‘म्याच फिक्सिङ’ लाई बाँध्दैछ विधेयकले 

‘म्याच फिक्सिङ’ लाई बाँध्दैछ विधेयकले 

फणीन्द्र फुयाल ज्वाला

केही वर्ष अघि भएको फुटबल खेलमा नेपाली खेलाडीहरुले गरेको घातक मिलेमतो ‘म्याच फिक्सिङ’ काण्डले नेपाली फुटबल खेल मात्र होइन समग्र खेलसँग सम्बन्धित आम दर्शक, खेलप्रेमी, प्रशिक्षक तरंगित बने । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले तय गरेको भएता पनि खेलाडीहरुले राष्ट्रका लागि नभएर आफ्नो व्यक्तिगत स्वार्थका लागि खेल खेल्ने गर्दा खेलाडी मात्र नभई राष्ट्र नै आलोचित हुने गरेका धेरै दृष्टान्तहरु खेल क्षेत्रको ईतिहास पाल्उँदा कालो स्मरणका रुपमा फेला पर्छन् ।

चार वर्ष अघि राष्ट्रिय लिग फुटबलको उपाधि कसले जित्ला भन्ने जोडघटाउ अन्तिम चरणमा पुगेको बेला नेपाली फुटबल समर्थकलाई स्तब्ध पार्ने समाचार सार्वजनिक भयो । लिग उपाधिको मुखैमा पुगेको थ्रीस्टार क्लब तथा राष्ट्रिय टिमका कप्तान सागर थापासहित पाँच जना प्रतिष्ठित खेलाडीलाई म्याच फिक्सिङको आरोपमा नेपाल प्रहरीले  पक्राउ गर्यो । यो घटनालाई लिएर कयौँ फुटबल समर्थकले आक्रोश व्यक्त गरे भने केहीले पत्याउनै नसकिने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया समेत दिए ।

तर नेपाली खेलकुद क्षेत्रमा ‘म्याच फिक्सिङ’ भने नयाँ घटना होइन । यस्ता घटना घरेलु लिगमा धेरै पटक भए र भोगिए । जसले गर्दा खेलाडीले घुसपैठ गरी जित्नु पर्ने खेल हारिदिने र हार्छ भनि आङ्कलन गरिएको खेल आश्चार्य रुपमा जित्ने गरेको हामीले देख्दै आएका छौँ । खेलकुदलाई अनुशासन, कानून, नीति, नियम र उचित पद्दतीमा बाँध्न नसकेकैले गर्दा खेलाडीले खेललाई दुरुपयोग गर्ने गरेको उनीहरको खेलप्रदर्शनबाटै प्रमाणित हुन्छ ।

यसकै कारण सरकारले खेलमा म्याच फिक्सिङ गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । मिलेमतो भएको प्रमाणित भएमा तीन वर्ष कैद र रुपैयाँ तीस हजारसम्म जरिबानाका साथै रकमसमेत लेनदेन गरेको भए त्यो रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्रालयले ल्याएको ’खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा त्यो प्रावधान राखिएको हो । प्रतिनिधिसभा, शिक्षा  तथा स्वास्थ्य समितिमा हाल त्यो विधेयक छलफलका क्रममा छ । विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।

‘नेपाल भित्र, नेपालको प्रतिनिधित्व गरी विदेशी देशमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसँग सम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धा गर्दा आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन’ भन्ने विधेयकमा उल्लेख छ । मिलेमतोका लागि उक्साउने वा मद्दत  गर्ने व्यक्तिलाई समेत त्यो कारबाहीको दायरामा ल्याउन सकिने विधेयकमा व्यवस्था छ । हाल उक्त विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पुगेको छ ।

विधेयकको त्यो प्रावधानमा सांसद विमला विश्वकर्मा र आशाकुमारी विकले संशोधन प्रस्ताव प्रस्तुत गर्दै खेलमा मिलेमतो गर्ने र पाँच लाखसम्म जरिबाना र हदैसम्मको कारबाही गर्नुपर्ने प्रावधान राख्नुपर्ने माग गरेका छन् । सांसद विमला विश्वकमाका अनुसार खेलाडी उत्पादन गर्न राज्यको लगानी धेरै हुन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा भाग लिने खेलाडीले मिलेमतो गर्न पाइने छैन । विधेयकमाथि संशोधन राख्ने सांसद दीव्यमणि राजभण्डारी नेपालको खेलप्रतिष्ठालाई उँचो बनाउन राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने, खेलकुद परिषद्को विकल्पमा प्राधिकरण र सदस्यसचिवको सट्टामा कार्यकारी निर्देशकको प्रावधान राख्दा उपयुक्त हुने बताइन् । संशोधनकर्ता सांसद् जीवनराम श्रेष्ठले खेलकुद परिषद्को काममा व्यापक सुधार गरी खेलकुदको पुनस्संरचना गर्नुपर्ने बताए । 

विधेयकमा राष्ट्रिय, प्रदेश र स्थानीय स्तरका खेल संघ गठन गर्न सक्ने रहे पनि  एक खेलका लागि एकभन्दा बढी संघ गठन गर्न नसकिने, एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि खेल संघको अध्यक्ष, महासचिव वा सचिव पदमा निर्वाचित वा मनोनित हुन नसक्ने, खेलकुद परिषद्का बहालवाला कर्मचारी, प्रशिक्षक पनि खेलसंघमा आवद्ध हुन नपाइने लगायतका प्रावधान विधेयकमा उल्लेख छ । समयबद्ध साप्ताहिकबाट