पुडासैनी आत्महत्यापछि देखिएका पाँच दृश्य र उठेका पाँच प्रश्न 

पुडासैनी आत्महत्यापछि देखिएका पाँच दृश्य र उठेका पाँच प्रश्न 

केशव घिमिरे 

न्यायिक निरुपणको पाटोलाई छाडेर नेपाल प्रहरी यो घटनामा जसरी प्रयोग भयो यसले त्यो संगठनभित्र पनि एक प्रकारको उद्देलनाको विकास भने गरेको छ । तर, यो बीचमा प्रहरीले रणनीतिक रुपमा काम गर्न नसक्दा त्यसको प्रहार भने राज्य संयन्त्र र देशका कहलिएका राजनेता विरुद्ध केन्द्रित भइरहेको छ । लामो संघर्ष, वलिदान र राज्य सञ्चालनका विभिन्न अभ्यासपछि आएको परिवर्तनलाई धुलिसात गर्ने गरी भएका बहस र नारा जुलुसलाई देश सञ्चालन गर्ने दल र राजनेताहरुले हेरेर बस्न वाहेक कुनै रचनात्मक उपायको खोजी गर्न नसक्नु चाहि उदेक लाग्दो बिषय भएको छ । हुन त राजनीतिक दलहरुको इतिहास, उनीहरुले गरेका त्याग, तपस्या र वलिदानको बिषय अहिलेको यो घटनासँग तुलना हुन र गर्न सकिदैन तर राज्य असफलताका यस्तै यस्तै घटनाहरुले सबैलाई रसातलमा पु¥याउँदछ भन्ने चाहि दल र नेताहरुले किन हेक्का गरिरहेका छैनन् । 

 

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई लागेको शालिग्राम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपको अनुसन्धानको अन्त्यतिर आएको छ । आज आइतवार सायद उनको आरोपको निक्र्यौल हुनेछ । अर्थात् उनलाई अदालतको आदेशमा प्रहरीले रिहा गर्ने छ या दोषी करार गरेर जेल पठाउने छ । 


न्यायिक अभ्यासमा लामो समय विताएका न्यायकर्मीहरुको तर्क र सामान्य प्राकृतिक न्यायको सिद्धान्त बुझ्दा उनलाई आरोप प्रमाणित गर्ने आधार पर्याप्त देखिंदैन तर पनि न्यायधीशले त प्रमाणलाई हेरेर आफ्नो फैसला दिने भएकाले रविका पक्षमा दिइएको दलिल कस्तो छ त्यसमा भर पर्नेछ । अदालतले उनको मुद्धामा जेजस्तो फैसला गरे पनि यो बिषयमा अबका केही समय देशमा बहस भने हुने नै छ । 


न्यायिक निरुपणको पाटोलाई छाडेर नेपाल प्रहरी यो घटनामा जसरी प्रयोग भयो यसले त्यो संगठनभित्र पनि एक प्रकारको उद्देलनाको विकास भने गरेको छ । तर, यो बीचमा प्रहरीले रणनीतिक रुपमा काम गर्न नसक्दा त्यसको प्रहार भने राज्य संयन्त्र र देशका कहलिएका राजनेता विरुद्ध केन्द्रित भइरहेको छ । लामो संघर्ष, वलिदान र राज्य सञ्चालनका विभिन्न अभ्यासपछि आएको परिवर्तनलाई धुलिसात गर्ने गरी भएका बहस र नारा जुलुसलाई देश सञ्चालन गर्ने दल र राजनेताहरुले हेरेर बस्न वाहेक कुनै रचनात्मक उपायको खोजी गर्न नसक्नु चाहि उदेक लाग्दो बिषय भएको छ । हुन त राजनीतिक दलहरुको इतिहास, उनीहरुले गरेका त्याग, तपस्या र वलिदानको बिषय अहिलेको यो घटनासँग तुलना हुन र गर्न सकिदैन तर राज्य असफलताका यस्तै यस्तै घटनाहरुले सबैलाई रसातलमा पु¥याउँदछ भन्ने चाहि दल र नेताहरुले किन हेक्का गरिरहेका छैनन् । 


पुडासैनीको आत्महत्या र त्यसपछि विकसित परिस्थिति र सडकमै दल र नेताहरु विरुद्धको नाराजुलुस फगत आरोप र आक्रोसमात्र चाहिं हैन । हिजोका                        राजावादीहरुदेखि अहिले गणतन्त्रमा सहयोगी र सारथी, शुभचिन्तक, शुभेच्छुकहरु सबै विभक्त हुनु पर्ने अवस्थालाई गहन अध्ययन गरिएन र समाजका पछिल्लो मनोविज्ञान बुझिएन भने दलहरुको अस्तित्वमा यस्ता घटनाहरुले अबका दिनमा प्रश्न उठाउन सक्दछन् । भीड र हुलहुज्जतले कुनै कुराको पनि सही निर्णय गर्न नसक्ला तर यो सरकार र दलहरुले गरेको कामबाट निरास भएका जनताको आक्रोश हो भन्ने बुझेर सही काम गर भन्ने सन्देश चाहिं पक्कै  हो ।


रविको घटनामा आज अदालतले गर्ने फैसलाले चितवनका सडकमा देखिएका मान्छेलाई घर घर त फर्काउला तर बहस भने अझै सकिदैन । दश दिन अगाडि रवि पक्राउ परेपछि उठेका निम्न केही प्रश्नको सही उत्तर र देखिएका केही दृश्यहरुको इमान्दारितापूर्वक जबसम्म पटाक्षेप हुँदैन तबसम्म यो घटनाका विषयमा बहस भइरहन्छ र यसले देशको अहिलेको पद्धतिको पनि भण्डाफोर गरिरहन्छ ।


प्रश्न  १ : 


यो घटनापछि अब अहिले भइरहेको जस्तो व्यक्ति केन्द्रित बहस मात्र हुने छैन । अब प्रहरीको अनुसन्धान प्रक्रियाको गोपनियतामाथि उठेको प्रश्न र प्रहरीहरु संगठनको परिचालन पद्धतिसम्मत हुने कि सरोकारविहीन पेशा वाहिरको व्यक्तिको इच्छामा चल्ने भन्ने  बहस पनि हुनु पर्दछ । चितवनका प्रहरीलाई आफ्नो मातहतका हाकिम, प्रहरीको आदेशमा या स्पष्ट कुनै कानूनी आधारलाई टेकेर आत्महत्या निरुत्साहनको मुद्धामा रविलाई पक्राउ गरिएको हो भन्ने प्रश्नको जनताले नै उत्तर थाहा पाइसकेका छन् । पत्रकारितासँग सम्बद्ध एक व्यक्ति जो पत्रकारिताको वदनाम गरेर नियामक निकायमा बसेका छन्, उनको प्रतिशोध साँध्न चितवनको प्रहरी परिचालन भएको हो कि हैन भन्ने कोणबाट अब वहस केन्द्रित हुनु पर्दछ ।


प्रश्न २ :


हिजोदेखि आजसम्म पटकपटक पत्रकारिताको वदनाम गर्नेलाई पत्रकारिताकै नियामक निकायमा संरक्षण गरेर राखिरहदाँ उसले पत्रकारिताका आडमा गरेको अपराध र  पेशाको दुरुपयोगलाई राज्य सञ्चालनको विभिन्न तहमा बसेकाहरुले हेरेर वस्ने कि तुरुन्त अपदस्थ गरेर पत्रकारिता पेशा र राज्य संयन्त्रको दुरुपयोग रोक्ने ? किनकि ती व्यक्तिले यसअघि पनि पटकपटक सो पदको दुरुपयोग गरेर पटकपटक पत्रकारहरुलाई पक्राउ गर्ने काम गरेका छन्, उनका कारणले धेरैले दुःख पाएका छन् । 


प्रश्न ३ :


चेन अफ कमाण्डमा चल्ने सिद्धान्त भएको प्रहरी संगठनको नेतृत्व या राजनीतिक नेतृत्व भन्दा बाहिरको व्यक्तिको मोलाहिजा या ब्लाकमेलिङमा लागेर पर्याप्त आधार प्रमाण बिना पक्राउ गर्ने चितवनका एसपीलाई नसिहत दिने या सरुवा गरेर हेडक्वाटर ल्याउने र त्यो घटनाको निस्पक्ष छानविन गर्न अरु प्रहरीलाई पठाउने कि अझै दानबहादुर मल्ललाई त्यहाँ राखेर राजनीतिक नेतृत्वको हुर्मत लिने या उनीहरुविरुद्ध गालीगलौज या बिषवमन गर्न लगाउने ?


प्रश्न ४ :

सत्ता र शक्तिको दुरुपयोग गरेर श्रीशा हत्याकाण्डलाई जसरी ढाकछोप गरियो जनताले अहिले पनि त्यसलाई मान्यता दिएका छैनन् । चितवनसहित रविका पक्षमा हरेक शहरमा निस्किएको जुलुसमा लाग्ने नारामा श्रीशा आत्महत्याकाण्डको न्यायिक निरुपणको माग गरिरहेका छन् । त्यो बेला सही ढंगले सत्ताको दवावमा न्याय निरुपण गर्न नदिंदा अहिले जनताको अदालतले त्यो काण्डलाई पुन व्युँताएको छ, त्यसैले  शालिग्राम पुडासैनीको आत्महत्या निरुत्साहनमा रवि दोषी हुन भने उनले कानूनले तोकेको सजाय पाउनै पर्दछ । 


कानूनको राजमा कानूनभन्दा माथि कोही पनि जानु हुँदन र जान सकिंदैन । जसरी यो घटनाको न्यायिक निरुपण भइरहेको छ, त्यसैगरी श्रीशाकाण्ड पनि पत्रकारितामा लागेको कलङ्क र एउटा कालो दाग भएकाले त्यो घटनाको पनि न्यायिक निरुपण हुनु पर्छ कि पर्दैन  ?  विधिपूर्वक जवसम्म यो घटनाको निरुपण हुँदैन पत्रकारितामा यो कलंकको साया सधैंभरी छाइ नै रहने छ । यो घटनाका अभियुक्तले अहिलेसम्म दलका नेताको दैलो चाहार्ने र राज्य शक्ति र स्रोतको दुरुपयोग गरेर पत्रकारितालाई वदनाम गराउने काम मात्र गरिरहंदा पनि छुट दिने हो भने विधिको शासनको पालना गराउने ?


प्रश्न ५ :


देशमा भएका विभिन्न परिवर्तनमा सिन्को भाँच्नेसम्मको पनि योगदान नभएको एउटा व्यक्तिले दुई बर्ष टेलिभिजन कार्यक्रम गरेकै भरमा उसका पछाडि यति धेरै मान्छे र तिनले दल र राजनीतिक नेतृत्वहरुलाई पखाली रहँदा ६० बर्षदेखि इतिहास बनाएका नेता र दलहरुले उनीहरुको प्रश्नको जवाफ दिन नसक्नु, उनीहरुको सामना नै गर्न नसक्नु जस्तो निरिहता र लज्जाबोध हुने काम अझै गर्ने ? सडकमा प्रत्येक नेतृत्वको नामै लिएर पखाली रहँदा ती दला नेताहरुले त्यसलाई रोमान्सका रुपमा मात्र लिने कि त्यसको सामना गरेर त्यहाँ उठाइएका प्रश्नहरुको इमान्दारितापूर्वक जवाफ दिने ? 


पाँच दृश्य


दृश्य  १ :

जनताको भावनालाई सम्बोधन मात्र गर्दा पनि जनताको अपार सहयोग हुन्छ भन्ने दृश्य अहिले भइरहेका घटनामा देखिएको छ । रविले जनताका भावनालाई टिभीबाट बोलिदिएका मात्र हुन । मृतक शालिग्रामका केही शब्दलाई सापटी लिएर विश्लेषण गर्ने हो भने जनताका भावनालाई बोल्दा रविले पेशाको दुरुपयोग गरेका छन कि भन्ने देखिए पनि जनताले  असहायहरुका पक्षमा रविले बोलेका गुणका आधारमा समर्थन गरेका हुन ।


दृश्य २ :


सत्ता र शक्तिको आडमा आफ्नो अपराधलाई ढाकछोप गर्न या ओझेलमा पार्ने सकिएला तर जनताले त्यो अपराधलाई विर्सने छैनन् र २० बर्षपछि पनि छाडदैनन् है भन्ने अर्को दृश्य देखिएको छ । श्रीशाकाण्डमा जनताको तहबाट त्यति बेला पनि सडकमा आवाज नउठेको हैन तर जब सत्ताको प्रहार र शक्तिको दुरुपयोग त्यसमाथि भयो तब जनतामा एक प्रकारको विद्रोह आक्रोश थियो जुन अहिले पनि सडकमा पोखिइरहेको छ ।


दृश्य ३ :


रविका केही काम अपरिपक्व छन् र जसले जनतालाई सही बाटोमा लादैन त्यसको आडमा हिजो स्मशानघाटमा पु¥याएकाहरु घाटबाटै टाउको उठाएर हेरिरहेका छन् । उनीहरु रविको आडमा खेल्न पाइन्छ भनेर शहरमा आएर रविका पक्षमा भएका आन्दोलनमा चर्का नारा जुलस गर्दै छन् । उनीहरु स्वतःस्फुर्तरुपमा आएका हुन कि त्यसमा रविको दृश्य अदृश्य रुपमा कुनै सहयोग छ कि छैन ?


दृश्य ४ :


अहिलेसम्म भएका सबै घटनामा सरकार जसरी रक्षात्मक भएको थियो यो घटनामा त्यो भन्दा तल झेरको देखियो । दुई तिहाइ बहुमत भएको सरकार कति दिनसम्म यसरी निरिह हुने र आफ्नै एउटा कर्मचारीका कारणले सिंगो पद्धतिविरुद्धको चुनौतीलाई कति दिनसम्म हेरेर बसिरहने ?


दृश्य ५ :


नयाँ संविधान बनेपछि कैलालीको टीकापुर घटनापछि दोस्रो पटक असंगठितहरुको यत्ति ठूलो भीड सडकमा आएपछि दल, नेता र कर्मचारीतन्त्रसँग जनता खुशी छन् कि छैनन् भन्ने प्रत्यक्ष उदाहरणका रुपमा यो आन्दोलन र घटनालाई लिनु पर्दछ । यदि हामी सामाजिक न्यायका आधारमा काम गर्ने चाहना राख्दछौ भने अहिलेसम्म जनताले समयमा न्याय नपाएको, भ्रष्टाचार र व्यभिचार बढ्दा पनि सुधार नभएको प्रतिरोध हो यो घटना ।


 यी सबै घटनाका पछाडि सरकारका काम कारवाहीप्रति जनता निराश छन् भन्ने नै हो । सरकार चलाउने यति ठूलो पार्टी र दुई तिहाइको सरकारको यो हालत हुने हो भने अब कसले थाम्ला र यो देशलाई !