सत्तापक्षमा बाबुराम : नीतिमा स्पष्ट नहुँदा यसरी बन्दैछन् ‘कुहिरोको काग’ 

सत्तापक्षमा बाबुराम : नीतिमा स्पष्ट नहुँदा यसरी बन्दैछन् ‘कुहिरोको काग’ 

काठमाडौं, ६ भदौ । नयाँ शक्ति पार्टी नेपालको संयोजक छउँन्जेल सत्ता प्रतिपक्षी थिए पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई । संविधानको धारा उही, देशको प्रधानमन्त्री र सरकार उही तर बाबुराम भट्टराईको बोली, सरकारप्रति हेर्ने दृष्टिकोण र व्यबहार भने छिटो छिटो किन परिवर्तन ? यो जिज्ञाशा यतिबेला भट्टराईको राजनीतिप्रति चासो राख्ने आम सर्वसाधारणमा उब्जिन थालेको छ । 

कुनै पनि पार्टीमा दर्बिलो भएर स्थिरसँग टिक्न नसक्ने बाबुरामका एजेण्डा तब फेरिए जब उनले एकताको नाममा नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीमा लगेर बुझाए । 

२०७६ सालमा सत्तारुढ नेकपासँग दुई बुँदे सहमति गरेर सरकारमा गएका उपेन्द्र यादवले संविधान पुनर्लेखन गर्ने माग राख्दै ‘व्ल्याक आउट’ समेत गरेका थिए ।

एकातिर संविधान पुनर्लेखनको एजेन्डा र अर्कातिर आन्दोलनको धम्की दिँदै सत्ताको कुर्सीमा उपप्रधान तथा स्वास्थ्य मन्त्रालय सम्हालेका उपेन्द्र यादवसँग एकता गरेका बाबुराम भट्टराई पनि यतिबेला सत्तापक्ष बनिसकेका छन् । तर उनका माग भने उस्तै छन्, फेरिएका छैनन् ।

भारतीय विदेश मन्त्री सुव्रमण्यम (एस) जयशंकर नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन दुई दिन अघि नेपाल आएका बेला उनी बसेकै होटलमा हैसियत (प्रोटोकल) को ख्यालै नगरी भेट गर्ने कार्य पनि निकै आलोचित भएको छ । उक्त भेटमा समाजवादीका अध्यक्ष तथा मन्त्री उपेन्द्र यादव र बाबुराम भट्टराई दुबै सँग गएका थिए ।

जय शंकरसँगको भेटबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भट्टराई, यादव र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेस गरेको उल्लेख गरेका छन् । 

कमल थापालाई प्रतिउत्तर दिँदै बाबुरामले शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्न नहुने पाठ सिकाउँदै सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै आफूहरु छिमेकीसँग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा भएको जनाएका छन् ।  

बाबुराम र उनको वर्तमान पार्टीको दोहोरो रबैयाले गर्दा उनीहरुको सत्ताप्रतिको मोह कति छ भन्ने कुरा जनताले प्रस्टसँग बुझने मौका पाएका छन् भने संविधान संशोधन तथा पुर्नेलेखनलाई एउटा ‘मागी खाने कचौरा’का रुपमा प्रयोग गरिरहेको भान हुन्छ ।

यता 'समाजवादी पार्टीमा संविधान संशोधनको दवाव दिइरहेको छौ' भन्दै बाबुराम र उपेन्द्र जनताको आँखामा छारो हाल्दै छन् भने उता सदनमा पनि सत्तापक्षकै कुर्सीमा बाबुराम बस्न थालेपछि केही बँचेखुचेका पूर्व नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरु धमाधम पुरानै घर अर्थात, नेकपातर्फ फर्किदै गएका छन् । 

भट्टराई–यादवहरु पार्टीको नीतिमा स्पष्ट नहनु र राजनीतिभित्रको कुहिरोमा काग हराए जसैगरी हराउनु बिडाम्बनापूर्ण स्थितिका रुपमा लिन सकिन्छ ।