‘म्याच फिक्सिङ’ गर्ने खेलाडीलाई कारबाहीको दायरामा ल्याउने विधेयक संसदमा प्रस्तुत

‘म्याच फिक्सिङ’ गर्ने खेलाडीलाई कारबाहीको दायरामा ल्याउने विधेयक संसदमा प्रस्तुत

काठमाण्डौ, १६ भदौ । सरकारले खेलमा मिलेमतो (म्याच फिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ ।

मिलेमतो भएको प्रमाणित भएमा तीन वर्ष कैद र रुपैयाँ तीस हजारसम्म जरिबानाका साथै रकमसमेत लेनदेन गरेको भए त्यो रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ । 

युवा तथा खेलकुद मन्त्रालयले ल्याएको ’खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा त्यो प्रावधान राखिएको हो । प्रतिनिधिसभा, शिक्षा  तथा स्वास्थ्य समितिमा हाल त्यो विधेयक छलफलका क्रममा  छ । विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।

’नेपाल भित्र, नेपालको प्रतिनिधित्व गरी विदेशी देशमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसँग सम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धा गर्दा आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन’ भन्ने विधेयकमा उल्लेख छ । मिलेमतोका लागि उक्साउने वा मद्दत  गर्ने व्यक्तिलाई समेत त्यो कारबाहीको दायरामा ल्याउन सकिने  विधेयकमा व्यवस्था छ । हाल त्यो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा आइपुगेको छ ।

विधेयकको त्यो प्रावधानमा सांसद विमला विश्वकर्मा र आशाकुमारी विकले संशोधन प्रस्ताव प्रस्तुत गर्दै खेलमा मिलेमतो गर्नेलाई र पाँच लाखसम्म जरिबाना र हदैसम्मको कारबाही गर्नुपर्ने प्रावधान राख्नुपर्ने माग गरेका छन् ।

विधेयकमा राष्ट्रिय, प्रदेश र स्थानीय स्तरका खेल संघ गठन गर्न सक्ने रहे पनि  एक खेलका लागि एकभन्दा बढी संघ गठन गर्न नसकिने, एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि खेल संघको अध्यक्ष, महासचिव वा सचिव पदमा निर्वा्चित वा मनोनित हुन नसक्ने, खेलकुद परिषद्का बहालवाला कर्मचारी , प्रशिक्षक पनि खेलसंघमा आवद्ध हुन नपाइनेजस्ता प्रावधान पनि विधेयकमा छ  ।