माधव नेपाल किनारामा : नारायणकाजी अलपत्र

 माधव नेपाल किनारामा : नारायणकाजी अलपत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्य विभाजन टुङ्गिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमको समिकरण भएपछि माधव नेपाल किनारामा परेका छन् । यता नारायणकाजी श्रेष्ठ स्कूल विभागको चाकाचुलीमा परेर नराम्रोसँग पछारिएका छन् ।

यसअघि नारायणकाजीले आफ्नै निवासमा सचिवालयका पाँच जनालाइ एकै ठाउँमा ल्याएर आफ्नो हितानुकूल रणनीति बनाएका थिए । उनले त्यो बैठकमा ल्याएको रणनीतिबाट झस्किएका ओलीले अन्ततः ईश्वर पोखरेल र वामदेवलाई आफूतर्फ ताने, झलनाथको गुनासो सम्बोधन गरेर तेश्रो वरियतामा उनलाई मिलाए ।

साविक एमालेको कोठे बैठकको भाँडभैलोबाट तरङ्गित के पी ओलीले गौतम, पोखरेल र खनाललाई आफ्नो पक्षमा पारे । यता प्रचण्डलाई आगामी दिनमा पार्टीको कार्यवाहक हैसियत (बैठकको अध्यक्षता आदि गर्ने) दिने गरी पाँच वर्ष नै प्रधानमन्त्री हुने राजमार्गको ढोका पनि खोलेका छन् । दुई पार्टी अध्यक्षबीचको ठोस कार्यविभाजन आगामी वैठकमा हुनेछ । 

यसअघि पूर्व एमालेका निर्वाचित उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा ल्याउने नेपालको तयारी पनि तुहिएको छ । ओलीले पूर्व एमालेका आफ्ना विपक्षमा रहेकाहरुलाई सचिवालयमा जमघट हुन नदिन गौतम र खनालको असन्तुस्टि सम्वोधन गरेर निस्तेज बनाइ दिएका हुन् । पूर्व एमालेमा उप–महासचिवमा रहेका विस्णु पौडेललाई एकीकृत पार्टीको सचिवालय सदस्य बनाउने तर त्यो भन्दा माथिल्लो पद उपाध्यक्षमा निर्वाचित रावल, शाक्य र ज्ञवालीलाई सचिवालयबाट वाहिर राखिएको छ । उनीहरुलाई विस्णु पौडेलभन्दा तल्लो वरियतामा झारिएको छ । 

यो पदीय कार्य विभाजनमा खनालले त वरियताको वर्को मात्र पाएका छन् तर, सँगै असन्तुष्ट बनेका गौतमले संगठन विभाग, किसान संगठनसहित एकीकृत पार्टीको उपाध्यक्षको बम्पर उपहार पाएका छन् । यसैबीच कार्यविभाजनका कतिपय विषयमा माधव नेपालले फरक मत लेखेका छन् । प्रचण्डलाई एकल अध्यक्ष पद दिनुपर्छ भनेर अहिले प्रस्ताव गरेर मैदानमा माधव नेपाल बलियो बन्ने खेल कायम गर्ने प्रयास गरेका छन् । उनको यो खेलले भविष्यमा राजनीति कसरी जाला त्यो अहिले नै भन्न हतारो हुनेछ । समयबद्ध साप्ताहिकबाट