सीधा कुरा आईजीसँग (व्यंग्य)

सीधा कुरा आईजीसँग (व्यंग्य)

साइँला भाइ

‘ओहो रवि, तिमी कताबाट यता ?’ आईजीपी सर्बेन्द्र खनालले तीनछक्क पर्दै वाणी झारे ।

‘तिम्रै प्यादाहरुले आधारातमा झ्याइँकुटी पार्दै ल्याएका हुन्’, रवि लामिछानेले तुरुन्त जवाफ तलब गरे ।

‘तिमीलाई आधारातमा झ्याइँकुटी पार्दै ल्याउने मेरा प्यादा होइनन्’, खनालले पनि तुरुन्तै पष्टीकरण खापे ।

‘तिम्रा नभएर कुन माइकालालका प्यादा हुन् त ?’, अलिक झर्केर लामिछानेले कुरा फर्काए ।

‘हेर रवि तिमीजस्तो पत्रकारलाई मैले नेपालको राजनीतिको बारेमा सम्झाइरहनु नपर्ने हो । तर तिमी त कहीँ नभा’को फुक्काफाल विन्दास अनाडी रहेछौ । तिमीलाई नेपालको राजनैतिक व्यवस्थाको बारेमा केही पनि थाहा रै’नछ । नेपाल संघीय लोकतान्त्रिक गनतन्त्रमा गै’सकेको छ । पहिलो कुरा एकदेखि सात लम्बरसम्म परदेशमा बाँडफाँड भै’सकेको छ । यसैलाई संघीयता भनिन्छ । दोस्रो लोकतन्त्र हो । लोकतन्त्रमा पार्टीको तोकादेश चल्छ । त्यसैले धरैले यसलाई तोकतन्त्र पनि मान्छन् । तोकादेशले पनि मानेन भने ठोक्ने चलन छ । यसर्थमा यो ठोकतन्त्र पनि हो । रह्यो गनतन्त्रको कुरा । यो नेपाल बनेदेखिकै विषय हो । नेपालको एकीकरन भरुवा बन्दुकले ठोकेर बनाउनुसम्म बना’को हो’, खनालले एकहोरो बताउँदै गए । 

यत्तिकैमा रविले खनालका कुरा काट्दै भने, ‘राजा नभएपछि पो गनतन्त्र भा’को हो । खुब राजनीतिशास्त्र पढेका रहेछौ । हावामै आईजी भा’का रै’छौ । गन चलाउनमात्र जान्नेलाई तन्त्र व्यवस्थाको बारेमा के थाहा ? चराचरीलाई ताकेर ढाल्नेलाई के थाहा तन्त्रमन्त्र ? बाटोमा सिट्टी फुक्दै डाइभरखलाँसीलाई हप्काउन बानी परेकालाई टाउके बनाएपछि यस्तै हो’, रविले खुइय्य गर्दै लाचारी व्यक्त गरे ।

‘कुरोको चुरोमा नपुगी प्वाक्क नखोक न । मैले राजाको कुरा गरेकै होइन । राजाको कुरा ग¥यो भने पर्तिगामी भइन्छ । यस्तो पर्तिगामी कुरा गरेर धराप हाल्नु हुँदैन । कुराको फेदमा आऊ ।’

‘कुराको फेद, टुप्पो भनेको के हो ?’

‘तिमीलाई यहाँ ल्याएको कैरन ।’

ए म त हिरासतमा बसेर हुस्सु भैसकेछु । कसले ल्याएको हो रे मलाई ? रविले खनाललाई जिज्ञासा राखे ।
‘यसमा पनि राजनीति छ’, खनालले कुरा बढाए ।

‘जताततै के को राजनीति हो ? राजनीतिमा पोलटिक्स घुसेको हो ?’, रविले प्रश्न तेस्र्याए ।

विल्कुल त्यस्तै हो । उहिले नै उहिले धेरै नै पहिले नेपाल एकात्मक देश थियो । अहिले परदेश व्यवस्था छ । यो ३ लम्बर परदेश हो । यो मेरो कार्जेक्षेत्र होइन । दानबहादुर मल्ल ठकुरीको कार्जेक्षेत्र हो । उसले तिमीलाई झ्याइँकुटी पारेको भन्ने मलाई लाइरा’छ । खनालले जवाफ तलब गरे ।
‘यो लाइरा’छ जस्तो शब्द भनेर छायाँवादी कुरा गरेर हुन्छ ? फेद न टुप्पोको कुरा’, सुस्केरा हाल्दै रविले भने ।

‘कुरो त्यस्तो होइन । कुराको फेदटुप्पो छेउकुना सबै छ । तोकतान्त्रिक व्यवस्था अनुसार कसैले तिमीलाई झ्याइँकुटी पार्नु भनिकन भन्यो होला । त्यही तोकको आधारमा ठोकतन्त्रलाई किर्यान्वयन गर्न यसो ग¥यो भन्ने हाम्रो अनुसन्धानले बताउला । हामी भनेका मुस्कानसहितको प्रहरी हो । हामीले मान्छे पकड्दा उसको अगाडि उभिएर फिस्स हाँस्छौं अनिमात्र पकड्छौं । ठूलो मान्छे पकड्नु प¥यो भने बत्तीसा देखाएर हाँस्नु पर्ने प्रहरी कानुनले भन्छ । आधारातमा हामी मान्छे झ्याइँकुटी पार्दैनौं । आधा दिनमै काम तमाम गर्छौं । हामी अन्तर्राष्ट्रियस्तरको प्रहरी हौं । चाल्स शोभराज, दाउद इब्राहिमजस्ता अन्तर्राष्ट्रियस्तरका माफिया डनमात्र पकड््छौं । झुसेझासे, दूले चोर, पानी गुण्डा, पत्रकारसत्रकार पकड्ने हाम्रो काम होइन ।’

यत्तिकैमा एउटा अर्दली आएर सलोट ठोक्दै भन्यो, ‘जै नेपाल सा’प गाडी तैयार भयो ।’

जिल्ला प्रहरी कार्यालय चितवनबाट काफिलासहित खनाल बाहिर निस्किए ।