सुशासन कायम गर्न दृढ गृहमन्त्री  

सुशासन कायम गर्न दृढ  गृहमन्त्री  

२६ भदौ, काठमाडौं । गलत धन्दामा भाइको संलग्नताबारे प्रहरीले थालेको अनुसन्धानलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अगाडि बढाउन गरेको निर्देशनले उनको सुशासनका लागि चालेको कदममा इमान्दारिता रहेको थप पुस्टि भएको छ । 


गृहमन्त्री वादलले निर्देशन नदिएको भए यो अनुसन्धान हुने नै थिएन । 


प्रहरी प्रमुख चयनदेखि सबैतिर स्वतन्त्र, बिना चलखेल काम अगाडि बढाएका गृहमन्त्री वादलको शान्ति सुरक्षा, सुशासनका निम्ति आफ्नो परिवारका भाइ नै पनि नछाड्ने रहेछन् भन्ने यो द¥हो प्रमाण हो । 


आर्थिक लगायत अनियमिततामा पार्टीमा कहिलै विवादमा नआएका र उत्वीडित वर्ग र समुदायको पक्षमा इमान्दारितापूर्वक क्रियाशील वादलको पछिल्लो प्रयासले शक्तिमा रहे पनि पदको दुरुपयोग नगर्ने नेताको रुपमा आमजनतामा छवि बनाएका छन् । 


विभिन्न धन्दामा जोडिएका र रामबहादुर थापा बादललाई गृहमन्त्री नै बन्न नदिने प्रयासमा लागेका कतिपय व्यक्ति भने यतिवेला उनको भाइले गरेको भनिएको कमजोरीको आशंकासँग जोडेर यतिबेला छानविनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने रुवाइ रोइरहेका छन् । राजनीतिको नाममा व्यवसाय, धन्दा चलाउनेका लागि गृहमन्त्री वादल वाधक बनिरहेका छन् । 


 घटनामा संलग्न भएको आशंका गरिएका आफ्ना भाइलाई जोगाउनका लागि पदीय दुरुपयोग गरेको देखिएको भए गृहमन्त्रीविरुद्धको प्रचार बदनियतपूर्ण मानिने थिएन । यहाँ त स्थिति उल्टो भएको छ ।


अपराधीहरुसँगको संलग्नताबारे प्रहरी अनुसन्धानमा सन्देहास्पद देखिएपछि गृहमन्त्री बादलले आफ्नै भाइ भए पनि अनुसन्धान प्रक्रिया बढाउन प्रहरीलाई रोकेनन् । जब कि गृहमन्त्रीले चाहेको भए यो मुद्दा कसैले थाहै नपाई ‘डिसमिस’ पनि हुनसक्थ्यो । आफ्नो परिवारको सदस्य, नातागोता, निकट व्यापारी–व्यवसायी तथा आफूले भनेको मान्ने नेता–कार्यकर्ताले गरेका दश खत माफी मिनाहा गराउन सत्ता र शक्तिको जस्तोसुकै प्रयोग गर्न नहिच्किचाउनेहरुको कमी हामीकहाँ छैन । 


दोषी किटानी नभए पनि फोन रेकर्डलगायतबाट प्रहरीले अनुसन्धानको दायरामा राखेपछि आफ्नै भाइलाई जोगाउन होइन, अनुसन्धान प्रक्रिया अघि बढाउन गृहमन्त्री बादलले प्रहरीलाई रोकेनन् । नेपालको इतिहासमा परिवारसँग जोडिएको मामिलामा कुनै मन्त्रीले अहिलेसम्म यति हिम्मत गरेको उदाहरण देखिन्न । गल्ती गरेको भए आफ्नै भाइलाई जोगाउन पदीय मर्यादालाई दुरुपयोग नगर्ने गृहमन्त्री बादलको यो सकारात्मक भूमिकालाई धेरैले प्रशंशा गरेका छन् । 


गल्ती गर्ने आफ्नै भाइलाई पनि जोगाउन नलाग्ने गृहमन्त्री आफू त्यस्तै धन्दामा लागे नछाड्ने रहेछन् भन्ने डर कतिपयलाई लागेकाले यस्ता गृहमन्त्री आफ्नो धन्दाअनुकूल हुन नसक्ने उनीहरुलाई लागेको भए त्यो सही नै होला । अहिलेसम्मको काम गराइले गृहमन्त्री बादलले गलत धन्दा गर्नेहरुको पक्ष नलिएको मात्र होइन, त्यस्ता विरुद्ध कडा रुख देखाएका छन् । प्रचारमा आएको पछिल्लो घटनाले गृहमन्त्री बादल एउटा परीक्षामा साँच्चै खरो उत्रिएका छन् ।