युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला आयो: मन्त्री बास्कोटा

युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला आयो: मन्त्री बास्कोटा

काठमाण्डौ, ६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला आएको बताएका छन् ।  बिहीबार मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले युट्यूब च्यानलमा उत्तेजना फैलाउने र अप्रिय घटना निम्त्याउने किसिमका सामग्री प्रसारण भइरहेको तिनलाई व्यवस्थित गर्नुपर्ने बताएका हुन् । 

‘के मिडिया हो ? के सामाजिक सञ्जाल हो ? हामीले बहस थालेका छौँ । दुवैलाई एउटै डालोमा हाल्नु हुँदैन, अनुसन्धानलाई प्रभावित तुल्याउने हिसाबले जुनखालको सामग्री युट्यूबमा आइराछ, यसले समाजलाई दिगभ्रमित पारेको छ, विभिन्न घटनालाई बङ्ग्याउने र प्रहरी प्रशासनलाई राम्ररी अनुसन्धान गर्न पनि नदिने यस्तै कुरालाई व्यवस्थित गर्न सूचना प्रविधि ऐन, ल्याइएको जुन संसदीय समितिमा छलफलको क्रममा छ’ उनले भने ।

सञ्चारमन्त्री बाँस्कोटाले नेपाली प्रेस आफ्नै सुनिश्चित र सुरक्षित जिम्मेवार, मर्यादित तथा भविष्यका निम्ति सबैभन्दा जिम्मेवार बनोस् भन्ने उद्देश्यले आमसञ्चार ऐन र सूचना प्रविधि ऐन फरकरुपमा ल्याएको तर यसलाई सञ्चार जगत्ले नै अपव्याख्या गरिरहेको बताए ।

मन्त्री बास्कोटाले प्रधानमन्त्रीको स्वास्थ्याबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेको सन्दर्भमा प्रधानमन्त्री नियमित परीक्षण र नयाँ औषधि चलाइएकाले त्यसलाई कसरी मजबुत बनाउने भन्नेबारे सिङ्गापुर प्रस्थान गरेको बताए ।