प्रलेसको कार्यपत्रमा मधेशको प्रगतिशील प्रवृतिको उपेक्षाबारे चिन्ता व्यक्त

प्रलेसको कार्यपत्रमा मधेशको प्रगतिशील प्रवृतिको उपेक्षाबारे चिन्ता व्यक्त

काठमाडौ । मधेशमा भएका प्रगतिशील साहित्यिक आन्दोलन र लेखन नअटाएकोमा प्रगतिशील लेखक संघका कार्यपत्र प्रस्तोताको आलोचना गरिएको छ ।

कला र साहित्यले अग्रगामी चेतनाको विकास गरी सामाजिक संघर्ष र रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको साहित्य तथा संस्कृतिविज्ञहरूले आआफ्ना धारणा राख्ने क्रममा यस्तो बताएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र प्रगतिशील लेखक संघको सहकार्यमा राजधानीमा आयोजित ‘प्रगतिशील लेखन र सांस्कृतिक रुपान्तरण’ विषयक गोष्ठीमा मधेशको तर्फबाट प्रतिनिधित्व गर्नेहरूले यस्तो धारणा राखे ।

मुलुकको राजनीतिक संघर्षहरुमा प्रगतिशील कला, संगीत र साहित्यको अहम् भूमिका भए पनि परिवर्तनपछि चाकरी र भागवण्डामा अवसरवादी संस्कारको विस्तार भएको उनीहरूको टिप्पणी थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा.पशुपतिनाथ तिमल्सेनाले प्रगतिशील लेखनले सामन्तवादी, पूँजीवादी, साम्राज्यवाद, प्रतिक्रियावाद एव शोषण उत्पीडानका बिरुद्ध आवाज उठाउँदै सामाजिक सांस्कृतिक रुपान्तरण कार्यमा मद्दत गरेको जनाएका थिए ।

सोही कार्यक्रममा गोपाल ठाकुरले एकलजातीय, एकलभाषीय अध्ययनका आधारमा कार्यपत्र प्रस्तुत गरिएको टिप्पणी गरे । उनले भने “ मधेशमा भएका प्रगतिशील साहित्यिक आन्दोलन र लेखन यो कार्यक्रम कहाँ अटाएको छ ? के यो नयाँ किसिमको बहिष्करण होइन र?”

कार्यपत्रमाथि प्रा.डा.बद्रीबिशाल पोखरेल, स्नेह सायमी, गोपीरमण उपाध्याय, शुशीला प्रधानाङ्ग, चेतनाथ धमला, विन्दा मैनाली, शालिक तिमल्सेनालगायतले टिप्पणी गरेका थिए ।

प्रलेस नेपालका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सदस्यसचिव जगद्प्रसाद उपाध्याय, नेपाल कम्युनष्टि पार्टी (नेकपा) को साहित्य, कला तथा संस्कृति विभाग प्रमुख मणी थापा, जनसांस्कृतिक महासङ्घ संयोजक खगेन्द्र राईलगायतले सांस्कृतिक रुपान्तरणमा प्रगतिशील लेखनबारे आआफ्ना धारणा व्यक्त गरेका थिए ।