परम्परागत ढोँगी मानसिकता र पहेलो धातुको व्यापार

परम्परागत ढोँगी मानसिकता र पहेलो धातुको व्यापार

काठमाडौं । अहिले बजारमा पहेंलो धातुका विषयमा खुबै चर्चा हुने गरेको छ । आजकल प्रत्येक दिन जसो सुनको मूल्यका समाचार आउने गरेका छन् । हिन्दु धर्मसंस्कृति अङ्गाल्ने समाजमा यसको साँस्कृतिक महत्व भएकाले पनि यसको बढी चर्चा हुने गरेको छ । त्यसले गर्दा सुनको संग्रह र लगानीमा विशेष ध्यान गएको पाइन्छ । विश्वमा उत्पादन भएका महङ्गा धातुमध्ये सुन एक भएकाले पनि यसलाई गहनाका रुपमा प्रयोग गर्ने प्रचलन छ । सुन लगाएर हिड्दा आफूलाई ठालु ठान्ने रुढीवादी सोंच राख्नेहरु पनि यस समाजमा धेरै देखिन्छन् । जसले गर्दा हिन्दु समाजमा सुन सङ्ग्रहलाई सामाजिक प्रतिष्ठाका रुपमा लिइन्छ ।


यिनै परम्परागत सोंचका कारण पनि पहेंलो धातुप्रतिको आकर्षण निरन्तर बढ्दै गएको देखिन्छ । सायद यस्तै समाजका लागि भनेर होला विश्वमा यो पहेँलो धातुको उत्पादन र मूल्य बढ्दै गएको छ भने आपूर्ति पनि रणनीतिक रुपमा हुँदै आएको छ । उत्पादन वृद्धि भए पनि रणनीतिक तवरले यसलाई बजारमा प्रवाह गरिँदै आएको पाइन्छ । यिनै भ्रमित दुनियाँको खपतका लागि सुनको उत्पादन बृद्धि हुने गरेको देखिन्छ । त्यसो त धार्मिक स्थलको निर्माणका लागि यो महङ्गो पहेंलो धातु प्रयोग गर्ने प्रचलन विश्वका धेरै स्थानमा छन् । नेपाल र भारतमा त चाडवाड वा कुनै सार्वजनिक कार्यक्रम हुँदा सुनलाई गहनाका रुपमा प्रयोग गरेर ठालु र सुन्दर देखिने ठूलो भ्रम नै रही आएको छ । मानिसको मस्तिष्कमा जकडिएको यही सोंचका कारण दैनिक आवश्यकीय वस्तु नहुँदा नहुँदै पनि यो पहेँलो धातुको व्यापार मनग्य हुने गरेको छ । त्यसले गर्दा यो धातुको व्यापारले विश्व अर्थतन्त्र प्रभावित हुने गरेको छ । 


संसारमा सबैभन्दा बढी चीनले प्रतिवर्ष तीन सय ९९ दशमलव ७ टन सुन उत्पादन गर्दै आएको छ ।  यो संसारको कूल खपतको १२ प्रतिशत हो । त्यसैगरी अस्ष्ट्रेलियाले तीन सय १२ दशमलव दुई टन सुन उत्पादन गर्दै आएको छ । त्यसपछि तेस्रो नंम्बरमा रसियाले दुई सय ८१ दशमलव पाँच टन सुन प्रतिवर्ष उत्पादन गर्दै गर्छ । त्यसपछि क्रमशः अमेरिका, क्यानाडा, इन्डोनेसिया, पेरु र साउथ अफ्रिकाले यस्तो पहेंलो धातुको उत्पादन गर्दै आएको छ । अन्य देशले नगन्य रुपमा सुनको उत्पादन गर्दै आएका छन् । प्रत्येक वर्ष विश्वमा लगभग २५ हजार मेट्रिक टन सुन उत्पादन हुँदै आएको अनुमान छ । 


विश्वमा सुनको प्रयोग सबै राष्ट्रमा हुने गरेको छ । तर पनि माथि उल्लेख गरेजस्तै सुनको प्रयोग परम्परागत रुपमा क्वाइन बनाउने र गहनाका रुपमा प्रयोगका लागि नै हुने गरेको छ । वैज्ञानिक रुपमा सुन खानु उपयुक्त नभएको र धेरै खाए यो विशाक्त हुने प्रमाणित भए पनि पूर्वीय दर्शनमा सुन खाने गरिन्छ । सुनको धुलो खायो भने स्वस्थ्य रहन सहयोग गर्छ भन्ने विश्वास रही आएको छ । सुनलाई दौलतका रुपमा हेर्ने त छँदैछ । त्यसो त यो धातु आधुनिक चिकित्सा पद्धतिमा उपचारमा पनि प्रयोग हुँदै आएको छ । उदाहरणका लागि सुन क्षयरोग र अर्बुद रोग(क्यान्सर)को उपचारका लागि प्रयोग हुने गरेको छ । त्यसका साथै विश्वका पछिल्ला विकसित प्रविधिमा पनि सुनको प्रयोग हुने गरेको छ । आधुनिक सञ्चारका सामग्री उत्पादनमा यस धातुको प्रयोग हुँदै आएको छ । 


यस्तो बहु उपयोगी धातुको मूल्यमा उतारचढाव विश्व बजारमै देखिएको छ । त्यसको प्रभाव हाम्रो समाजमा पनि परेको छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सुन आधुनिक प्रविधिमा प्रयोग भएको छैन । सुनको प्रयोग गरेर उत्पादन गरिने कुनै पनि सामग्री नेपालका उत्पादन छैनन् । त्यसैगरी सुनको प्रयोग भएर ठूलो उपचार भएको समाचार पनि सुन्नमा आएको छैन । हाम्रो समाजमा प्रयोग हुने सुन धार्मिक अन्धविश्वास र परम्परागत मात्रै हो । त्यसकौ साथै दौलतका रुपमा राख्ने पनि चलन रही आएको छ । त्यसले गर्दा विश्व बजारमा सुनको मूल्यमा उतारचढाव आउँदा नेपाली बजारमा हाहाकार र कोकोहोलो गर्नुपर्ने कुनै कारण हुन्न । त्यो मात्र परम्परागत रुढीवादी सोंच हो । सुनको अभाव हुँदा न त कलकारखाना रोकिन्छ न कुनै क्रोनिक उपचार पद्धतिमा समस्या आउँछ । ढोंगी मानसिकताले ग्रस्त व्यक्ति र समाजका कारण मात्र नेपाली समाजमा सुनको महत्व हुने गरेको छ ।


अहिले तिनै ढोंगीहरुका रोगी मानसिकताको आडमा हुने व्यापार फस्टाएको छ । व्यापारीले सुन अभावको कोकोहोलो मच्चाएर तस्करी गर्ने गरेको यथेष्ठ प्रमाणसहित उनीहरु पक्राउ पनि परेका छन् । बजारमा उपलब्ध कूल सुनमध्ये ५० प्रतिशत तस्करीबाटै भित्रिएको अनुमान गरिन्छ । यसले गर्दा पनि  नेपालमा सुनको तस्करी बढ्ने गरेको देखिन्छ । यस्ता अनुत्पादक क्षेत्रमा मानिसको समय र पुँजी लगानी भइरहेको छ ।


यिनै व्यापारीले अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर कमी गरेका कारण सुनको भाउ बढ्यो भन्दै आफ्ना व्यापारका नाममा तस्करी धन्दा चलाएका छन् । त्यसैगरी सोझा नेपाली जनतालाई चीन र अमेरिकाको व्यापार युद्धका कारण सुनको भाउ बढ्यो भन्दै चाडवाड र बिबाहको समयमा सुनको मूल्य वृद्धि गरेर अकुत लुट मच्चाइरहेका छन् । छापा र विद्युतीय सञ्चार माध्यममा सुनका गहनाको प्रचार गरेर प्रत्येक नेपालीका शरीरमा तस्करीका पहेँलो धातु भिराउने नौटङ्की गरिरहन्छन् । यस्ता विषयमा नियमन निकाय एवम् नीति निर्माताको ध्यान जानुका साथैं आम जनतामा यस्ता परम्परागत सोंचमा परिवर्तन आवश्यक छ । समयबद्ध साप्ताहिकबाट