चौथो धन्दा: अन्धा युग

चौथो धन्दा: अन्धा युग

भवानी बराल

जब समाचार पत्र वा आमसञ्चारका अन्य साधन वा समग्रमा पत्रकारिताले ‘धन्दा’ (व्यवसाय) सुरु गर्छन त्यतिखेर पत्रकारिता मर्छ र धन्दा पलाउँछ । पत्रकारिताको विकासको आधारलाई ‘धन’संग जोडेपछि पत्रकार तिनै धनका आसामी र पत्रकारिता गुलामी र मलामीमा परिणत हुन्छ । यस्तो पत्रकारितालाई भारतका म्यागेसेसे पुरस्कार विजेता राविश कुमारले ‘गोदी’ मिडिया वा गोदी पत्रकारिताको नाम दिएका छन् । यसरी चौथो अंगले धन्दासंगै अन्धा युगको ‘श्री गणेश’ गर्छ । यसै मेसोमा नेपाली पत्रकारिता कतातिर गैरहेको छ अहिले नै एकीन गर्न नसकिएपनि त्यतैतर्फ उन्मुख हुँदै गैरहेको विश्वास गर्न सकिन्छ । यसको उचित अनुसन्धान र मूल्यांकन जरुरी छ । नेपाली पत्रकारिता सवासय वर्षको नेटो काटीसकेकोले पनि यस्तो मूल्याङ्कन आवश्यक भएको हो ।

नेपाली पत्रकारिताको उदय:

विश्वमा छापा पत्रकारिताको उदय आफ्नो समयको उद्वेश्य प्राप्त गर्ने लक्षकासाथ भयो । गुटनवर्गले छापा (प्रेस) को आविश्कार गरेपछि सुरु भएको छपाइ प्रविधिको विकाससंगै पत्रकारिताको सुरुवात भएन । पत्रकारिताको युग सुरु हुनु अघिसम्म त छापा उद्योगले धार्मिक ग्रन्थहरु प्रकाशित गरेर दिनचर्या गुजारेको थियो । यसअर्थमा पत्रकारिताको उदय उद्वेश्यमूलक भएको हो । 

वेलायतबाट गिद्धे प्रेस (छापा मेशीन) लिएर आएका राणा प्रधानमन्त्री जंगबहादुर राणाले पत्रिका छाप्नकै लागि प्रेस मेशीन ल्याएका अवश्य थिएनन् । विसं १९०८ मा जंगवहादुरले ल्याएको प्रेसलाइ अर्का राणा प्रधानमन्त्री देव शमसेरले ५० वर्ष पछि १४ वैशाख १९५८ मा गोरखापत्र छाप्न उपयोगमा ल्याए । हुनत यसअघि नै ‘गोर्खा भारत जिवन’ नामको पत्रिका भारत वनारसबाट मोतिराम भट्ट र रामकृष्ण वर्माले प्रकाशित गरेका थिए । यो ऐतिहासिक तथ्यहरुले के देखाउँछ भने नेपाली पत्रकारिताको उदयको मूल उद्वेश्य लहडैलहडमा सत्ताको प्रचार गर्न ल्याइएको अर्थ मात्र लाग्छ । नेपाली पत्रकारिता उदयको मूल उद्वेश्य यसरी खुल्दैन । यसअर्थमा नेपाली पत्रकारिता सुरुदेखिनै अल्मलिएको हो ।

भारतीय अनुभव 

भारतमा १६ औं शताब्दीमा छपाइ सुरु भयो । सन् १६७४ मा भारतमा छपाई मेशीन आइपुग्यो । छपाइ मेशीन आएसंगै भारतमा पत्रकारिता सुरु भएन । मेशीन आएको धेरैपछि मात्र भारतीय पत्रकारिताको उद्वेश्यमूलक उदय भयो । भारतीय पत्रकारिता भारतको स्वतन्त्रता र वेलायति उपनिवेशको अन्त्य गर्ने मूख्य उद्वेश्यसहित सुरु भयो । आजपनि भारतीय पत्रकारिताले यसै विषयलाइ गर्वको रुपमा लिने गरेको छ । 

नेपालमा राणा शासनको मुलच्छेदनको उद्वेश्यले पत्रकारिताको सुरुआत भएको होइन । राणाहरुले गोरखापत्रलाई सरकारको प्रचार, स्तुती र इस्तिहार छाप्न प्रचार गर्न उपयोग गरे । राणा शासनको अन्त्यपछि प्रजातन्त्रको सुरुआतसंगैको खुला परिवेशलाई उपयोग गर्ने स्वस्फूर्त रुपमा निजी क्षेत्रको प्रतिनिधित्व गर्र्दै पत्रकारिताको उदय भयो । उद्वेश्यविहीन ढंगबाट सुरु भएकोले नै यो युगको पत्रकारिताले प्रजातन्त्रको संस्थागत विकासमा कुनै भूमिका खेल्न सकेन । प्रजातन्त्र संस्थागत हुन नपाउँदै सत्रसालको दूर्घटना भयो । प्रजातन्त्र अपहरण हुने सुँइकोसम्म त्यस समयको नेपाली पत्रकारिताले चाल पाएन । यसपछि पञ्चायतकालीन समयमा नेपाली पत्रकारिताले वाध्यतावस लक्षमूखी पत्रकारिता गर्न खोजेको देखिन्छ तर, यहाँपनि कस्तो राजनैतिक व्यवस्थाको स्थापनाको लागि लक्षमूखी पत्रकारिता गरिएको भन्ने मूल उद्वेश्य भन्दा पनि पञ्चायतइतर र पञ्चायतभितरमा नेपाली पत्रकारिता विभाजित थियो । यसरी नेपाली पत्रकारिताको उठान उद्वेश्यमूलक नभएकोले आगामी यात्रा पनि अलमलमा छ । 

परिवर्तन अघि पत्रकारिता पछि:

राजनैतिक परिवर्तनको हिसावमा नेपाली पत्रकारिता सँधै पछि पर्यो। नेपाली पत्रकारिताले राजनैतिक परिवर्तनको जनमत निर्माण गर्ने हदको भूमिका खेल्न सकेको होइन । केवल प्रचारको साधनसम्म बन्यो । पञ्चायतको अन्त्य, जनयुद्ध र सशस्त्र विद्रोह, त्यसयता संविधान निर्माण, संघीय संरचना वा समग्र घटनामा नेपाली पत्रकारिताले बहस ल्याउन सकेन । 

लेख छाप्नु र समाचार तयार गर्नु मात्र पत्रकारिता होइन । पत्रकारिताले दृष्टिकोणसहित विचार दिनु पर्दछ । यस्तो विचार दिने क्रममा नेपाली पत्रकारिताको विचार सृङ्खला देखिएन । अहिले पनि यहि नियति छ । यसअर्थमा नेपाली पत्रकारिता व्यवसायिकताको नाममा धन्दामा लागेको छ । यसको परिणती अन्धा युगमा जाने प्रस्थान विन्दुमा पुग्नेछ ।