अर्थमन्त्रीको एउटै बोलीले शेयरबजार चम्कियो  

अर्थमन्त्रीको एउटै बोलीले शेयरबजार चम्कियो  

अर्थमन्त्री डा. युवराज खतिवडाको सकारात्मक अभिब्यक्तिले शेयर बजारमा फेरी चमक आएको छ । शेयर बजारको बारेमा नकारात्मक धारणा ब्यक्त गर्ने भनेर आलोचित अर्थमन्त्रीले मंगलबार शेयर बजारमा लगानी बढाउनुपर्ने धारणा राखेपछि शेयर बजारमा सुधार देखिएको हो ।

हिजोमात्र कर्मचारी सञ्चय कोषको कार्यक्रममा अर्थमन्त्रीले लगानीकर्ताहरुलाई शेयर बजारमा लगानी गर्ने सबैभन्दा उपयुक्त समय यही हो । तपाईंहरु लगानी गर्नुहोस्, अर्थतन्त्र राम्रो हुँदैछ । आर्थिक वृद्धिदर पनि राम्रो छ । राजनीतिक स्थिरता कायम भएकाले विस्तारै लगानी वातावरण बन्दैछ भन्दै उनले लगानीकर्ताको मनोबल उकास्ने किसिमको अभिब्यक्ति दिएका थिए ।

                                

धेरै दिनको घटाईपछि मंगलबार नेप्से सूचक २६.९१ अंकले बढेर ११५०.७४ विन्दुमा उक्लिएको छ । बजार समग्रमा २.३९प्रतिशतले बढेको हो । मंगलबार १७१ कम्पनीको ३८ करोड ३९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १३ लाख ७७ हजार ९४६ कित्ता शेयर खरिदबिक्री भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा बढी १०७.१ अंकले बढेको छ । त्यस्तैगरी वाणिज्य बैंक समूहमा पनि २१.०७ अंकले बढेको छ ।

                                     

म्युचुअल फन्डबाहेक कारोबार भएका बाँकी सबै समूहका सूचक बढेका छन् । कारोबार रकममा सिद्धार्थ बैंक अग्रस्थानमा छ । यसको ३ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । खरिदबिक्री रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

                                               

आजको कारोबारमा शिवम सिमेन्ट्सको सर्किट ब्रेकर लाग्ने गरी भाउ बढेको छ । शिवमको भाउ ४९ रुपैयाँ बढेको हो । यसैगरी, गुराँस लघुवित्त र राधी विद्युतको भाउ पनि आकर्षक हिसाबले बढेको छ । यस दिन सबैभन्दा धेरै एभरेष्ट इन्सुरेन्सका लगानीकर्ताले ५.५९प्रतिशतका दरले गुमाएका छन् ।