पारस शाहको हर्कतः विमानस्थलका सुरक्षाकर्मीमाथि हातपातको प्रयास

पारस शाहको हर्कतः विमानस्थलका सुरक्षाकर्मीमाथि हातपातको प्रयास

काठमाडौं, २ भदौ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड, सरकारका अन्य मन्त्रीहरुले पूर्व राजा ज्ञानेन्द्र शाह र राजावादी तत्वहरुलाई आफ्नो स्थानमा 'ठेगान' लागेर बस्ने चेतावनी दिइरहेका बेला पूर्व युवराज पारश शाहले फेरी अर्को हर्कत देखाएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा एक राष्ट्रसेवक बर्दीधारी प्रहरीमाथि पूर्वयुवराज पारश शाहले अपमान गर्दै कठालो समात्ने दुस्प्रयास गरेका छन् । ड्टीमा खटिएका ती राष्ट्र सेवक प्रहरीले पारसको धक्का र अपमान व्यहोर्नु परेको छ ।

पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका हुन् । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएर विमानस्थलको सुरक्षा व्यवस्थालाई समेत चुनौती दिएका छन् । 

पारसले विमानस्थलभित्र छिर्ने क्रममा वायाँ हातले प्रहरीलाई धकेलेका हुन् । उनको धक्कापछि प्रहरी दुई कदम पछाडि हुत्तिएका थिए । प्रहरीलाई धलेकेपछि पारस रातो कार्पेट टेक्दै अगाडि बढे । उनले अलिकति अगाडि बढेर प्रहरीतर्फ फर्केर हेरे । र, फेरि जंगिँदै फर्किए ।
प्रहरीलाई दोस्रोचोटि झम्टँदा छोरा हृदयेन्द्रले आफ्ना पितालाई हातमा समातेर रोक्ने प्रयास गरे । त्यसपछि उनी वीचैबाट फर्केर चोर औंला देखाउँदै विमानस्थलको दोस्रो गेटतर्फ लागे ।

आमा कोमल शाहलाई बैंककका लागि विदाई गर्न पारस आइतबार सपरिवार विमानस्थल पुगेका बेला यस्तो हर्कत देखाएका हुन् । 

त्यसक्रममा राजावादीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।