बल्ल शुरु भयो प्रदेश २ को राजधानी र नामाकरणको प्रक्रिया

बल्ल शुरु भयो प्रदेश २ को राजधानी र नामाकरणको प्रक्रिया

जनकपुर, ३२ साउन । प्रदेश २ कोे स्थायी राजधानी र नामाकरणको प्रक्रिया प्रदेश सरकार गठन भएको १७ महिनापछि बल्ल शुरु भएको छ । 

प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव भदौ ५ गते साँझ ५ बजेभित्र प्रदेभसभा सचिवालयमा प्रस्ताव दर्ता गराउन सचिवालयले सूचना जारी गरेसँगै प्रक्रिया शुरु भएको हो । प्रदेशसभामा प्रक्रिया शुरु भएसँगै सत्तापक्ष र प्रतिपक्षी दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । 

प्रदेशको राजधानी जनकपुर हुनेमा प्रायः जसो दलहरु सहमति नजिक देखिए पनि नामाकरणबारे राजनीतिकहरुबीच सहमतिको कुनै सम्भावना नदेखिएको जानकारहरु बताउँछन् । 

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मधेस प्रदेशको अडानमा छन् भने प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस मधेस प्रदेशमा सहतमा देखिएको छैनन् । 

प्रदेशको नाम र राजधानीबारे प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रदेश २ सरकारमा कुनै पनि दलको ठोस बहुमत नहुँदा प्रदेशको नामाकरण र स्थायी राजधानीको बिषय टुङ्गयाउनु सहज नभएको जानकारीहरु बताउँछन् । 

प्रदेश २ को सत्तारुढ संघीय समाजवादी फोरम र राजपासँग सामान्य बहुमत अर्थात ५४ जना मात्र छ । १०७ सदस्यीय प्रदेशसभामा नेकपासँग ३२ र नेपाली कांग्रेसका १९ सांसद छन् । अब कांग्रेस वा नेकपामध्ये कुनै एक दलको समर्थन नभएसम्म सत्तारुढ दलले दुई तिहाई पु¥याउन नसक्ने स्थिति छ । 

धार्मिक, सांस्कृतिक, पौराणिक, भौगोलीक तथा भौतिक संरचनाका हिसावले प्रदेशको राजधानी ‘जनकपुर’ उपयुक्त हुने हुनेमा अधिकांश दल एकमत देखिए पनि प्रदेशको नामाकरणका विषयमा भने फरक फरक फरक धारणा छन् । 

प्रदेशको नामाकरणमा सत्तारुढ र विपक्षीको मत फरक देखिएको छ । फोरम र राजपा प्रदेशको नाम मधेस राख्ने पक्षमा देखिएका छन् भने प्रतिपक्षी नेकपा र कांग्रेस ‘मधेस’ नाम कुनै हालतमा स्वीकार नगर्ने अडानमा छन् ।

अहिले रहेको अस्थायी राजधानी जनकपुरलाई नै प्रदेशको स्थायी राजधानी बनाउने सम्भावना बढी छ । सुरुमा वीरगञ्जमा राजधानी माग गर्दै आन्दोलन भए पनि अहिले जनकपुर नै कायम राख्नुपर्नेमा प्रदेशका अधिकांश जिल्लाबासीहरुको भावना छ । 

विपक्षी नेकपाले मिथिला या जनक तथा कांग्रेसले मिथिला या मिथिला–भोजपुरा प्रदेश नाम राख्नुपर्ने बताउँदै आएको छ भने सत्तासीन फोरम नेपाल र राजपाले मधेश प्रदेश हुनुपर्ने अडान लिदै आएको छ । 

सत्तारुढ मधेसवादी दल मधेसको ऐजेण्डा बोकेर राजनीति गर्दै आएकाले मधेस शब्द छोड्ने मुडमा छैनन् भन्ने नेकपा र काँग्रेसले मधेसको पहिचान २० जिल्ला रहेको भन्दै यसलाई ८ जिल्लामै सीमित गर्नु नहुने बताउँदै आएको छ ।

मधेशबादी दलका नेताहरुले प्रदेश २ को नाम मध्य–मधेश वा मधेश राख्नुपर्ने बताउँछन भने नेकपा र काँग्रेसका नेताहरुले राजर्षी जनक, जानकी, तथा मिथिला–भोजपुरा प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिन्छन् । 

जनकपुर नै राजधानी हुनुपर्ने सवालमा प्रमुख प्रतिपक्षी दल नेकपा, सत्तापक्ष राजपा र नेपाली कांग्रेससमेत सहमत रहेकाले राजधानीको प्रस्ताव दुईतिहाइले पारित हुने लगभग निश्चित रहे पनि नामाकरणको बिषय चुनौतिपुर्ण रहेको नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता राम सरोज यादवको भनाई छ । 

हुन त प्रदेश २ सरकारले प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन गत ०७५ कार्तिक ११ गते डा. हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग समेत गठन गरेको थियो । आयोगले जनस्तरबाटै सुझाब संकलन गर्ने क्रममा बिभिन्न दलहरुबीच प्रदेशको राजधानी जनकपुर नै उपयुक्त भएपनि नामाकरणको बिषयमा तीब्र बिवाद देखिएको थियो । आयोगले प्रदेश सरकारलाई प्रतिबेदन बुझाई सकेको छ । त्यसैले पनि प्रदेश २ को नामाकरणको बिषयले संसदमा तनाब उत्पन्न हुने सम्भावना छ ।

चैत्र महिनाभित्रै प्रदेशको नामाकरण र स्थायी राजधानीको टुङ्खगो लगाउने प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बताए पनि यसलाई मुर्तरुप दिन अहिलेसम्म प्रदेश सरकारले सकेको छैन् ।  

प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको बिषयलाई लिएर अन्यौलमा परेका छन् । 

समग्रमा सबै प्रदेशवासीको पहिचान झल्किने गरी नामाकरण गर्नुपर्ने बुद्धिजीवीहरुको धारणा छ ।