आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा रविबिरुद्ध अभियोगपत्र दायर

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा रविबिरुद्ध अभियोगपत्र दायर

चितवन, ८ भदौ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको आरोपमा टिभि प्रस्तोता रवि लामिछानेविरुद्ध अभियोगपत्र दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतबार जिल्ला अदालतमा लामिछानेसहित युवराज कँडेल, नर्स रुकु भनिने अस्मिता कार्कीमाथि अभियोगपत्र दायर गरेको हो ।  

यसअघि चितवन प्रहरीले हिरासतमा रहेका रवि लामिछाने र अर्का पत्रकार युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीमाथि १० दिन अनुसन्धान गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

५–५ दिन गरी १० दिनको म्याद अदालतबाट दुई पटक पाएको र सो अवधिमा प्रहरीबाट भएको अनुसन्धानको सबै विवरण सरकारी वकिल कार्यालयलाई बुझाएको घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का डीएसपी दीपक रेग्मीले बताए । मुलुकी संहिताअनुसार आत्महत्याका लागि दुरुत्साहनको अभियोग पुष्टि भए ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने कानूनी व्यवस्था छ ।

पुडासैनी गत साउन २० मा चितवनको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । उनले रवि र उनको टिमका कारण आफु आत्महत्या गर्न बाध्य भएको सन्देश भिडियोमार्फत दिएका थिए । त्यही भिडियो र अन्य प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।