गोलन्जोर गाउँ प्रहरी भर्ना विवादमा 

गोलन्जोर गाउँ प्रहरी भर्ना विवादमा 

–राजन गाउँले
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले भर्ना गर्न लागेको गाउँप्रहरी विवादमा परेको छ । गाउँपालिकाको आय स्रोतले थेग्नै नसक्ने गरी आफ्ना कार्यकर्ता भर्ना गर्न लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टी गोलन्जोरले अबरोध गरेपछि विवादमा परेको हो ।

गाउँपालिकाले प्रहरी सहायक निरिक्षक सहित १५ जना गाउँप्रहरी भर्नाका लागि आवेदन आह्वान गरेपछि नेकपाले एक विज्ञप्तीनै निकालेर प्रहरी भर्ना प्रकृया रद्द गर्न चेतावनी दिएको छ ।
नेकपा गोलन्जोरका अध्यक्ष केपी पोखरेलले आन्तरीक आय वार्षीक ५० लाख रुपैयाँपनि नहुने गाउँपालिकामा वर्षीक ७० लाख व्ययभार थपीने गरी गाउँ प्रहरी भर्ना गर्न विज्ञापन गरिएको भन्दै तत्काल रद्द गर्न माग गरेका हुन् । 

सचिव रेगनराज थापा र अध्यक्ष पोखरेलले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ती निकाल्दै जनताको विकास निर्माणको बजेट कटौती गरेर गाउँपालिकाले मनोमानी गाउँप्रहरी भर्ना गर्न लागेको प्रति खेद व्यक्त गर्दै तत्काल विज्ञापन रद्ध गर्न भनिएको हो ।

यस अघि तिन जना गाउँप्रहरी भर्ना गरिएपनि गाउँपालिकाले एक प्रहरी सहायक निरिक्षक, २ जना प्रहरी हवल्दार र १२ जना प्रहरी जवान गरी थप १५ जना भर्ना गर्न भन्दै यही भदौं १० गते आवेदन माग गरेको थियो ।

गाउँपालिकामा प्रतिपक्ष समेत रहेको नेकपाका अध्यक्ष पोखरेलले नगर प्रहरी अनावश्यक रुपमा आफ्ना कार्यकर्ता भर्ना गर्न लागिएको समेत आरोप लगाए । 

प्रहरी भर्ना विवाद बारे पोखरेलले भने, गाउँपालिकामा आन्तरीक आयका रुपमा वर्षमा ५० देखी ५५ लाख रुपैयाँ पनि कट्दैन तर, १८ जना प्रहरीको सबै खर्च हेदा ७० लाख रुपैयाँ बढी वर्षीक खर्च हुन्छ । अनि ५० लाख आम्दानी नगर्ने पालिकाले ७० लाख खर्च गरेर कसरी कार्यकर्ता भर्ना गर्न मिल्छ  । यो हामीलाई मान्य छैन् तत्काल विज्ञापन रद्द नगरीए आन्दोलनमा जान्छौं ।’
नेकपाले नगर प्रहरीको अलवा विद्यालयमा नर्स, कृषि प्राविधिक, अमिन जस्ता आवश्यक प्राविधिक भर्ना गर्न समेत माग गरेको छ । 

उता गाउँपालिकाले आवेदन माग गरेरको विज्ञापन कुनै हालतमा रद्द नहुने र गाउँप्रहरी भर्ना गरेरै छाड्ने उक्त गाउँपालिकाका प्रवक्ता दौलत कार्कीको अडान छ । 
‘हामीले आफ्ना कार्यकर्ता भर्ना गर्न लागेका हैनौं । पालिकालाई अति आवश्यक महसुस भएपछि प्रहरीको भर्ना प्रकृया थालेका हौं । विरोध गरेका भरमा रोकिँदैन्,’ उनले भने ।
गाउँको विकासमा सबै एक जुट भएर काम गर्नु पर्ने भएपनि नेकपाले प्रतिपक्षको मात्र भुमिका खेलेर विरोधका लागि विरोध मात्र गरेको भन्दै कार्कीले संविधान र कार्यविधिले दिएको अधिकार प्रयोग गरेर प्रहरी भर्ना गर्न थालिएको स्पष्ट पारे ।

पालिकाको आन्तरीक आय वृद्धि, स्थानीय स्रोतसाधनको चोरी निकासी लगायतका कामकै लागी प्रहरी आवश्यक भएको र भर्ना गर्न लागीएकोले आन्तरीक आय वृद्धि गर्दै उनिहरुलाई सेवा सुविधा दिने पनि कार्कीले जनाए ।

गत आर्थीक वर्षमा ५५ लाख रुपैयाँ आन्तरीक आय संकलन गरेको पालिकाले यस आर्थीक वर्षबाट भने उक्त आयलाई वृद्धिगर्ने लक्ष लिएको पनि उनको भनाई छ ।