अस्थिरताको भुमरीमा नेपाल

अस्थिरताको भुमरीमा नेपाल

काठमाडौं । नाटकीय ढङ्गले नेपालमा राजनीतिक परिवर्तनको सङ्केत देखियो भने पनि अब आश्चर्य मान्नु पर्दैन । लामिछाने प्रकरणदेखि विभिन्न प्रकारका प्रकरण एकपछि अर्को सतहमा छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । यही बेला भारतीय संस्थापनले विभिन्न दाउमाथि दाउ थपेर नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने तयारी गरेको प्रस्टै छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको एकीकरणका लागि भारतले आफ्नो गुरुयोजना सुरु गरेको घटनाक्रमले प्रक्षेपण गरेको छ ।

नरेन्द्र मोदीको उदय नै नेपाललाई अस्थिरताको केन्द्र बनाएर अनुकूलको राजनीतिक व्यवस्था कायम गर्ने भारतको मुख्य अभीष्ट हो । भारतीय पक्षबाट भएका महत्वपूर्ण भेटवार्ताले नेपालको राजनीतिमा नयाँ उतारचढाव आउन सक्ने अनुमान यसैकारण गरिएको छ । भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विंग ‘रअ’ प्रमुख सामन्थकुमार गोयलको नेपाल भ्रमण र भाजपाका नेताहरुको पानीपँधेरो दौडधुप स्वाभाविक रुमपा लिन नसकिने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् । राजनीतिक विश्लेषकहरुले यिनै विषयको संश्लेषणको आधारमा नाटकीय ढङ्गले राजनीतिक घटनाक्रम अगाडि बढेको बताउँदै आएका हुन् । 

भिडियो पनि हेर्नुुहोस

विश्लेषकको दावी

राजनीतिक विश्लेषक प्रा. डा. विष्णु दाहालले पछिल्ला राजनीतिक घटनाक्रम नाटकीय भएको मान्छन् । उनी भन्छन्, ‘विकसित राजनीतिक घटनाक्रम सामान्य हुँदै होइन । नेपालका राजनीतिक दलले नै भारतीय पक्षसँग निरन्तर छलफल गर्नुका पछाडि कुनै रहस्य छ । यसको असर सत्तारुढ दलमा आउने दिनमा देखिनेछ ।’ 

भारतीय नेताहरुको तारान्तर नेपाल दौडधुप, स्वास्थ्योपचार वा आरामका लागि ओली र पूर्वराजा ज्ञानेन्द्र शाहको विदेश गमनलाई आमनागरिकले राजनीतिक अस्थिरतासँग जोडेर हेरेका छन् । रवि लामिछानेका नाममा पूर्वराजावादीको सक्रियता, पूर्वयुवराज पारस शाहको हर्कत, पूर्वराजाको भेटवार्ता लगायतका कारणले पनि नेपाली राजनीति अहिले तरङ्गिएको छ  । 

नेकपाभित्रै असन्तुष्टि

झण्डै दुई तिहाई बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद कायमै छ । पार्टी एकताको एक वर्ष पुगे पनि अझै कार्यविभाजनमा समस्या देखिएको थियो । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतको सहमतिलाई लिएर नयाँ चरणको सहमति नजिक पुगेका छन् । प्रधानमन्त्रीको कार्यावधि बाँडफाँड गरेका दुई अध्यक्षले अहिले राजनीतिक रुपमा एकले अर्कोलाई सहयोग गर्ने गरी सहमति गरेको स्रोतको ठम्याइ छ । 

ओलीले पार्टी एकताका बेलामा आलोपालो प्रधानमन्त्रीको सहमतिमा हस्ताक्षर गरेका थिए । अहिले उनलाई सरकारको नेतृत्व छाड्ने मन नभए पनि स्वास्थ्यले साथ दिएको छैन । त्यसैले विभिन्न कारणले पनि उनले आफ्नो कुर्सी जोगाउने सम्भावना कम छ । अर्का अध्यक्ष प्रचण्डलाई अहिले प्रधानमन्त्रीभन्दा पनि पार्टी अध्यक्ष चाहिएको छ । जुन कुरा स्वाभाविकै पनि होला । पछिल्लो समय प्रचण्डको सक्रियताले भारतीय पक्ष असन्तुष्ट रहेको राजनीतिक विश्लेषकहरुको राय छ । ओलीको अनुपस्थितिमा प्रचण्डले सचिवालय बैठक राख्ने र तल्लो तहसम्मका कमिटीलाई निर्देशन दिनेसम्मको काम थाल्नुको पछि पनि अर्थ छ । पार्टीभित्रको असन्तुष्टी सार्वजनिक भएको यो अर्थमा लिन सकिन्छ ।  

नेकपाका तीन समूह 

नेकपामा मुख्यतः तीनवटा समूह छन् । ती समूहमा पनि विभिन्न उप–समूह छन् । मुख्यतः दुई समूह जता उभिन्छन् त्यतैतिर बहुमत हुने अवस्था छ । प्रचण्ड र माधव नेपाल एकातिर उभिँदा ओलीलाई अप्ठ्यारो अवस्था भयो । पहिलेजस्तो एकल निर्णय गर्नबाट ओली पछि हट्न बाध्य भए । आफ्नो प्रभाव र बहुमतलाई यथावत राख्नका लागि उनले प्रचण्ड वा माधवकुमार नेपालसँग सम्झौता गर्नुपर्ने बाध्यता थियो । पछिल्ला निर्णयमा उनले प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने प्रष्ट पारिसकेका छन् । पूर्वएमालेको नेतृत्व पनि उनले माधव नेपाल वा झलनाथ खनालबाट झिकेर बामदेव गौतमको काँधमा सुम्पिएका छन् ।  

नेपाली काँग्रेसमा उत्तिकै समस्या 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा अहिले आउँदो महाधिवेशन केन्द्रित बहस चलिरहेको छ । पटक–पटक बस्ने केन्द्रीय कार्यसमिति बैठकमा आउँदो महाधिवेशनका विभिन्न पक्षमा छलफल चलिरहेको छ । सभापति शेरबहादुर देउवाले भने आउँदो चैतमा हुने महाधिवेशन झण्डै एक वर्ष पछि सार्ने तयारी गरेका छन् । त्यसप्रति संस्थापन इतरका समूहले विरोध जनाएका छन्  । 

प्रदेश र स्थानीय तहका विभिन्न पार्टी संरचनाको पूर्णताका विषयमा छलफल चलिरहेको छ । प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने युवा नेताको मागलाई नेतृत्वले बेवास्ता गरेको नेता प्रदीप पौडेलले जानकारी दिए  । उनले सभापति देउवाले महाधिवेशन नै सारेर लोकतान्त्रिक मूल्य–मान्यताको खिल्ली उडाएको आरोप लगाए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताले महाधिवेशन तोकिएकै समय अर्थात् आउँदो चैतमा गर्नुपर्नेमा जोड दिएका छन् । तर सभापतिले विधान अनुसार एक वर्ष लम्ब्याउने इच्छा व्यक्त गरेका छन् । 

नेपाली काँग्रेसभित्रको विवाद पनि शक्ति सङ्घर्षका रुपमा लिन सकिन्छ । सभापति देउवा अर्को कार्यकालको सभापतिको उम्मेद्वार बन्ने पक्काजस्तै छ । यसैबीच वरिष्ठ नेता पौडेलले आफू उठ्ने गरी विभिन्न समूहसँग छलफल गरेका छन् । त्यस्तै काँग्रेसमा अहिले अबको नेतृत्व लिनका लागि कोइराला परिवार सक्रिय भएको छ । महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिको उम्मेद्वार बन्ने इच्छा व्यक्त गर्न थालेका छन् । कोइराला परिवारले आउँदो महाधिवेशनका लागि पार्टीभित्रका विभिन्न पक्षसँग छलफल गरिरहेको छ । 

कांग्रेस कुहिरोमा

आन्तरिक विवादमा रुमल्लिएका कारण काँग्रेसले संघीय संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन । सदनमा प्रभावकारी प्रतिपक्षको अभावमा सरकारले लोकतान्त्रिक मूल्य–मान्यता विरोधी विभिन्न कानुन ल्याएको भन्दै नेपाली काँग्रेसले विरोध गर्न छाडेको छैन तर पनि कांग्रेस कुहिरोमा हराएको छ ।

भारतको सक्रिय भूमिका 

नेपाल र भारतबीचको सम्बन्ध संसारमै नयाँ र घनिष्ठ रहेको चर्चा परम्परागत मान्यता हो । सरकार–सरकारबीचको सम्बन्ध भन्दा पनि नागरिक–नागरिकबीचको सम्बन्ध दरिलो छ । कला–संस्कृति मात्र होइन, सामाजिक, सांस्कृतिक, आर्थिक संरचना पनि मिल्दाजुल्दा छन् । त्यही कारण नेपाल–भारत सम्बन्ध विशेष प्रकारको छ । तर भारत सरकारले आन्तरिक मामिला र विवादका विषयमा अनावश्यक चासो राख्ने भएकाले नेपाली राजनीतिमा भारतलाई हेर्ने दृष्टिकोण राम्रो छैन । 

पछिल्लो समय भारतीय गुप्तचर निकायका प्रमुखको भ्रमण, भाजपाको विदेश विभागका प्रमुखको नेपाल भ्रमण र भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणमा पनि राजनीतिको नयाँ फण्डा लुकेको राजनीतिक विश्लेषकहरु बताउँछन् । भारतले जुन विषयमा छलफल गरेर अगाडि बढ्दा राम्रो हुन्थ्यो, त्यो नगरेर नेपालको आन्तरिक मामिलामा छुस्सछुस्स अनेक बहानामा छिर्न खोज्ने गरेको परराष्ट्र मामिलाका विज्ञ प्रा. डा. उद्धव प्याकुरेल बताउँछन् । 

गरुडको छायाँमा नेपाली नेता

नेपालको राजनीतिमा भारतले खेल्न खोज्नुको मुख्य कारण नेपाली नेताको कमजोरी हो । आफूलाई बलियो बनाएर भारतसँग प्रस्तुत हुनुपर्नेमा नेपाली नेता गरुडको छायाँमा परेजस्तो अवस्थामा छन् । यतिसम्म कि आफ्नो प्रोटोकलसमेत भुलेर पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईसहितका नेता भारतीय विदेशमन्त्री एस. जयशंकरलाई भेट्न उनी बसेकै होटलको कोठामा जाँदा धेरै आलोचनासमेत भयो । तर, प्रचण्ड र माधवकुमार नेपालले उनलाई होटलमा नभेटेको घटनाले नयाँ खालको चर्चा–परिचर्चा ल्याएको छ । भारतले चाहेमा जे पनि गर्न सक्छ भन्ने बुझाइ नेपालका राजनीतिक दल र नेताहरुमा अझै छ । नेपालको आन्तरिक मामिलाका विषयमा भारतले भने नेताहरुसँग खुलेरै छलफल गर्छ । 

भारतमा प्रचूर बहुमतसहित भाजपा नेता नरेन्द्र मोदी सरकारको दोस्रो पटक नेतृत्वमा छन् । नेपालका लागि खतरा भनेको भारतमा भाजपा नेतृत्वको सरकार भएको र आरएसएसको गतिविधिले नेपालका राजनीतिक एजेण्डामा समस्या पर्न सक्ने विश्लेषक प्याकुरेलले बताए । सुगौली सन्धिदेखि नेपालका शासकले जनतालाई केही गर्न नपर्ने र भारतको समर्थन भए पुग्ने भन्ने मानसिकता सुरु भएको र अहिले पनि त्यसैले निरन्तरता पाइरहेको उनको प्रतिक्रया छ । नेपालमा विकसित पछिल्ला गतिविधिले फेरि एकपटक राजनीतिक अस्थिरता पैदा हुन्छ कि भन्ने यसैले आशंका व्यक्त गरिएको हो । समयबद्ध