अमेरिका चीनको द्वन्द्वमा नेपाललाई फसाउने योजना

अमेरिका चीनको द्वन्द्वमा नेपाललाई फसाउने योजना

काठमाडौ । विश्वका दुई ठूला उदीयमान शक्तिको बीचमा रहेका कारण भूराजनीतिक अवस्थाले उचाइँ ग्रहण गरिरहेका बेला नेपाललाई अमेरिका र चीनबीचको द्वन्द्वमा फसाउने योजना द्रुतगतिमा अगाडि बढेको देखिएको छ । 

हालै सम्पन्न चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा सत्ताधारी नेकपाका अधयक्ष प्रचण्डले अमेरिकी नेतृत्वको हिन्द प्रशान्त महासागरीय रणनीति( इन्डो प्यासिफिक स्ट्रेटजी)मा सामेल हुने प्रस्तावलाई नेपालले अस्वीकार गरिसकेको बताएको अभिव्यक्तिलाई यसै क्रममा उछालिएको पाइएको कुटनीतिक विज्ञहरूको भनाइ रहेको छ ।

अध्यक्ष प्रचण्डको त्यो अभिव्यक्तिको आधारमा चीनको राज्य परिषद् र विदेशमन्त्री वाङ यीले अमेरिकी नेतृत्वको इन्डो प्यासिफिक स्ट्रेटजीलाई नेपालले समर्थन गर्ने गएको मंगलबार बताएका थिए ।

नेपालस्थित अमेरिकी दूतावासले इन्डो प्यासिफिक स्ट्रेटजीको बारेमा नेपालको धारणबारे स्पस्टीकरण माग गर्न लगाएको हो ।

प्रतिनिधि सभाका सांसदहरूले अमेरिकी समर्थित इन्डो प्यासिफिक स्ट्रेटजीबाट टाढा रहनु पर्ने बताएका छन् ।

सांसद पम्फा भुसालले अमेरिकी समर्थित इन्डो प्यासिफिक स्ट्रेटजीबाट टाढा रहनुपर्ने बताएकी छिन् ।

उनले भनिन् “ नेपाल सरकार अमेरिकाको संयुक्त तालिम दिने जस्ता यो स्ट्रेटजीबाट टाढा रहनुपर्छ ।

अमेरिकी दूतावासले मागेको स्पस्टीकरणबारे परराष्ट्रका अधिकारीहरूदले केही बताउन नमाने पनि बिहीबार नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरी र अमेरिकी मिसनका नव नियुक्त उपप्रमुख म्यानुएल मिकालरसँग परराष्ट्र मन्त्रालय पुगेका थिए ।

उनले त्यसक्रममा परराष्ट्र सचिव शंकर दास बैरागीसँग छलफल गरेका थिए ।

नवनियुक्त उपप्रमुख म्यानुएल मिकालरसँग बैरागीको चिनजान गराएका थिए ।

परराष्ट्र सचिव बैरागीले त्यसक्रममा इन्डो प्यासिफिक स्टेटजीको विषयमा नेपालको धारणाबारे के बताए त्यसको जानकारी सार्वजनिक गरिएको छैन् ।

तर यस विषयमा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले एक प्रेस सम्मेलनको आयोजना गरी छिमेकी र मित्रदेशहरूका बारेमा नेपाल सरकारको धारणा सार्वजनिक गरेका थिए ।

बाँस्कोटाले भने “छिमेकी र अन्य मित्र देशहरूसँगको सन्दर्भमा नेपालको व्यवहारमा  कुनै परिवर्तन भएको छैन् । चाहे त्यो इन्डो प्यासिफिक स्ट्रेटजी होस वा बीआरआई वा अन्य कुनै विषयको सन्दर्भमा होस नेपाल सार्वभौम देश भएकाले हामीले छिमेकी र मित्र देशहरूसँगको व्यवहारमा सदैव ध्यान दिँदै आएका छौं । यसको कुनै परिवर्तन वा झुकाव आएको छैन् ।”

अमेरिकाले नेपाललाई इन्डो प्यासिफिकमा बलपूर्वक तान्न खोजेदेखि  यसबारे छलफल तीव्र बनेको हो ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले गएको डिसेम्बरमा अमेरिकी राजधानी वासिंटन पुगेर अमेरिकी समकक्षी माइक पोम्पेओसाग भेटावार्ता गरेका थिए ।

अमेरिकी समर्थनको इन्डो प्यासिफिक स्टे«टजीमा नेपालको भूमिका मत्वपूर्ण हुने विषयमा छलफल भएको थियो ।

त्यसयता अमेरिकाले नेपाललाई इन्डो प्यासिफिकमा तान्ने प्रयास गरिरहेको छ ।

यो विवाद बढेपछि परराष्ट्र मन्त्री ज्ञावालीले अमेरिकी विदेशमन्त्रालयले नेपाल अमेरिकी रणनीतिको ठूलो साझेदार भएको भनी जारी गरिएको अभिव्यिक्तिको विरोध गरेका थिए ।

उनले अमेरिकी विदेशमन्त्री पोम्पेओसँग यसबारे छलफल भएको थियो तर नेपाल त्यसको साझेदार भइनसकेको स्पस्ट पारेका थिए ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका बेला नेपाल र अमेरिकासँग ५० करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज नामक परियोजनामा हस्ताक्षर भएको थियो ।

त्यतिखेर यो परियोजनालाई इन्डो प्यासिफिकको भाग भनेर हस्ताक्षर गरिएको थिएन् ।

पछि अमेरिकाले यो परियोजनालाई इन्डो प्यासिफिक स्ट्रेटजी अन्तर्गतको परियोजना भनेपछि र नेपाल सरकारलाई त्यसलाई संसदबाट अनुमोदन गराउन खोजेपछि चिनियाँ पक्षको असन्तुष्टि बढेको थियो ।

भौगोलिक सीमाना जोडिएको देशको हिसाबले चीनसँगको नेपालको सम्बन्ध र अमेरिका नेपालको मित्रवत् सम्बन्धको तुलना गर्न नसकिने विज्ञहरूको बुझाइ छ ।

त्यसै पनि चीन अमेरिकाबीचको द्वन्द्वबाट नेपाल टाढा रहनु नै राष्ट्रिय हितमा हुने कुटनीतिज्ञहरूको भनाइ छ ।