कर्णालीका प्रदेशमन्त्री खत्री बर्खास्त

कर्णालीका प्रदेशमन्त्री खत्री बर्खास्त

३१ साउन, सुर्खेत ।  कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई बर्खास्त गरिएको छ ।

बिहीबार राति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई पदबाट हटाएका हुन । यस विषयमा प्रदेश सरकारले प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी गराइसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।

खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गरिएको  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

बैंकिङ्ग कसुरको अभियोगमा उच्च अदालत पाटनले गएको मंगलबार पक्राउ पुर्जी जारी गरेपछि खत्रीको आलोचना भइरहेको थियो । यसै क्रममा मुख्यमन्त्री शाहीले खत्रीलाई मन्त्रीबाट पदमुक्त गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत लिएका छन् । 

कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न उच्च अदालतले सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।

खत्रीसहित ५ जनाले एक करोड ८० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टी गरेको आरोप छ । उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरेर बैंकलाई हानी नोक्सानी पुर्‍याएको बैंकले  दाबी गरेको छ ।

राजनीतिमा कीर्ते, ठगी र भ्रष्टाचार गर्नेमाथि सख्त कार्वाही गरेर राजनीतिलाई समाजसेवाको स्वयम्सेवी कर्मको रुपमा स्थापित गर्न पहल बढाउनु पर्छ ।