रवि, निराशा र नेतृत्व 

रवि, निराशा र नेतृत्व 

शालिकराम आत्महत्याको भिडियो प्रकरण सार्वजनिक जसरी भयो, त्यसलाई सन्देहास्पद मानिएको छ । यसबारे नेपाल प्रहरीको जिम्मेवार निकाय र सम्बन्धित पक्षले बेलैमा प्रष्ट पार्नु पर्छ । प्रहरीले नै रविका विरुद्ध सुनियोजित प्रचारका लागि भिडियोको दुरुपयोग गरेको आशंका भएकाले यसबारेमा सार्वजनिक रुपमा स्पष्ट पार्नुपर्छ ।

 

पत्रकार शालिकराम पुडासैनी प्रकरणसँगै अनुसन्धानका लागि पक्राउ परेका अर्का पत्रकार रवि लामिछाने यतिबेला चर्चामा छन् । पुडासैनीको आत्महत्या प्रकरणबारे अनुसन्धानका लागि पक्राउ गरिए पनि रवि निर्दोष भएको भन्दै समर्थकले विभिन्न माध्यममार्फत् विरोध गरिरहेका छन् ।

यतिबेला सामाजिक सञ्जाल खासगरी ‘युट्युब’ रविको समर्थनमा प्रभावकारी ढङ्गले प्रयोग भएको छ । शालिकराम प्रकरणमा उनको कुनै भूमिका नभएको भन्दै सरकार, पत्रकार, राजनीतिक दल विशेषतः नेताहरुप्रति असन्तुष्टिपूर्ण आक्रोश व्यापक पोखिएका छन् ।

नेपालमा भएका राजनीतिक र सामाजिक परिवर्तनमा रवि लामिछानेले खासै योगदान दिएका होइनन् । जतिबेला राजनीतिक र सामाजिक परिवर्तनका आन्दोलन चलेका थिए, व्यक्तिगत जीवन सहज बनाउन रवि अमेरिका गएका थिए । केही वर्ष मात्र भयो रवि नेपाल आएको र एउटा टेलिभिजन कार्यक्रम सञ्चालन गरेको । तर, यतिबेला रविले नै देश जोगाएको जसरी उनको समर्थनमा सामाजिक सञ्जाल भरिएका छन् । चियाचौतारी होस् या भट्टी जहाँ पनि चर्चा रविकै छ ।

कुनै घटनामा कसैको संलग्नताबारे आशंका भएमा राज्य संयन्त्रले त्यसबारे अनुसन्धान गर्न पाउँछ– यो सार्वभौम मान्यता हो । तर, समाचार कक्षमा नै गएर जसरी गिरफ्तार गरियो त्यसले भने राम्रो सन्देश दिएको छैन । शालिकराम पुडासैनी प्रकरणमा रवि लामिछानेलाई पीडित परिवारका तर्फबाट पक्राउपछि किटानी जाहेरी दिइएको छ । किटानी जाहेरी परिसकेपछि जोकोहीमाथि अनुसन्धान नाजायज छैन । घटनामा रविको संलग्नता पुष्टि भइसकेको अवस्था होइन । त्यसका लागि  अनुसन्धानको परिणाम पर्खनुको विकल्प पनि छैन ।
 
रविलाई अनुसन्धान गर्नै हुँदैन थियो भन्ने कुरा भने सही होइन । रवि कानुन भन्दा माथि होइनन् । उनी पनि पहिला नागरिक हुन । अनि पत्रकार हुन । पत्रकारिता क्षेत्रमा काम गर्दा उनले कतिपय पीडितको उद्धार गरेर स्यावासी पाएका पनि छन् । 

 मुलुकमा भएका यति ठूला राजनीतिक–सामाजिक परिवर्तनका लागि जीवनको बाजी लगाएर लडेका राजनीतिक नेतृत्वलाई निकम्मा देखाउने र रविलाई केही सकारात्मक कामलाई उदाहरण दिएर उनीहरुभन्दा सक्षम र ‘हिरो’ बनाउने जबर्जस्त प्रयास गरिएको मात्र छैन, रविलाई देवता र कतिपय शीर्ष नेतृत्वलाई दानव जसरी प्रस्तुत गरिएको छ । मानिसहरु यस्तै हल्लाको पछाडि दौडिरहेका छन् । नेताहरुप्रति जनस्तरमा विश्वास गुम्दै गएको यो संकेत हो । 

जनस्तरबाट व्यक्त यस्ता मतलाई बेलैमा सम्बोधन गर्ने प्रयत्न गरिएन भने परिवर्तन मात्र होइन, मुलुक नै राजनीतिक दुर्घटनातिर नधकेलिएला भन्न सकिंदैन ।

नेपालमा घाघडान पत्रकारहरु छन् । आदर्श जीवन बाँचेका पत्रकार, सामाजिक अभियन्ता र नेताहरु पनि छन् । परिवर्तनका लागि जेलनेल र अनेकौं यातना भोगेका पात्रहरु यतिबेला प्रधानमन्त्रीदेखि सडक, अरबका खाडी र मलेसियामा पनि प्रशस्त भेटिन्छन् । तर, मानिसहरुले उनीहरुप्रति विश्वास र भरोशा गुमाएका हुन् कि भन्ने रवि लामिछाने प्रकरणले देखाएको छ ।

रवि लामिछानेले पत्रकारितामार्फत् ब्लाकमेलिङ गरेको भन्ने झिनो आवाज पनि सुनिएको छ । राज्यको कानुनले अवैध मानेको कर्म जोसुकैले गरेको भए पनि त्यो अनुसन्धानको दायरामा आउनुपर्छ । रवि पनि यसको अपवाद रहन सक्तैनन् । तर, छोटो समयमा टेलिभिजन पत्रकारितामार्फत् उनले जनतालाई अनुभूति हुनेगरी सकारात्मक योगदान गरेका रहेछन् भन्ने पनि त विर्सनु भएन । जीवन नै बाजी लगाएर लडेका नेतासँग उनको तुलना हुनु भनेको मात्रै पनि व्यक्तिका हिसावले रविको पक्षमा काँटा भारी हुनु होइन र ?

रवि प्रकरणले केही विषयलाई स्पष्ट संकेत गरेका छन् । नेपालीलाई धेरै ठूलो केही गरिदिनु पर्नेरहेनछ, अनुभूति हुने गरी साना केही काम गरिदिए हुने रहेछ । मानिसहरु भन्छन्, राज्यले न्याय दिन नसकेकालाई रविले न्याय दियो । हुनसक्छ, परिवर्तनलाई आत्मसात् गर्न नसकेकाहरुले रवि–प्रकरणलाई उछाले होलान् । तर रविले जति राज्य र नेताले पनि गर्न नसकेको मूल्याङ्कन जनस्तरमा देखियो । यसलाई राजनीतिक नेतृत्वले मुखले भनेर होइन, व्यवहारबाटै पुष्टि गर्न सक्नुपर्छ ।

राजनीतिक नेतृत्व र राज्यप्रति मानिस निराश भएपछि त्यो अविश्वासमा परिणत हुन्छ र मानिस कुनै न कुनै विकल्पको खोजीमा लाग्छ । निराशा र अविश्वासले उकुसमुकुस बनाइरहेका बेला सानो निहुँ पनि ठूलो विषय बन्न सक्छ । नेपालमा पञ्चायतका विरुद्ध त्यस्तै अविश्वास र निराशा रहेका बेला पाकिस्तानका तत्कालीन नेता जुल्फीकरअलि भुट्टोलाई फाँसी दिइएको विषय पञ्चायतविरोधी आन्दोनका लागि निहुँ बनेको थियो । 

ऋतिक रोशनलगायत यस्ता प्रकरण धेरै छन् । यतिबेला मानिसहरुमा प्रहरी प्रशासन, न्यायालय, राजनीतिक नेतृत्वप्रति भरोशा गुम्दै गएको संकेत रवि लामिछाने प्रकरणले देखाएको छ ।

राजनीतिक परिवर्तनले आफ्नो सामाजिक–आर्थिक जीवनमा सकारात्मक प्रभाव  दिएको अनुभूति नभएपछि मानिसले विकल्प खोजेका छन् । यो सत्य हो कि रवि लामिछाने त्यसको विकल्प हुनै सक्तैनन् । जनताले दिएको यो संकेतलाई राजनीतिक नेतृत्वले बेलैमा नबुझ्ने हो भने वर्तमान नेतृत्व र परिवर्तनमात्र होइन, देशकै भविष्य अनिश्चित छ । 

मानवीय हिसावले हेर्दा पनि यो प्रकरण दर्दनाक छ । आत्महत्या गरेका शालिकराम पुडासैनीले आफ्नो जीवन गुमाए । उनकी श्रीमतीको हालत के होला ? बुबाआमा र परिवारको अवस्था कस्तो होला ? यो प्रकरणसँगै जोडिएर एकजना महिलाको पनि नाम आएको छ । उनीप्रति हाम्रो समाजले कस्तो व्यवहार गर्ला ? उनको भविष्य के होला ? आत्महत्या कुनै पनि मूल्यमा जीवनका समस्याको समाधान होइन । शालिकराम आफू मरेर गए तर एउटा थेगिनसक्नुको भारी समाजलाई बोकाएर गए ।

रविका समर्थकले पनि प्रहरीको अनुसन्धान रविलाई फसाउनका लागि नहोस् भनेर नारा लगाउनु नाजायज नहोला । देशमा यति ठूलो परिवर्तन नभएको भए रवि पनि पक्कै अमेरिका छाडेर टेलिभिजन पत्रकारिता गर्न नेपाल आउने थिएनन् । रविको समर्थनका नाममा नेताको उछित्तो काढेर रविको चरित्र निर्माण हुन सक्तैन । शालिकराम पुडासैनी प्रकरणमा जोसुकैले प्रोत्साहन गरेको भए पनि  वा कसैले उनको नियोजित हत्या गरेको भए पनि त्यो पत्ता लगाउनतिर सबै दवाब दिनु उचित होला । अनुसन्धानका क्रममा रवि नभएर नसोचेका पात्रको संलग्नता पनि हुन सक्छ । रविलाई झुट्टा आरोपमा नफसाइयोस् भन्नु नाजायज होइन । 

शालिकराम आत्महत्याको भिडियो प्रकरण सार्वजनिक जसरी भयो, त्यसलाई सन्देहास्पद मानिएको छ । यसबारे नेपाल प्रहरीको जिम्मेवार निकाय र सम्बन्धित पक्षले बेलैमा प्रष्ट पार्नु पर्छ । प्रहरीले नै रविका विरुद्ध सुनियोजित प्रचारका लागि भिडियोको दुरुपयोग गरेको आशंका भएकाले यसबारेमा सार्वजनिक रुपमा स्पष्ट पार्नुपर्छ । आत्महत्या गरेको ठाउँबाट प्रहरीले बरामद गरेकोे मोबाइलबाट भिडियो सम्पादन गरेर वाहिर ल्याइयो भनेर भनिरहेको बेलामा प्रहरीले स्पष्ट पार्न नसक्दा सिङ्गो प्रहरी संगठन नै विवादमा फस्दै जाने सम्भावना छ ।  

भदौ ५, २०७६ साल