिका हेरे कागजको पानादेखि काँचका पर्दासम्म रंगाए । कितापको शीर पुच्छर नछामी दौडिए । कागले कान लग्यो भन्दा कान नछामी दौडिए जस्तो गरी दौडिए ।

बाह्र मसला :

राजावादीलाई त बाह्र मसला हुने नै भयो । भारतीय जासुसको बलले मात्र गनतान्त्रिक पर्जातन्त्र आएकोमा उनीहर्को खातामा पुस्टी भयो । नेपाली जनताले उफ्रेर गनतन्त्र नल्याएको कुरामा सोह्रै आना उनीहर्को ठहर रहँदै आएकोमा यो कुराले सत्यतथ्य खोलिदियो भन्ने विश्वासलाई बल दियो ।

हावा कथा:

तर कितापको अन्त्यमा जासुसले यो कथाकुथुङ्ग्री मात्र हो । सत्य घटना जस्तो देखिए संजोग मात्रै हुनेछ भनेर लेखेपछि सबै हुस्सु भएकोमा पछुताए । ए कितापको भाण्टा यस्तो पो हुँदो रहेछ भनेर यो लेखन्दास साइँलाभाइ पनि झल्याँस्स भयो गाँठे ।