मुआब्जा नपाएका पीडितहरुको कोशी ब्यारेजमा रिले अनसन 

मुआब्जा नपाएका पीडितहरुको कोशी ब्यारेजमा रिले अनसन 

सप्तरी, १४ भदौ । भारतीय पक्षको हेपाहा प्रवृत्ति र नेपाली पक्षको उदासीनताका कारण मुआब्जा नपाएको भन्दै सप्तकोशी पीडितहरुले रिले अनसन बसिरहेका छन् ।

     कोशी सम्झौता भएको लामो समयसम्म पनि सम्झौता अनुसारको मुआब्जा नपाएको भन्दै कोशी नदी कटान डुवान संघर्ष समिति सुनसरी, सप्तरी र उदयपुरको अगुवाईमा कोशी पीडितहरुले सप्तकोशी ब्यारेजमा रिले अनसन जारी राखेका छन् । 
     
बि.सं.२०११ साल वैशाख १२ गते नेपाल र भारत सरकारबीच भएको कोशी सम्झौता अनुसार कोशीले कटान र डुवान भएका जग्गाको मुआब्जा भारत पक्षले दिनुपर्ने व्यवस्था भए पनि अझै पीडितहरुले मुआब्जा पाउन सकेका छैनन् । 

    मुआब्जा नपाएका पीडितहरुले गत असार ३२ गते शनिवारदेखि सप्तकोशी ब्यारेजस्थित पूर्वी तटबन्धमा शुरु गरेको रिले अनसनमा प्रदेश २ सरकारका मन्त्रीदेखि बिभिन्न पार्टीका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । 
 
   अनसन स्थलमै पुगेर प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले ऐक्यबद्धता व्यक्त गर्दै माग पूरा गराउन केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 
 
    यस्तै नेकपाका सप्तरी अध्यक्ष अशोक कुमार मण्डल (अमर) ले पनि रिले अनसनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनबारे पार्टीका शीर्ष नेताहरुसँग कुरा राख्ने बताए ।
  
      रिले अनसनमा बसेको तीन साता बित्न लाग्दा समेत सरकारले आफूहरुको मागप्रति गम्भीर नभएकाले आन्दोलन थप चर्काउने पीडितहरुले चेतावनी समेत दिएका छन् । 
 
  समितिका संयोजक महिदेव प्रसाद चौधरीले अझै माग सम्वोधन गर्नेतर्फ राज्य गम्भीर नभए सिंहदरबार हुँदै भारतको नयाँ दिल्लीसम्म पुग्ने तयारी गरेको बताए ।
 
    सन् १९५४ मा भएको कोशी सम्झौता कार्यान्वयन हुनुपर्ने, कोशी नदीले क्षति गरेको बालीको क्षर्तिपूति हुनुपर्ने, दुवै तटबन्धभित्रको जग्गा सुरक्षित हुनुपर्ने माग गर्दै संघर्षले पटक पटक आन्दोलन गर्दै आए पनि सुनुवाई नभएपछि रिले अनसन बसेको संयोजक चौधरीको भनाइ छ । 
     
केही दिनअघि राजधानीमा भएको नेपाल र भारतका विदेशमन्त्री स्तरीय बैठकमा आफूहरुको समस्याबारे कुरा उठ्ने अपेक्षा गरिए पनि त्यो हुन नसकेपछि थप निराशा बढेको भन्दै पीडितहरुले सप्तरी, सुनसरी र उदयपुर जिल्ला ठप्प पार्ने गरी आन्दोलनको तयारी गरेको बताएका छन् ।