माथिल्लो कर्णालीः राष्ट्रघातको निरन्तरता

माथिल्लो कर्णालीः राष्ट्रघातको निरन्तरता

काठमाडौं । माथिल्लो कर्णाली र बुढीगण्डकी जलविद्युत् परियोजना सम्झौता राष्ट्र हितविपरीत रहेको भन्दै यसको चर्को विरोध गरिएको छ ।

भदौ २ गते काठमाडौंमा आयोजित माथिल्लो कर्णाली र बुढी गण्डकी परियोजनामा राष्ट्रहितको संरक्षणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले टाट पल्टिएको भारतीय कम्पनी ‘जीएमआर’सँग गरिएको परियोजना निर्माण सम्झौता नेपालको हितविपरीत भएको दावी गरे ।
पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित सो कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपाका नेता भीम रावल, मालेका नेता सीपी मैनाली, देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेललगायत विभिन्न पार्टीका नेता, आयोजना प्रभावित क्षेत्रका स्थानीय र जलस्रोतसँग सम्बन्ध राख्ने विभिन्न व्यक्तिहरु सहभागी थिए । कार्यक्रममा सहभागी हुने बचन दिए पनि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन उपस्थित भएनन् । जीएमआरसँग गरिएको सम्झौताको म्याद सकिए पनि पटकपटक किन थपिएको भन्ने प्रश्नको जवाफ दिनुपर्ने भएकोले ऊर्जामन्त्री कार्यक्रममा नआएको भन्दै कार्यक्रमका वक्ताहरुले मन्त्री पुन प्रश्नको सामना गर्नुपर्ने डरले भागेको बताएका थिए ।

कार्यक्रममा जलस्रोतविज्ञहरु हरि पण्डित, सन्तबहादुर पुन र रतन भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए भने ऋषि कट्टेल र द्वारिकानाथ ढुंगेलले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै, ‘राष्ट्रको हित नहुने कुनै पनि सम्झौता कुनै पनि मूल्यमा मान्य नहुने’ बताए । नेपालको राष्ट्रियता र सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि परियोजनाको समर्थन गर्न नसकिने बताउँदै नेता खनालले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका प्रश्नबारे सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

सरकारको नेतृत्व गरिरहेको नेकपाका प्रभावशाली नेता नेता भीम रावलले ‘जीएमआर’ भन्ने कम्पनीसँगको सम्झौतालाई पटक–पटक म्याद थपेर नेपाली जनताको भविष्य, नेपालको राष्ट्रियता र सार्वमौकितामाथि गम्भीर खेलबाड गरिंदै आएको बताए । नेपाललाई जुनसुकै बेला जस्तोसुकै जरिवाना गराउन सक्ने गरी जीएमआरसँग सम्झौता गरिएको भन्दै नेता रावलले आफ्नो पहलमा राष्ट्रहित विपरीत सम्झौतामा रहेका २१ मध्ये १६ बुँदाहरु सच्याएको दावी गरे । भारतीय कम्पनी जीएमआरलाई माथिल्लो कर्णाली परियोजना ३० वर्षसम्म उपभोग गर्न र त्यसपछि हाम्रो पानी हामीलाई नै बेचेर ३० वर्षपछि थोत्रा उपकरण हामीलाई छाडिदिने शर्तमा नेपालको हितपिरीत हुनेगरी नेताहरुले सम्झौता गरेकोमा आफ्नो हृदय छियाछिया भएको नेता रावलले बताए ।

देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जीएमआरसँग पुनः म्याद थप सम्झौता गरिए आफूलाई मान्य नहुने बताउँदै त्यसो गरिए त्यसका विरुद्ध आन्दोलनमा उत्रने बताए । नेपालको राष्ट्रिय स्वाधीनतामाथि खेलवाड नगर्न सरकारलाई चेतावनी दिंदै गजुरेलले जनतालाई चनाखो हुन अपील गरे । 

कार्यपत्रमाथि टिप्पणी गर्दै ऋषि कट्टेलले ‘जीएमआर’ले चुनावताका ठूला दललाई चन्दा दिएको र त्यही कारण जीएमआरसँगको सम्झौतालाई कानुनी रुपमा लम्ब्याउने गरिएको दावी गरे । 
अर्का टिप्पणीकर्ता द्वारिका ढुंगेलले नेपालको पानी र जलविद्युतमाथि ठूलो आर्थिक चलखेल हुने गरेको दावी गरे । नेपालको विजुलीमाभन्दा पनि पानीमा भारतको आँखा गडेको र त्यही योजनाअनुरुप भारत जीएमआरमार्फत् अगाडि बढेको बताउँदै यसलाई बेलैमा बुझेर माथिल्लो कर्णाली परियोजना तत्काल खारेज नगरिए नेपालका लागि त्यो ठूलो दुर्भाग्य हुने ढंगलेले बताए ।

माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान’का अध्यक्ष भरत बहादुर शाहीले माथिल्लो कर्णाली परियोजना निर्माणको जिम्मा जीएमआरलाई दिनु राष्ट्रघात भएको बताउँदै नेपाल र नेपालीका लागि यो परियोजना दुर्भाग्यपूर्ण रहेको बताए । कार्यक्रमको अध्यक्षता पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडले गरेका थिए भने महासचिव रबिन कोइरालाले सञ्चालन गरेका थिए ।