प्रदेश सरकार कमिसनको चक्करमा फसेको सांसदहरुको आरोप, बैठक स्थगित 

प्रदेश सरकार कमिसनको चक्करमा फसेको सांसदहरुको आरोप, बैठक स्थगित 

जनकपुर, २२ भदौ । प्रदेश २ को प्रदेशसभा बैठक सांसदहरूले अबरुद्ध पारेका छन् । प्रदेशसभाको बैठक शुरु भए लगत्तै प्रदेशसभा सदस्यहरुले सरकार कमिसनको चक्करमा फसेको भन्दै असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध पारेका हुन् ।

 सत्तापक्ष तथा प्रतिपक्षी दलका सांसदहरूले आर्थिक वर्ष ०७५÷०७६ मा सम्पन्न भइसकेको योजनाको भुक्तानी नदिएको भन्दै बैठक अबरुद्ध गरेको प्रदेशसभा सदस्यहरुले बताएका छन् । सम्बन्धित मन्त्रालयका मन्त्रीको तर्फबाट जवाफ नआएसम्म सदन चल्न नदिने भन्दै सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि सभामुख सरोज यादवले आधा घण्टाका लागि सदन स्थगित भएको घोषणा गरे । 

प्रदेशसभा बैठक सुरु हुनासाथ सत्तापक्षीय राजपा सांसद विन्देश्वर (बिकी) यादवले सम्पन्न भइसकेका योजनाको भुक्तानी रोकेर सरकारले गैरजिम्मेवारीपन देखाएको भन्दै सरकारको असम्वेदनशीलताले प्रदेश नै बदनाम भएको आरोप समेत लगाए । 

सरकारले पुरा भइसकेका योजनाको भुक्तानी नगरुन्जेल संसद अवरुद्ध गर्ने चेतावनी समेत उनले दिए । 

नेकपा सांसद शत्रुधन महतोले कमिसन दिनेलाई मात्र सरकारले भुक्तानी गरेको आरोप लगाउँदै सरकारले २०–३० प्रतिशतसम्म कमिसन दिनेलाई रातारात भुक्तानी दिने तर कमिसन नदिएकालाई बहाना देखाउँदै चेक बनाउन नमाने आरोप लगाए ।
 
काँग्रेस सांसद प्रमिला दासले मन्त्रीको योजनाको भुक्तानी हुने तर प्रतिपक्षी सांसदको योजनाको भुक्तानीकै कारण रोकिएको आरोप लगाए ।

नेकपाकै सांसद मन्जु यादवले भौतिक पुर्वाधारका कर्मचारी तथा मन्त्रीको संरक्षणमा  भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइन ।