रविलाई भेट्न हिरासतमै किन पुगे सर्वेन्द्र खनाल ? 

 रविलाई भेट्न हिरासतमै किन पुगे सर्वेन्द्र खनाल ? 

भदौ ६, काठमाडौं ।  पत्रकार शालिकराम पुडाशैनी हत्या प्रकरणमा चितवन प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले शुक्रबार भेटघाट गरेका छन् ।

अदालतले म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएका घटनाका आरोपित व्यक्ति रवि लामिछानेलाई आइजीपी खनालले भेट गर्नुलाई आशंकाको रुपमा हेर्न थालिएको छ । यसअघि पनि कञ्चनपुर जिल्लाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्धा अझै पनि अनुसन्धान हुन नसक्नुमा प्रहरी अधिकारीहरुको हात रहेको आरोप लागिरहेको सन्दर्भमा प्रहरीको कडा सुरक्षामा रहेका प्रहरीले बनाएका अभियुक्तलाई प्रहरीका प्रमुख नै भेटघाटका लागि जानुलाई निकै अर्थपूर्ण र आशंकाका रुपमा हेर्न थालिएको छ ।

रुपन्देहीमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आकस्मिक रुपमा चितवन प्रहरी कार्यालयमा पुगेर आईजीपी खनालले प्रहरी कार्यालय तथा हिरासत कक्षको समेत अनुगमन गरेका थिए । अनुगमनका क्रममा शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि थुनामा राखिएका रवि लामिछानेलाई उनले भेट गरेका थिए ।

शालिकरामको आत्महत्या प्रकरणमा रविलाई अनुसन्धान गर्नु स्वाभाविक हो । तर, रविलाई पक्राउ गर्दा समाचार कक्षमा गएर प्रहरीले हठात गिरफ्तार गरिनु, प्रहरीको हातमा रहेको भिडियो वाहिर आउनुले केही जटिलता उत्पन्न भएको हो । यसलाई सामान्यीकरण गर्न आईजीपीले भेटेका हुन भने पनि त्यसले राम्रो गर्दैन । प्रहरीको अनुसन्धान प्रक्रियाको निस्पक्षता, जसका बारेमा आम जनतामा आशंका भइरहेको छ, त्यसलाई व्यावहारिक रुपमा खण्डन गर्नु जरुरी छ । चितवन प्रहरी प्रमुख र आईजीपीको समेत यो प्रक्रियामा भएका केही त्रुटीले पार्टी अध्यक्ष प्रचण्डसहित नेतालाई अनावश्यक विवादमा प्रतिगामी शक्तिले जवर्जस्त तान्न खोजेका छन् ।  
  
पक्राउको प्रक्रियामा त्रुटी नै किन नहोस, हिरासतमा राखेर छानविन कार्य भइरहेका व्यक्ति रविलाई आईजीपी खनालले भेट्नुलाई निष्पक्ष अनुसन्धानमाथि नै चुनौती थपिएको भन्दै एकथरिबाट आलोचना हुन थालेको छ । यस्तो प्रथाको सुरुआत हुनुलाई अनुसन्धानमा प्रभावित पार्नका लागि कसरत गरिएको रुपमा हेरिएको एक अनुसन्धानविद्ले झिल्कोलाई बताए । उनका अनुसार देशको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै धावा बोल्दै, संविधान, प्रधानमन्त्री र सरकारप्रति उत्रिएका केही तत्व, भीड र राजावादी हरुलाई यस कार्यले टेवा पुग्ने भन्दै उनले प्रहरी संगठनका केही अधिकारीहरुको यस्तै प्रकृतिको गलत अभ्यासले गर्दा निर्मला हत्या प्रकरणका दोषी पत्ता लाग्न नसकेको जिकिर गरे । 

उनका अनुसार हिरासतमा रहेका व्यक्तिलाई कुनै पनि मन्त्री, तथा सार्वजनिक पद धारण गरेका अधिकारीहरुले भेट गर्दा उक्त अनुसन्धान फितलो हुने, अनुसन्धानले पूूर्णता नपाउने र घटनाका दोषीहरु पत्ता नलाग्ने र पत्ता लागे पनि कार्वाही गर्न हिच्किचाउने अवस्था हुन्छ ।

रविलाई भेटेर खनालले ‘कानुनसम्मत तरिकाले मानवअधिकार मैत्री न्याय हुन्छ, नेपाल प्रहरी कुनै पनि कुरामा आग्रह र पूर्वाग्रह नभएर आफ्नो कर्तव्य पालनामा प्रतिबद्ध छ’ भन्ने अभिव्यक्ति दिएको भएता पनि उनकै पहलमा पक्राउ गरी अनुसन्धानमा रहेका एक आरोपित ब्यक्तिलाई हिरासतमै गएर भेटघाट गर्ने उनको कार्य आफैमा विवादास्पद हो । उनले यसो गरेर नेता वा सरकारको दवावमा मात्र समातेको हो, मेरो चाहना गिरफ्तार गर्ने चहाना होइन भनेर पानीमाथिको ओभानो बन्ने कच्चा खेल गरे उनले । 
 
यसअघि रवि लामिछानेले आफू प्रहरी हिरासतमै असुरक्षित भएको बताएका थिए । प्रहरीबाट अभियुक्त भएको व्यक्तिले प्रहरी हिरासतमै किन असुरक्षित महशुस गर्छ ? यो प्रहरी संगठनको काम गराइप्रति र उसले दिने पाले पहराप्रति नै आशंका र छानविन हुनु पर्ने विषय होइन र ? प्रहरीको हातमा रहेको भिडियो बजारमा आउनुले प्रहरीको विश्वसनीयतामा आशंका थपेको छ । आफ्नो कार्यशैली, मातहतका अधिकारीको गल्ती सच्याउने भन्दा प्रहरी प्रमुखले रविसँग साखुल्ले बन्न जाने कुराले राम्रो गरेको छैन । 

रविलाई समाचार कक्षमा गएर गिरफ्तार गर्न कसले आदेश दियो भन्ने कुराको जवाफ आईजीपीले दिनैपर्छ । उनको कतिपय दोहोरो कार्यशैली र व्यवहारले सिङ्गो सरकारलाई नकारात्मक असर गरिरहेको छ ।   

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा नाम जोडिएपछि साउन ३० गते न्युज २४ टिभीका प्रस्तोता रवि लामिछाने र युवराज कँडेल तथा एक युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई दुई पटक गरेर १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।