(अ)सामाजिक सञ्जाल 

(अ)सामाजिक सञ्जाल 

फणीन्द्र फुयाल ज्वाला

सञ्चारमा प्रविधिको प्रवेश भएसँग एकातिर यसले कार्यसम्पादनमा चुस्त, र आम पाठक, श्रोता तथा दर्शकमा गुणस्तीय सेवा प्रदान गर्न मद्दत पुर्याएको छ भने अर्कातिर प्रविधिको दुरुपयोग बढ्दै जाँदा आमसञ्चारमाध्यमका पाठक सही र गलत सूचना के हो त्यो छुट्याउन नसक्ने स्थितिमा पुगेका छन् ।

जसरी हिटलरका सञ्चारमन्त्री ग्वेबल्स सूचनालाई बंग्यार आफ्नो हितमा प्रचार गर्न माहिर थिए अर्थात, एउटा झुटलाई सय पटक प्रचार गरेपछि अन्नतः त्यो सत्य साबित हुन्छ भन्ने ग्वेबल्सको मान्यता थियो र यसैगरी जनतालाई बर्षैसम्म उनीहरुले गुम्राहमा राखिछोडे । हिटलरको शासन त्यसैगरी चल्यो र जनताको आँखामा छारो हालेरै बसे । आज प्रविधिको प्रयोगसँगै डिजिटल मिडिया, मल्टिमिडिया, अनलाइन मिडिया, सोसलसाइट र समग्रमा भन्दा इलेक्ट्रोनिक मिडियाले मानिसमा कही भ्रम पैदा गरिरहेका छन् ।

विशेषगरी पछिल्लो समय स्थापित हुँदै गरेको कान्छो मिडिया अर्थात, अनलाइन पत्रकारिता आम पाठक तथा दर्शक, श्रोताका आँैलाका टुप्पामा छिनछिनमै पुगिरेहको छ । प्रत्येक सेकेण्ड सूचना, समाचार तथा मनोरञ्जन प्रवाह भैरहेका छन् तर ती समाचारजन्य पदार्थ अडियो, भिजुअल (न्यूज कन्टेन्ट) हरुमा आम पाठकको विश्वसनियता भने घट्दै गएको छ ।

एकातिर अनलाइनहरुमा प्रकाशित प्रसारित समाचारहरु विश्वसनीय छैनन् भने अर्कातिर सामाजिक सञ्जालहरुले पत्रकारितालाई दुहाई दिइरहेका छन् । आम नागरिकमा सामाजिक सञ्जालहरुले असामाजिक ‘कन्टेन्ट’हरु पस्किइरहेका छन् जसले गर्दा पाठकहरु सुसूचित हुनुपर्ने ठाउँमा कुसूचित भैरहेका छन् । सामाजिक सञ्जालहरु असामाजिक बन्दै गैरहेका छन् । मनगणन्ते र जनतालाई भ्रममा पार्ने खालका अडियो, भिडियोहरु बनाएर फेसबुक र युट्यूवहरुमा दैनिक हजारौँको संख्यामा पोष्ट भैरहेका छन् तर यसलाई नियमन र नियन्त्रण गर्ने कसले हो ? त्यसोको बारेमा ठोस रुपमा आम मानिसलाई जानकारी छैन ।

दर्ता बिना सञ्चालनमा आएका यस्ता व्यक्तिगत व्लग, फेसबुक पेज, र ‘फेक फेसबुक अकाउण्ट’ले एकतातिर राष्ट्रिय सुरक्षा प्रणालीलाई चुनौती दिईरहेका छन् भने अर्कातिर त्यसलाई निमन तथा नित्रन्त्रण गर्ने प्रहरीले कि, नेपाल पत्रकार महासंघले कि, प्रेस काउन्सिलले हो कि अन्य कुनै निकायले हो ? सामाजिक सञ्जालबाट पिडित पक्षले कहाँ, कसलाई, कसरी उजुरी गर्ने भन्नेमा अन्यौलता सिर्जना भएको छ भने अधिकाँश सामाजिक सञ्जाल प्रयोककर्ताहरु पनि कस्ता सामाग्री पोष्ट गर्नु हुन्छ र कस्ता हुँदैन भन्नेमा अनबिज्ञ छन् ।

सामाजिक सञ्जालमा कसैले कसैको चरित्र हत्या गरे, अपराध गरे, मानहानी तथा गालि बेइज्जती गरे, अमर्यादित सामाग्री पोष्ट गरे र पछि केही लफडा परेको खण्डमा पोष्ट गरिएको सामाग्री नै हटाइदिए दोषिलाई केका आधारमा कसरी कारबाही गर्ने ? कारवाहीको लागि प्रमाण कसरी जुटाउने ? यो पनि सामाजिक सञ्जालले जन्माएको अर्को ज्वलन्त प्रश्न हो । 

भर्खरै काठमाडौमा सम्पन्न नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभा एवं अधिवेशनलाई सम्बोधन गर्दै गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सूचनाले भ्रम श्रृजना गराउने काम भइरहेको बताए ।
सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उनले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे । समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपुर्ण रहेको बताए । समाजिक सरोकार तथा हितहुने र सरकारको नीतिमा परिर्वतन आउने खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्नेमा पनि नेपालले जोड दिएका थिए ।

गभर्नर मात्र होइन यतिबेला देशका सम्पूर्ण मन्त्री, सरकारी तथा गैरसरकारी संथानका अधिकारी, कर्मचारी, राजनीतिकर्मी, विद्यार्थी, वकील, चिकित्सक, मात्र नभई किसान र स्वय्म पत्रकार नै सामाजिक सञ्जाल दुरुपयोग भई ग्वेबल्स शैली भन्दा पनि गएगुज्रेका सन्देश, तथा भिडियोहरु सम्प्रेषण गरी दिग्भ्रमित पार्ने चलखेलप्रति दुःखित बनेका छन् ।

पछिल्लो पटक देशमा संस्थागत भएको संघीयता, धर्मनिरपेक्षता, समानता, आदिका बारेमा अपब्याख्या गरेर हजारौँ शहीद, घाइते तथा बेपत्ता योद्धाहरुको त्याग र बलिदानले आर्जेको प्राप्तिलाई लत्याउने दुस्प्रयास यीनै सामाजिक सञ्जाल र यसका छद्म प्रयोकर्ताहरुबाट भैरहेको छ ।
एकतातिर सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युबले अर्बौं कमाएका छन् तर तिनीहरुले राज्यलाई कर तिरेका छैनन् । पछिल्लो पटक नेपालमा भित्रिएका यस्ता समाजिक सञ्जालहरुबाट यदि राज्यले कर नलिने हो भने विद्यालय कहाँबाट बनाउने, बाटो कहाँबाट बनाउने, विकास निर्माणको काम कसरी गर्ने ? हामीलाई त्यसै अरुले देश बनाउन भन्दै पैसा ल्याएर दिने त होइनन् । के नेपाल सधैँ भिख मागेर हिँड्ने ? हाम्रै बलबुतामा देश चलाउनु पर्दैन ? त्यसैले राष्ट्र निर्माणका लागि हामीले स्रोत र साधनको थैली पनि राम्रोसँग बाँध्नुपर्छ । सामाजिक सञ्जाललाई समाज र देशप्रति उत्तरदायी बनाउनै पर्छ अनि करको दायरामा ल्याउनै पर्छ । 

समाजिक सञ्जालकै कारण अहिलेको युगमा एक व्यक्तिले अर्को व्यक्तिलाई प्रत्यक्ष (फेश–टु फेश) भेट्न निकै कम गरिरहेका छन् । मानिसको भेटघाटमा कमी गर्नु नैं सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउदै लैजानुको एक प्रमाण हो । कुनै पनि पाहुना घरमा आउँदा पहिला सन्चो बिसन्चो सोध्ने, घर, खेती–पातिका बारेमा सोध्ने र तिर्खाएको भए मोही अथवा पानी के खाने हो त्यो सोधेर दिने चलन थियो । तर आज त्यो चलन फेरिएको छ । घरमा आउने पाहुनालाई पानी भन्दा पनि पहिले र सन्चो बिसन्चो सोध्नु भन्दा पनि पहिले वाईफाइको पासवर्ड दिने चलन सुरु भएको छ ।

यसले गर्दा परिवारबीच अन्तरक्र्रिया तथा छलफल गरेर घर तथा समाजका समस्याहरु हल गर्नुपर्नेमा झन सामाजिक सञ्जालले मनमुटाव, एकलकाँटे, र पाखण्डी बनाउँदै लगेकोछ । गाउँमा कसैको मृत्यु भयो भने घटनास्थलमा पुगेर मद्दत, सहयोग गर्ने हाम्रो पौराणीक रिती, थिति र मान्यता हो । तर आजकल अंग्रेजीका तीन अक्षर ‘रिप’ लेखिदियो काम तमाम् । त्यसैले प्रविधिले मानवीयता मार्दै छ । मानिसमा दया, मायाँ र भौतिक उपस्थितिलाई सामाजिक सञ्जालले बन्देज लगाउँदै गएको अवस्थामा यसलाई सामाजिक सञ्जाल नभनेर असामाजिक सञ्जाल भन्दा हुन्छ भन्ने बहसहरु सिन यदाकदा उठ्न थालेका छन् ।

तर सबै नकारात्मक कुरा मात्र सामाजिक सञ्जालका छैनन् । यसका केही राम्रा पक्ष पनि छन् । वर्षौदेखि नभेटिएका, हराएका र बेपत्ता भएका साथीभाई, घरपरिबार र ईष्टमित्रलाई पनि सामाजिक सञ्जालले जोडिदिने र भेट गराइदिने माध्यम बनेका छन् । यहाँ यत्ति मात्र प्रश्न हो कि हामीले प्रविधिलाई चलाईरहेका छौ कि, प्रविधिले हामीलाई चलाईरहेको छ ?  समयबद्ध साप्ताहिकबाट