प्रधानमन्त्री ओलीद्वारा दोस्रो पटक मन्त्रिपरिषद् सदस्यसँग भिडियो कन्फरेन्स

प्रधानमन्त्री ओलीद्वारा दोस्रो पटक मन्त्रिपरिषद् सदस्यसँग भिडियो कन्फरेन्स

काठमाण्डौ, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रो पटक सिंगापुरबाटै मन्त्रिपरिषद् सदस्यसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका छन् । 

भिडियो कन्फरेन्समार्फत मंगलबारको छलफललाई मन्त्रिपरिषद् बैठक भनिएको छैन । गएको भदौ ९ गते सिंगापुरबाटै भिडियो कन्फरेन्समार्फत भएको छलफललाई भने प्रधानमन्त्री ओली स्वयंले मन्त्रिपरिषद् बैठक बसेको भनेर सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । 
प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले मंगलबार दिउँसो १ः१० बजेदेखि मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल भएको जानकारी दिए ।

भिडियो कन्फरेन्समार्फत मन्त्रालयका कामकारवाही र मन्त्रिपरिषद् बैठक नबस्दा आएका समस्याका बारेमा छलफल भएको रिमालले बताए । मंगलबार दोस्रो पटक भएको भिडियो कन्फरेन्स मन्त्रिपरिषद् सदस्यबीच छलफल मात्रै भएको र यो मन्त्रिपरिषद् बैठक पनि नभएको तथा कुनै निर्णय पनि नभएको बताइएको छ ।