भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोप्रति काँग्रेस सांसद खाँडको आपत्ति

भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोप्रति काँग्रेस सांसद खाँडको आपत्ति

काठमाण्डौ, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले नेपाली कांग्रेस उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भए पनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा आपत्ति जनाए । 
उनले भने, प्रधानामन्त्री काठमाण्डौमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संशोधन गरिएको छ । यो बिल्कुलै अनुचित छ । यसबाट सूचना र गोपनीयता चुहिएर जाने गम्भीरता पनि रहन्छ ।’
प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउँदै उनले भिडियो कन्फरेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटि नगर्न सरकारको ध्यानाकर्षण गराए ।

मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएकोप्रति पनि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरी मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएको भन्दै कार्यविधिमा भएको संशोधन अविलम्ब संशोधन गरेर पूर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने ‘यदि सम्मानीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने यदि भोलि सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू ?’