अपर्झट भएपनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउने सरकारी प्रयास

अपर्झट भएपनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउने सरकारी प्रयास

काठमाडौ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण अपर्झट भएपनि गराउने तयारीमा जुटेका छन् ।

सरकारी अधिकारीहरूको पहलमा राष्ट्रपति सीको अपर्झट भ्रमणका क्रममा बसाइको सम्भावित ठाँउहरूको बारेमा अनुगमन गर्न चिनियाँ अधिकारीहरूलाई गरेको आग्रह अनुसार एक उच्चस्तरीय टोलीले नेपालको भ्रमण गरेको हो ।

चीनको विदेश मामिलासम्बन्धी महानिर्देशक हङ लेइ नेतृत्वको १८ जना सम्मिलित सो टोलीले अक्टोबरको मध्यतिर सम्भावित नेपाल भ्रमणको विषयमा स्थलगत निरीक्षण भ्रमण गरेको परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।

त्यो टोलीले सोल्टी होटलमा बसेर होटलका सुइटहरूको निरीक्षण गरेको हो ।

आवश्यक जानकारी होटलका कर्मचारीहरूसँग सो टोलीका सदस्यहरूले लिएको नाम नखुलाउने शर्तमा परराष्ट्रका एक अधिकारीले जनाए । सोल्टी देखि राष्ट्रपति भवनको बाटोको पनि निरीक्षण सो टोलीले गरेको हो ।

सोल्टीबाट राष्ट्रपति भवन शीतल निवास पुगेर  राष्ट्रपति विद्यादेवी भण्डारीसँग सीको लश्करलाई कतिको सहज हुने र त्यसको सुरक्ष व्यवस्था कस्तो हुने जस्ता विषयको अनुमान र आंकलन गर्न सो टोली आएर बुधबार फर्किएको हो ।

टोलीले नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग छुट्टा छुट्टै छलफल गरेको हो ।

हङ नेतृत्वको यो टोलीले चिनियाँ अधिकारीहरूसमक्ष जानकारी दिएपछि सीलाई अपर्झट नेपालको भ्रमण गराउन सक्ने जस्ता विषयमा निर्णय लिइनेछ ।

भ्रमणका लागि उचित अवस्था रहेको जानकारी यो टोलीले दिने परराष्ट्रका सम्बद्ध अधिकारीहरूको बुझाइ छ ।

गत साता चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको भ्रमण गरी फर्केका हुन् ।