चोरीमा संलग्न दुईजना पक्राउ

चोरीमा संलग्न दुईजना पक्राउ

चाँगुनारायण नगरपालिका–८ रानीवारीस्थित सुमन खत्रीको घरबाट सुनका गरगहना र नगद चोरी गरी फरार भएका दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

प्रहरीले चोरीका सामानसहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २३ वर्षीय दीपक गिरी र चाँगुनारायण नगरपालिका–६ का २४ वर्षीय बुद्ध तामाङलाई पक्राऊ गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट साढे चार तोला सुनका गहना, पाँच थान मोबाइल, एक थान घडीलगायतका सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। प्रहरीले दुबै जनालाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान थालेको छ ।