अनुशासनहीन २७ प्रहरी कार्वाहीमा, ३९ प्रहरी पुरस्कृत

अनुशासनहीन २७ प्रहरी कार्वाहीमा, ३९ प्रहरी पुरस्कृत

जनकपुर, ११ भदौ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरले एक महिनाको अवधिमा अनुशासनहीन काम गर्ने २७ जना प्रहरीलाई कार्वाही र राम्रो काम गर्ने ३९ प्रहरीलाई पुरस्कृत गरेको छ । 

आर्थिक वर्ष २०७६/०७७ को पहिला महिना अर्थात् साउन महिनामा २७ प्रहरीलाई कारबाही गरेको छ भने ३९ जनालाई पुरस्कृत गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीले जानकारी दिए । 

प्रहरी संगठनले लिएको भ्रष्टाचार र अपराधमा शुन्य सहनशीलता नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने क्रममा गलत गर्ने प्रहरीलाई कार्वाही र राम्रो गर्नेलाई पुरस्कृत गरिएको डीआईजी कार्कीले बताए ।
 
‘पुलिसिङ द पुलिस फस्र्ट’ भन्ने नीतिलाई प्राथमिकतामा राखी प्रदेश प्रहरीअघि बढेको भन्दै नीति विपरीत कार्य गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म कार्वाहीमा परेको उनको भनाइ छ । 

एक महिनाको अवधिमा सिरहा, रौतहट र पर्सामा कटुवा पेस्तोल, भरुवा बन्दुक लगायतका चार थान हतियारसहित छ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको डीआईजी कार्कीले बताए । 

प्रदेशमै ठूलो चुनौतीको रुपमा रहेको लागूऔषधमा प्रहरीले कडाइ गरेकाले साउन महिनामा मात्र प्रदेशका विभिन्न जिल्लाबाट गाँजा २७८.७२१ किलो, अफिम २ सय ५० ग्राम र अन्य लागूऔषध २६५९ एम्पुल बरामद भएको हो । लागूऔषध घटनामा प्रहरीले १०४ जनालाई पक्राउ गरी ६० वटा मुद्दा दर्ता गरेको प्रदेश २ प्रहरी कार्यालयको तथ्याकंले देखाएको छ ।

प्रदेश २ मा साउन महिनामा मात्र ट्राफिक कारबाहीबाट ६९ लाख ५८ हजार ५ सय रुपैँया संकलन भएको छ ।