नेपाल–भारत सीमा क्षेत्रमा नेपाली सेना राखौँः सांसद पम्फा भुसाल

नेपाल–भारत सीमा क्षेत्रमा नेपाली सेना राखौँः सांसद पम्फा भुसाल

काठमाण्डौ, २५ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने बताएकी छिन् ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दाबी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने बताइन् । उनले  दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई देशबीचको सीमा नाका बन्द गर्नुपर्ने धारणा राखिन् ।

भारतले नेपालको सिमा मिचेको भन्दै त्यसलाई रोक्न पनि दुई देशबीचको सीमा नाका बन्द गर्नुपर्ने सांसद भुसालले दुई देशबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारिन् ।

उनले भनिन्, ‘बोर्डर बन्द गर्नुपर्छ, आवागमनमा निगरानी गर्नुपर्छ । नाका निश्चित गरौं । अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो हुन सक्छ,’ उनले अघि भनिन् ‘सामान्य आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाउ तर खुला बोर्डर बन्द गर्नु पर्छ ।’
भारतीय किसानले नभइ सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गरिन् । ‘नेपाली सेनालाई बोर्डर नजिक राखौं, ठेक्का अरुलाई दिए पनि हुन्छ ,’ उनले थपिन् ।