अटो बजार घाटाको व्यापार

अटो बजार घाटाको व्यापार

एनके दाहाल

सिंहदरबारको अगाडि बग्गीखानाको बगलमा चारदिने भव्य क्याम्प जारी छ । त्यहाँ एसयुभी मेगर जीपको क्षमता परीक्षणका नाममा सवारी प्रदर्शन भइरहेको छ । त्यसकै सय मिटर पश्चिम भृकुटी मण्डपमा करोडौं खर्चेर ‘नाडा अटो सो’का नाममा भएको ६ दिने प्रदर्शनी सकिएको छ । यी दुबै स्थानमा ‘प्रतिदर्श’ मार्फत् आगन्तुकको ध्यानाकृष्ट गराइयो, गराइरहेका छन् । यहाँ सवारी शौखिनहरुको भीड लागेको देखियो । सरकारले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ यही हो कि भन्ने गरी आमसञ्चारका माध्यमले समाचार पस्किए ।

 

भिडियो पनि हुर्नुहोस्

अहिले संसारमा पाइने सबै प्रकार र ब्राण्डका सवारी साधन नेपालमा पाइन्छ । यस्तो प्रदर्शनीमा त नयाँ नाममा उत्पादन भएको नयाँ सवारी साधनको प्रबद्र्धन गरिन्छ । दुई तिहाई बहुमतका सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा यी प्रदर्शनका मुख्य आकर्षण हुन् । उनले देशको अर्थतन्त्रबारे यस्ता स्थानमा पनि सुनाउँछन् तर उनले त्यहाँ बस्दा हरेक गाडीमार्फत् नेपाली पुँजी पलायन भएको बिर्सन्छन् । नाडा अटो शो उद्घाटन गर्दा उनले गत वर्ष अर्थतन्त्र करिब ६८ अर्ब रुपैयाँले घाटामा भएको सम्झिनुपर्ने हो । उनीजस्तो व्यक्तिले मुलुक भित्रिएको भन्दा ६८ अर्ब रुपैयाँ बढी विदेशी मुद्रा बाहिरियो भन्ने थाहा पाउनुपर्ने हो । स्मरणरहोस्, गत वर्ष मुलुक बा¥है महिना अर्थतन्त्र घाटामा थियो ।

गत वर्षको वार्षिक तथ्याङ्क अनुसार शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । शोधनान्तर घाटा फराकिलो बन्दै जानुको प्रमुख कारण बढ्दो व्यापार हो । देशको चालु खाता पनि घाटामा रह्यो । मुलुकको चालु खाता घाटा बढीमा सो राष्ट्रको जीडीपीको पाँच प्रतिशतभन्दा कम हुनुपर्छ । अनिमात्र सामान्य रूपमा हेरिन्छ । तर गत वर्षका अधिकांश महिनामा यस्तो सूचक पाँच प्रतिशतभन्दा बढी रह्यो । गत बैशाखमा चालु खाता घाटा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ७ प्रतिशत थियो । यो असुरक्षित अवस्था हो । आर्थिक वर्ष ०७५ / ७६ मा कूल वस्तु आयात रु. १४ खर्ब १८ अर्ब ५४ करोड पुगेको छ । निर्यात रु. ९७ अर्ब ११ करोडको मात्र छ । यस्तो फराकिलो अन्तर के कारणले भयो ? यो विषयमा गम्भीर हुने कहिले ? अर्थमन्त्रीले आकर्षक ‘प्रतिदर्श’का अगाडि गएर विलासी वस्तुको आयात प्रबद्र्धन गरेको देख्दा लाग्छ, कोमामा गएको राष्ट्रिय अर्थतन्त्र ब्युँतन मुस्किल छ ।

व्यापार घाटा

नेपालको व्यापार घाटा सबैभन्दा बढी भारतसँग छ । कूल व्यापारको ७० प्रतिशतभन्दा बढी हिस्सा भारतसँग छ । त्यहाँबाट आयात हुने वस्तुले देशको अर्थतन्त्र धरापमा परेको हो । नेपालको सामान निर्यातमा अप्ठ्यारो पार्ने तर भारतका सामग्री जबर्जस्ती पठाउने काम भइरहेको छ । आकर्षक स्कीम ल्याएर व्यापारिक ट्रयापमा नेपाललाई पारिरहेको छ । उसको अर्थतन्त्रमा आएको खराबीलाई बचाउने नियतका साथ नेपाललाई बजारको रुपमा छनोट गरिएको माथि उल्लेखित प्रदर्शनीले पनि प्रष्ट पारेको छ ।

भारतको अर्थतन्त्र ओरालो

टोलटोलमा शोरुम राखेर नेपाली बजारमा जबर्जस्ती अटोमोबाइल बिक्री किन हुँदैछ ? यही क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा किन प्रतिस्पर्धा गरिरहेका छन् भन्ने विषयमा गम्भीर हुने हो भने भारतको पछिल्लो अर्थतन्त्र बुझ्नुपर्ने हुन्छ । चालु आर्थिक वर्ष २०१९ / २० को पहिलो त्रैमासिक (अप्रिल–जुन)मा त्यहाँको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) को बृद्धि दरमा गिरावट आएर पाँच प्रतिशतमा कायम भएको छ । यो बृद्धिदर ७ वर्ष यताकै न्यून हो । यस्तो बृद्धिदर सन् २०१३ को जनवरी र मार्च महिनामा ४.३ प्रतिशत कायम भएको थियो ।

पछिल्लो तीन महिनामा उत्पादन क्षेत्रको गतिविधिमा आएको गिरावटका कारण जीडीपी बृद्धिमा धेरै असर परेको हो । यो क्षेत्रको बृद्धिदर घटेर ०.६ प्रतिशत रहेको छ । जनवरी–मार्चमा बृद्धिर ३.१ प्रतिशत थियो । पछिल्ला पाँच त्रैमासिकमा उसको अर्थतन्त्र आरालो लागेको छ । त्यसले गर्दा नेपालका नवअभिजात वर्गमा आफ्ना उत्पादन बिक्री गरेर आर्थिक क्षेत्र बचाउन कोसिस गरेको छ । त्यसकै प्रतिबिम्बस्वरुप नेपालमा जबर्जस्त रुपमा भारतीय उत्पादन लादिएको हो भन्ने दुई मत हुँदैन ।

बजार बचाउन नेपाल तारो

भारतको कृषि, माइनिङ, उत्पादन र विद्युत् क्षेत्रको विकासमा त डरलाग्दो कमी आएको केही दिन अगाडि सार्वजनिक भएको आँकडाले देखाएको छ । विश्वमा आफ्ना उत्पादनको बजार गुमाउँदै गएको भारतले नेपालजस्तो कमजोर अर्थतन्त्रमा हमला गरेको देखिन्छ । प्रत्येक चोकचोमा विलासी सामग्रीको प्रदर्शन गरेर लोभ्याउने र बैंक तथा वित्तीय संस्थामार्फत् कर्जा प्रवाह गराएर मध्यम वर्गीय नेपालीलाई ऋणको पासोमा पारेको देखिन्छ । त्यही भुलभुलैयामा यहाँका बैंक परेको देखिन्छ । सस्तोमा ब्याज दिने प्रतिस्पर्धा गरेर अनुत्पादक चीज, भारतको सङ्कटलाई समाधान दिने गरी प्रतिस्पर्धा गरिरहेको प्रष्ट हुन्छ । नेपाली जनतालाई विलासी सामग्री भिराउन कुन बैंकले कम ब्याजमा ऋण दिने भन्ने प्रतिस्पर्धा भएको देखिन्छ । यसमा तत्काल लगाम नलगाउने हो भने नेपालमा धेरै ठूलो आर्थिक दुर्घटना पर्न सक्छ ।

उत्पादन क्षेत्रको ठूलो हिस्सा ओगटेको भारतको अटो मोबाइल उद्योग विश्वको सातौं सबभन्दा ठूलो अटोमोबाइल हो । भारत एसियाको चौथो सबैभन्दा बढी अटोमोबाइल निर्यातक देश हो । तर, विद्यमान अवस्थामा पहिलो त्रैमासिकमा कार बिक्रीमा १८.४ प्रतिशत कमी आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा सबै श्रेणीमा गाडी बिक्री १२.३५ प्रतिशतबाट घटेर ६० लाख ८५ हजार ४०५ इकाइ भएको तथ्य सार्वजनिक भएको छ ।

मारुति पनि फ्लप

भारतको सबैभन्दा बढी प्यासेञ्जर कार निर्माता कम्पनी मारुति सुजुकी इण्डियाको बिक्री गत जुन महिनामा १७ प्रतिशत कमी आएर गत वर्षको तुलनामा १ लाख ३४ हजार ३६ युनिटबाट घटेर १ लाख ११ हजार १४ इकाइमा आएको थियो । टाटाको सबभन्दा सानो र सस्तो कार नानोका लागि अहिलेसम्म २०१९ अभिसाप सावित भएको छ । यो अवधिमा टाटा केवल एउटा मात्र नानो कार बेच्न सफल भएको छ ।

अल्टो, वैगन आर आदिको यस वर्ष बिक्रीमा ३६ प्रतिशत गिरावट आएको छ । यस्तै सेडान सेग्मेन्टको कार स्वीफ्ट, डिजायर आदिको बिक्रीमा गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतले कमी आएको छ । स्कुटरको बिक्रीमा २६, मोटर साइकलको बिक्रीमा १२ प्रतिशतमा कमी आएको छ । गाडीहरुको बिक्री पछिल्लो १८ वर्षमा सबैभन्दा तल ओर्लेको छ । हजारौं करोडको लागतको लाखौं गाडी गोदाम र कारखानामा सडिरहेको छ । करिब ५२ हजार करोड मूल्य बरबरको ३५ लाख गाडी देशभरका शोरुममा रहेर सडिरहेको छ । औसतमा दुई शोरुम हप्तामा बन्द भइरहेको छ ।

मारुति सुजुकीले फेब्रुअरीमा नै उत्पादनमा ८.३ प्रतिशत कटौती गरेको थियो । अल्टो, ब्रेजा, स्वीफ्ट डिजायरको उत्पादनमा यस वर्ष ८.४ प्रतिशतको कटौती भएको छ । जसका कारण उत्पादन औसत क्षमतामा ५० प्रतिशत कमी आयो । लामो समयसँग छाइरहेको अटो सेक्टरको मन्दीका कारण अटो पार्ट्स उद्योगमा कार्यरत ५० लाख श्रमिकमध्ये लगभग १० लाखको रोजगारी खतरामा छ ।  सबैभन्दा धेरै अस्थायी मजदुर यसमा पर्ने देखिन्छ । देशभरमा १५ हजार डिलरद्वारा सञ्चालित २६ हजार शोरुममा करिब २५ लाख प्रत्यक्ष र यतिकै सङ्ख्यामा अप्रत्यक्ष रोजगारी छ ।
शोरुम नै बन्द
पछिल्लो १८ महिनामा २७१ शहरबाट २८६ शोरुम बिक्री नभएका कारण बन्द भएको छ । बन्द भइरहेका शोरुमका कारण पछिल्ला केही महिनामा खुद्रा बजारमा काम गरिरहेका करिब दुई लाखले रोजगारीबाट हात धुनु परेको छ । त्यसो त विश्वको सबैभन्दा ज्यादा उत्पादन र खपत गर्ने देश चीनमा पछिल्लो एक वर्ष यता लगातार बिक्रीमा कमी आइरहेको छ । उत्पादनमा कटौती भइरहेको छ । उत्तर अमेरिकी देशहरुमा अटो मोबाइलको बिक्रीमा २०२२ सम्म ३० प्रतिशत कमीको सम्भावना छ ।

उत्पादन क्षेत्रको गतिविधिमा आएको भीषण गिरावटका कारण जीडीपी बृद्धिमा धेरै असर परेको भारतमा लाखौंले रोजगारी गुमाएका छन् । मुख्यतः अटोमोबाइल क्षेत्रको बिक्रीमा आएको कमीले उसको उत्पादन क्षेत्रको बृद्धिदर घटेर ०.६ प्रतिशतमा सीमित भएको छ । यस्तो खतरनाक अवस्थामा सुधार गर्न भारतका कम्पनीले नेपालको बजारलाई उपयुक्त ठानेको देखिन्छ । त्यसले गर्दा पनि प्रत्येक चोकचोकमा अटोमोबाइलको शोरुम र गल्लीगल्लीमा त्यसका पाट्र्सका पसल खुलेका छन् । त्यतिमात्र नभएर प्रत्येक चाडपर्वमा प्रदर्शनी गर्ने र सस्तो ब्याजमा ऋण दिने लोभ देखाएर सर्वसाधारणलाई विलासीका सामग्री भिडाउने काम भइरहेको छ ।

विगतमा भारतले आफ्नो व्यापार घाटा कम गर्न अटोमोबाइल आयातमा रोक लगाएको थियो । त्यसैगरी श्रीलंकाले पनि सवारी साधन आयातमा रोक लगाएको थियो । तर, विलासी वस्तुमा हाम्रा अर्थमन्त्रीजस्ता अन्य निर्णयकर्ताकै मोह रहेको र व्यवसायी हावी भएकाले अटोमोइबाइलको आयातमा अंकुश लगाउन सकिएको छैन । नेपालमा उत्पादन नहुने विलासी वस्तुमा रोक लगाउन खुला बजार नीति र मित्र राष्ट्रहरूको स्वार्थ बाधक भएको स्पष्ट देखिन्छ । यसैले हाम्रो अर्थतन्त्रको मुटुमा प्रहार गरिरहेको छ । भारतीय अटो मोबाइलको नेपाललाई बजार उपनिवेश बनाइएको छ । यो बजार उपनिवेशले आएदिन नेपालको विकास र समृद्धिमाथि चिसो पानी खन्याउने निश्चित छ । यस्तै भइरहे ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा ‘सोम शर्माको सातुको सपना’ को कथामा चरितार्थ हुनेछ । समयबद्ध साप्ताहिकबाट