गाई हत्याबारे अनुशन्धान भैरहेको छ, दोषीलाई कारबाही गर्छौंः मन्त्री पण्डित

गाई हत्याबारे अनुशन्धान भैरहेको छ, दोषीलाई कारबाही गर्छौंः मन्त्री पण्डित

काठमाडौं, १५ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन् । 

आइतबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिद्धर हाँसिल गरेर ईतिहाँसमा फड्को मारेको सुनाए । त्यस्तै, प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ । उनले भने,‘कर्मचारी समायोजनको कुरा भन्नुहोस वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’

उनले वर्तमान सरकार संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको बताए । उनले भने,‘हामी आईपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं । नयाँ परिवर्तन तुरुन्तका–तुरुन्त सबै कुरा एकैचोटी हुँदैन ।  यसको लागि समय लाग्छ । रातारात सबै काम हुँदैन् । एकै दिनमा, एकै रातमा सबै कुरा व्यवस्थित् हुँदैन्।’

साक्षात्कारमा उनले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमार्फत निर्णय गर्नुपर्दा कतिपय विषयमा केही समय लाग्ने बताए । उनले थपे,‘एकपछि अर्को काम गरेर जानुपर्छ । धेरै कानून बनाएर संविधान कार्यावयन गर्ने सन्दर्भमा हामी अघि बढिरहेका छौं ।’ उनकाअनुसार कतिपय कानून संघीय संसदमा पुगेको, कतिपय छलफलको क्रममा रहेको र कतिपय कानूनहरु मस्यौदाको प्रक्रियामा रहेका छन् ।

मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तिव्र गतिमा काम गरेको ईतिहाँस नभएको जिकिर गरे । यद्धपी उनले जनताले चाहेकोजस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन केही समय लाग्ने विश्वास दिलाए । उनले भने,‘जनताको चाहनाअनुसार अब काम अघि बढ्छन् ।’

उनले राष्ट्रसेवकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । पण्डितले भने,‘यदि कोही राष्ट्रसेवक सरुवा गरेको ठाउँमा गएनन भने उनीहरुलाई कारबाही र दण्डित गर्छौं ।’ उनले अब प्रदेश र स्थानीय तहमा पनि विकास निर्माणका कामले गति लिने विश्वास दिलाए ।
फरक प्रसँगमा मन्त्री पण्डितले गौहत्या भएको विषयमा सरकारले अनुशन्धान गरिरहेको बताए । उनले भने,‘यो प्रकरणमा कोही कसैले अपराध गरेको प्रमाणित भए सरकारले कारबाही गर्छ । दण्डित गर्छ ।’

सर्लाहीका श्याम परदेशीले सयौं गरिब, दुःखी जनतालाई सलामी ऋण कागज बनाएर दुःख दिएको कुरा बाहिर आएको विषयमा पनि सरकार गम्भिर रहेको उनको भनाई छ । उनले भने,‘हामीले यो विषयमा विशेष चासो दिएका छौं । हामी गहिराईमा पुगेर अनुशन्धान गरिरहेका छौं । यो प्रकरणमा दोषी देखिएकालाई दण्डित गर्छौं ।’