प्रदेश २ मा जनअपेक्षा अनुरुप काम हुन सकेको छैन : अध्यक्ष प्रचण्ड

प्रदेश २ मा जनअपेक्षा अनुरुप काम हुन सकेको छैन : अध्यक्ष प्रचण्ड

जनकपुर, २ भदौ । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ मा जनअपेक्षा अनुरुपमा काम हुन नसकेको टिप्पणी गरेका छन् ।
 
धनुषाको बरमझियामा आज आयोजित सहिद रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने –‘प्रदेश २ मा ‘सुशासन कायम भएको छैन, विकासले गति लिएको छैन, भ्रष्टाचार दिनानुदिन बढेको छ, तलसम्म सुशासन छैन्, सुशासन कायम हुन सकेको छैन् ।’ जनताले न्याय भन्दा पनि झन दुःख पाइरहेको सुनिएको छ, प्रचण्डको भनाइ थियो । 

प्रदेश २ सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै उनले नागरिकलाई दुःख, पीर, मर्का पर्दा सरकार तुरुन्त आएर सहयोग गर्नुपर्नेमा त्यस्तो नभएको पाएको बताए । 
 
अध्यक्ष प्रचण्डले अहिले तलैसम्म सुशासन नभएको र नागरिकलाई झन दुःख भएको सुनिएको भन्दै आफूहरु यसकै निम्ति लडेको हो त ? प्रश्न गर्दै भने –‘तलैसम्म सुशासन छैन, जनतालाई झन दुःख छ भन्ने सुनिएको छ । के हामी यसकै निम्ति लडेको हो त । विल्कुल होइन ।’

बाढीबाट जोगिन दीर्घकालीन र रणनीतिक योजना बनाएर बाढीबाट बर्षेनी तराईमा भइरहेको जनधनको क्षति र सुक्दै गएको जलाधार क्षेत्रलाई जोगाउन नसकेसम्म सुखी नेपाली र समृृद्ध नेपालको सपना पूरा नहुने जिकिर गरे । 

चुरेले मात्र बाढीको समस्याबाट बचाउन सक्ने भएकाले चुरेको संरक्षणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले चुरे संरक्षणमा सरकारको ध्यान पुग्नु आवश्यक रहेको बताए । 
 
विगतको आन्दोलनमा तराई मधेशका जनताले गरेको संघर्ष अबिस्मरणीय रहेको चर्चा गर्दै संघर्ष अनुसारको अवसर र सुबिधा तराई मधेशका जनताले पाउन नसकेको उल्लेख गरे । 

सो सभामा नेकपाका नेता तथा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तराई मधेशमा देखिएका समस्याहरुको समाधानका लागि तीनै तहको सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिदैं जनअपेक्षा अनुरुप काम हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।

सभामा भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले धनुषाको वीरेन्द्र बजारदेखि यदुकुवासम्मको सडकलाई सहिद रामबृक्ष यादव मार्ग नामाकरण गरिने घोषणा गरे ।