नागरिक पत्रकारिताको अर्थ

नागरिक पत्रकारिताको अर्थ

भवानी बराल

सम्पादकलाई चिट्ठी÷पत्र, पाठक प्रतिक्रिया, प्रश्नोत्तर आदिबाट संस्थागत भएको नागरिक पत्रकारिता सूचना प्रविधको विकासले धरातलमा ल्याइ दिएको छ । पत्रकार र पत्रकारिताको परिभाषा पनि सूचना प्रविधिको विकाससंगै बदलिएको रुप आकारमा छ । आजको युगमा कसले पत्रकारिता गर्दैन र को पत्रकार हैन भन्ने विषयको बहस पनि बाँकी रहेन । सूचना प्रविधिको उपयोग गरेर सूचना प्रभाह गर्ने हरेक मानिस पत्रकार हो र उसले गर्ने कर्म पत्रकारिता । फरक यतिमात्र हो लाइसेन्ससहीतका पत्रकार र लाइसेन्स विनाका पत्रकार । बर्दीसहीतका प्रहरी र बर्दी बेगरका प्रहरी भने जस्तै ।

नागरिक पत्रकारिता :

अंग्रेजी सिटीजन र सिभिक दूइ शब्दको समान अर्थ नागरिक, नगरवासी र नागरिकता हुन्छ । तर पत्रकारितामा यि दूइ शब्द कामको प्रकृतिले फरक अर्थ राख्छन् । सिटीजन जर्नलिजम र सिभक जर्नलिजम दूइ अलग पात्रद्वारा गरिने अलग प्रकृतिको पत्रकारिता हो । कुनै नागरिकले आफुलाइलागेको विचार अनुसारको समाचार पस्किने, सार्वजनिक गर्ने कामलाइ नागरिक पत्रकारिता भनिन्छ । पत्रकारले नागरिकका समाचार बनाएर प्रेषित प्रकाशन, प्रशारण गर्नुलाई सिभिक जर्नलिजम वा पत्रकारिता भनिन्छ । कुनै पत्रकारले नागरिकको कुनै महत्वपूर्ण मुद्धालाई जनमत निर्माण गर्ने हदसम्मको पत्रकारिता गर्नु यसको उद्वेश्य हो । यसको ठीक विपरित नागरिकले आफ्नो मागमुद्धा आफै उठाउनु नागरिक पत्रकारिता हो ।

कुनै समय थियो नागरिकसंग आफ्नो माध्यम हुँदैन थियो । सम्पादकलाई पत्र आदि लेखेर, पाठक प्रतिक्रिया विचार राखेर सम्प्रेषण गर्दथे । तर यतिखेर नागरिकको हातहातमा माध्यम भयो । नयाँ प्रविधिले यस्तो माध्यम जुराइ दिएको छ । सामाजिक सञ्जाल यस्तै माध्यम माध्यम हो । एकैपटक यति ठूलो र विशाल माध्यम नागरिकको पहुँचमा मा आइपुगेको छ । जसको उपयोग गरेर संसारभर नागरिकले आफ्नो कुरा पुर्याउन सक्ने भयो ।  

परम्परागत नागरिक पत्रकारिता:

हुनतः सञ्चामाध्यमको विकास भएपछि या छापामाध्यमको उदयसंगै नागरिक पत्रकारिता आएको होइन । यसको लामो परम्परा छ । ढुंगा, काठमा लेखेर, कुँदेर सार्वजनिक ठाउँ, चौतारा, देउराली, फलैचा, मठ, मन्दिरमा सदियौं अघिदेखि यस्तो पत्रकारिता हुँदै आएको हो ।

पट्याँस पत्रकारिता:

केही दशक अगाडि नेपालका गाउँघरमा पट्याँस पत्रकारिता थियो । बाँसको खपेटामा सूचना, समाचार लेखेर सार्वननिक ठाउँ, बाटोघाटो, फँलैचा, चौतारोमा झुण्डाइन्थ्यो । त्यो हेरेर बटुवाले गाउँका खबर थाहा पाउँथे । यस्था खबरहरुमा कुनै आग्रह, एजेण्डा हुँदैन थियो । कुनै आग्रह एजेण्डा नहुनु पनि नागरिक पत्रकारिताको विशेषता हो । बाँसको खपेटामा तितेपातिको मसीमा बाँसको कलमले लेखेर समाचार सम्प्रेषण गर्ने कामलाई नागरिक पत्रकारिता भन्न सकिन्छ । अर्थात नागरिक पत्रकारिता प्रांगारिक (अग्र्यानिक) पत्रकारिता पनि हो । भोजपत्र, शिलालेख आदि धेरैमा नागरिक पत्रकारिताको विशेषता भल्किन्छ  ।

छापा माध्यमको विकास, पहुँच र वितरण सहज भएपछि पत्रिकाले सम्पादकलाइ छिठ्ठी÷पत्र, पाठक प्रतिक्रिया, टिप्पणी, पाठकको कलम अनेक नाममा स्थान दिए । अहिलेसम्म पनि यस्तो स्तम्भको निरन्तरता देखिन्छ । पट्याँस पत्रकारिता चैं नागरिक पत्रकारिताको स्वतःस्फुर्त रुप हो । 

लोकतन्त्रमा नागरिक:

लोकतन्त्रमा नागरिक हुनु जटिल काम हो । राजनैतिक दलले शुद्ध नागरिकलाई अशुद्ध बनाउने चाल चल्छन् । लोकतान्त्रिक व्यवस्थामा नागरिक समाजको तेजोवध गरिन्छ । विभिन्न पेशागत, वर्गीय संगठनमार्फत आफु अनुकुल नागरिकमा वर्चस्व कायम गर्छन । नागरिक फोकटका मान्छे जस्तो प्रस्तुत गरिन्छ । त्यस्तो नागरिक समाजको अस्तित्व जोगाउन आधुनिक सूचना प्रविधिले नागरिक पत्रकारितामार्फत नागरिकका मागमुद्धाललाइ उठाउन मञ्च तयार गरिदिएको छ ।

नागरिकले चुनावको एक दिन मतपत्रको माध्यमबाट सार्वभौमसत्ता नासोको रुपमा प्रतिनिधिलाइ सुम्पिन्छन् । राजनैतिक दलको अभीष्ट चुनावदेखि चुनावसम्म जानेमात्र हुन्छ । यस्तो बेलामा नागरिकका मुद्धा नागरिक पत्रकारिताले उठाउँछन र शासकलाई दवावमा राख्न सक्ने जनमत तयार गर्न सक्छन ।

मिडियाको विश्वसनियता:

परम्परागत मिडियाको विश्वसनियतामा प्रश्नैप्रश्न लागेको छ । मिडियाको बचेखुचेको विश्वसनियता नागरिक पत्रकारिताको माध्यमबाट जोगिएको हो । सूचना प्रविधिको विकासले नागरिक पत्रकारिता गर्न सहज भएकोले मुलधारका भनिएका मिडिया पनि विश्वसनियता कायम गर्न केही हदसम्म लागेका छन् । नत्र आजको मिडिया पनि सूचना विचार साम्राज्य नागरिकमा थोपर्ने औजार बनिसकेको हुन्थ्यो, भलै उनीहरुले अहिले पनि दृष्टिकोण विचार थोपर्ने कामलाई निरन्तरता दिएकै छन । यस्तो दुस्साहस छोडेका छैनन् । नागरिक पत्रकारिताको विकासले यस्तो दुस्साहसलाई भविष्यमा निरुत्साहित गर्न सक्छ ।

बैकल्पिक मञ्च:

नागरिक पत्रकारिता राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका जतिपनि विषयको बहस गर्ने एउटा बैकल्पिक मञ्च हो । सूचनाको अधिकार प्राप्त गर्ने आम जनताको लागि यो ठूलो हतियार बनेको छ । कुनै व्यय र विलम्ब बेगर आमजनमा सूचना आदानप्रदान गर्न वेभ पत्रकारिताले नागरिक पत्रकारितामा सहयोग पु¥याएको छ । कुनैपनि मुद्धामा राय, सुझाव दिने अधिकारलाई नागरिक पत्रकारिताले बैकल्पिक मञ्चको काम गरेको छ । लोकहितको काम गर्न आम जनतालाई सुसुछित बनाउन सक्षम बनाएको छ । परम्परागत मिडियाको लागि यस्तो पत्रकारिता सूचनाको स्रोत बनेको छ । फेस बुक, टिवटर, ब्लगमार्फत आएका सूचना परम्परागत मिडियाका भरपर्दो स्रोत बनेको छ ।