सञ्चार संस्कृति र ब्ल्याक बक्स

सञ्चार संस्कृति र ब्ल्याक बक्स

भवानी बराल

सूचना प्रविधिको विकासले आमसमुदायमा सूचनाको पहुँच सहज भएको छ । तर, सँगसँगै सञ्चार संगठनहरुमा आममानिसको पकड कमजोर भएको छ । निगम (कर्पोरेट) संगठहरुबाट उत्पादित सूचनामात्र उपयोग गर्नु पर्ने बाध्यता आइरहेको छ । यसले राजनैतिक व्यवस्थामा पनि उग्र सिण्डिकेट प्रणालीलाई व्यवस्थित गर्दै लगेको छ ।

पुँजीवादी व्यवस्थामा सञ्चार संगठनहरु निगम मातहत हुन्छन् । पुँजीपन्थीहरुले सञ्चारका साधनहरुलाई औद्योगिकीकरण गर्छन् । पुँजीवाद स्वतन्त्र आर्थिक प्रणाली हो । पुँजीवादमा व्यक्तिगत उपयोगका लागि वस्तुको उत्पादन गरिन्न । नाफाका लागि वस्तुको स्वतन्त्रतापूर्वक उत्पादन गरिन्छ ।

पुँजीवादमा मालसामान उत्पादन प्रणाली विस्तार गरिएको छ । कुटिर उद्योगको स्थानमा ठूला उद्योग, पुँजी र संगठित शक्ति लागेका हुन्छन् । नाफा कमाउने र विनिमय मात्र गर्ने लक्ष्य भएकोले आत्मनिर्भरता यसको उद्देश्यभित्र पर्दैन । 
सञ्चार उत्पादन पनि पुँजीवादी व्यवस्थामा निगमहरुले संगठित शक्ति, ठूलो पुँजी लगाएर गर्छन् । पुँजीवादमा जसरी श्रमिकहरुलाई श्रम बेच्ने विकल्पमात्र रहन्छ, त्यसरी नै सञ्चार उद्योगमा सञ्चारकर्मीहरुले श्रम बेच्छन् । यसर्थ, यस्ता उद्योगको नाम सञ्चार उद्योग र सञ्चालकलाई सञ्चार उद्यमी भनिन्छ ।

यस्ता उद्योगहरुमा पत्रकारहरु वास्तविक अर्थका पत्रकार नभएर श्रमजीवी पत्रकार या श्रमजीवी सञ्चारकर्मीको नामले चिनिन्छन् । उद्योग मालिकका चाख, स्वार्थ, पैसा र शक्ति प्राप्त गर्ने उद्देश्यका समाचार मात्र उत्पादित हुन्छन् । सञ्चार उत्पादनका अन्तरवस्तु, उत्पादनका मोडेल, रुपरेखा सञ्चार उद्यमीले गर्छन् । श्रमजीवी पत्रकारको खालि ठाउँ भर्ने वा श्रम बेच्ने काममात्र हुन्छ । यसकारण सञ्चार उत्पादन आमसमुदायले बाध्यतापूर्वक ग्रहण गर्नु पर्ने हुन्छ ।

सञ्चार संस्कृति: प्रोपोगण्डा

आधुनिक युग सूचना सञ्चारको युग हो । दैनिक जीवनमा सूचना सञ्चारले घर गरेको छ । सञ्चार माध्यमको उपयोग गरेर त्यसबाट उत्पादित सामग्रीको लत लगाउने कामलाई सञ्चार संस्कृति भनिन्छ । व्यापक सञ्चार सञ्जालको माध्यमबाट प्रचार गरी आफ्नो उत्पादनमा बानी पार्ने काम हुन्छ । यही प्रक्रियालाई सञ्चार संस्कृतिको रुपमा परिभाषित गरिन्छ । विश्वभर आकर्षक शैलीमा विज्ञापन गरेर आफूले उत्पादन गरेर आफैले उत्पादनहरुको गुणगान गरेर उपभोक्तामाथि यस्तो संस्कृति थोपर्ने पुँजीवादी प्रणाली हो । सञ्चार संस्कृति एक प्रकारको प्रोपोगण्डा हो ।

जनवादको तेजोबध

सञ्चार संस्कृतिले जनवादी संस्कृति, परम्परागत मान्यता, आत्मिक आस्था, मान्यता एवम् आत्मिक उत्पादन, सामुदायिक उत्थान, समसामयिक सामाजिक–साँस्कृतिक मान्यता र विश्व संस्कृतिको ऐतिहासिक प्रवाहलाई आमजनमनमा पु¥याउने कामलाई निषेध गर्छ । ठ्याक्कै सुन्दा अनौठो लाग्न सक्छ सञ्चारको पहुँच व्यापक भएपछि विश्व संस्कृतिको ऐतिहासिक प्रवाहलाई कसरी रोक्छ भन्ने । तर, कुरो त्यसो होइन, यसले मानवमात्रको आत्मिक मूल्य–मान्यताको अपव्याख्या गर्छ ।

ऐतिहासिक समाज विकासक्रम, वैज्ञानिक विचारधारा, नयाँ चिन्तनधारालाई कौडीको मोलमा पनि राख्दैन । एकाधिकार पुँजीवादले सामानको पेटेण्ट राइट लिएजस्तै आफ्नो मतलाई मात्र सिंगार्छ । त्यस्तै सूचना वस्तुमात्र उत्पादन गर्छ जसबाट उसले शक्ति र पैसा प्राप्त गरोस् । यस्ता वस्तुलाई व्यापक प्रचारप्रसार गरेर वैज्ञानिक विचारको तेजोबध गर्छ । विश्वसाम्राज्यवादले वैज्ञानिक विचारलाई निषेध गर्छ । विश्वबाटै कम्युनिस्ट आन्दोलनको पतन भएको धुवाँधार प्रसारित गरिन्छ । यही हो सञ्चार संस्कृति,  अहिले ठ्याक्कै यही भइरहेछ ।

यतिमात्र होइन, यसले राष्ट्रिय मुक्ति आन्दोलनलाई ब्ल्याक आउट गर्छ । त्यस्ता मुक्ति आन्दोलनलाई सेबोटेज गर्न निगम सञ्चारले काम गर्छ । काश्मीरलगायत विश्वभर भएका वर्तमानका घटना यसका साक्षी हुन् । कथित भूमण्डलीकरणको नाममा स्थानीयतालाई यसले मान्यता दिँदैन ।
ब्ल्याक बक्स

सञ्चार संस्कृतिले प्रत्येक मानिसमा भएको ब्ल्याक बक्समाथि कब्जा गर्छ । जनजनमा साम्राज्यवादी अवैज्ञानिक सिद्धान्त र दर्शनमा आदत लगाउँछ । अहिले प्रारम्भ भएको यही सञ्चार संस्कृति अबको युगको चुनौति हो । अहिले नै पनि यस्ता अवैज्ञानिक दर्शनलाई सञ्चार संस्कृतिमार्फत् व्यापक गरिएको छ । यही नै पो हो कि सबै कुरा भनेजसरी भ्रम छरिँदो छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पको उदय यस्तै संस्कृतिको परिणाम हो । भारतमा नरेन्द्र मोदीलाई यस्तै संस्कृतिले जन्माएको हो । वैज्ञानिक दर्शन र चिन्तनधाराले यो चुनौतिको प्रतिरोध गर्न सकेन भने अन्धराष्ट्रवादी साम्राज्यवादले फँणा उठाउनेछ ।
अबको युग सञ्चार साम्राज्यको युग हो । यसको विश्वव्यापी सञ्जालले व्यापक प्रभाव, नियन्त्रण र बर्चश्व विस्तार गरेको छ । यसको चुनौति वैज्ञानिक चिन्तनधाराले स्वीकार्नु आजको जरुरी बहस हो । समयबद्ध साताहिकबाट