कर्णाली प्रदेशका निलम्बित मन्त्री खड्गबहादुर उच्च अदालत हाजिर

कर्णाली प्रदेशका निलम्बित मन्त्री खड्गबहादुर उच्च अदालत हाजिर

कर्णाली प्रदेशका निलम्बित मन्त्री खड्गबहादुर उच्च अदालत हाजिर

सुर्खेत, १८ भदौ । अदालतले पक्राउ आदेश दिएका कर्णाली प्रदेश सरकारका निलम्वित मन्त्री खड्गबहादुर खत्री बुधबार अदालतमा उपस्थित भएका छन् ।

उच्च अदालत पाटनले खत्रीलाई गत साउन २७ गते तीन दिनभित्र उपस्थित हुन आदेश जारी गरेको थियो । अदालतले आदेश दिएको २५ दिनपछि आजमात्रै खत्री अदालतमा हाजिर भएका हुन । 

खत्री आज उच्च अदालत पाटनको वाणिज्य इजलासमा उपस्थित भएका हुन् । खत्रीको आजै अदालतले बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । बैंकिङ् कसुरका दोषी अभियुक्त खत्रीलाई साउन ३१ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदमुक्त गरेका थिए । 

कृषि विकास बैंक भोजपुरबाट कीर्ते बैंक ग्यारेन्टी बनाएर खत्री लगायतका व्यक्तिले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको उनीमाथि अभियोग छ ।
खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी बनाएको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । खत्री तत्कालीन नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर १ (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सांसद निर्वाचित भएका थिए ।

उनी निलम्बनमा परेपछि भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्री शाहीले नै सम्हालेका छन् ।