दलाल नोकरशाही पुँजीवादको बहिरङ्ग बयान

दलाल नोकरशाही पुँजीवादको बहिरङ्ग बयान

भवानी बराल

दलाल नोकरशाही पुँजीवादको वतन खोज्न, पहिचान गर्न नेपालले आधुनिक युग प्रवेश गरेसंगैको अर्थ–राजनीति बुझ्नु पर्ने हुन्छ । नेपाली अर्थ–राजनीति पुँजीवादमा प्रवेश गरे लगत्तैको प्रस्थान विन्दू थाहा पाउनु पर्छ ।
पुँजीवादी दर्शनको नेपालमा प्रवेश भएको तथ्य वा क्रान्तिबाट यसमा प्रवेश गरेको यथार्थसंगत पुष्टी गर्नु वहसको केन्द्रिय विषय हो । अद्र्ध सामान्ति तथा अद्र्ध औपनिवेशिक अवस्था पतन भैसकेको तथ्यगत पुष्टि भएपछि मात्र पुँजीवादको प्रवेश भएको ठहर गर्न सकिन्छ । दार्शनिक हिसावले पुँजीवादको प्रवेश सामान्तवादी व्यवस्थाको चिहानबाट भएको अर्थ विश्व इतिहासले पुष्टि गर्दैन बरु सामान्तवादसंगको फ्यूजनबाट पुँजीवादको उदय भएको मान्यता राख्छ । यस्तो पुँजीवादको सबैभन्दा बढी साम्यवादी भाष्यमा चर्चा हुन्छ ।

कम्युनिष्टहरुले पुँजीवादी क्रान्तिलाई समाजवादमा जाने खुटकिलोको रुपमा पनि लिन्छन । पुँजीवादको स्थापना नभएको स्थानमा नयाँ जनवादको नाममा क्रान्ति गरेर उनीहरुले समाजवादी व्यवस्थामा फड्को हान्ने मान्यता राख्छन् । यस्तो मान्यता माओ विचारधाराको  आलोकमा पाइन्छ । तर नेपालमा पुँजीवादी वा जनवादी क्रान्ति सम्पन्न भयो भन्नेमा अझै द्विविधा छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको जनवाद कार्यदिशालाई तत्कालिक कार्यक्रम राखेको छ । सत्ता वाहिरका कम्युनिष्ट पार्टीहरु जनवादी क्रान्तिले पुर्णता पाएको मान्दैनन् ।

यसअर्थमा पुँजीवाद काँचो कचिलो छ वा पुँजीवादमा भ्रष्टिकरण भैसकको छ भन्ने अर्थ लाग्छ । यहाँ प्रचलित दलाल नोकरशाही पुँजीवादको विवेचना समसामयिक सन्दर्भको बहिरंग वयान गर्ने कोशीस गरिएको छ । 

पुँजीवाद:

पुँजीवादको परिभाषा गरेपछिमात्र नोकरशाही पुँजीवादको अर्थ निकाल्न सकिन्छ । पुँजीवाद स्वतन्त्र आर्थिक प्रणाली हो । पुँजीवादमा व्यक्तिगत उपयोगको लागि उत्पादन गरिन्न । केवल र फगत नाफाको लागि वस्तुको स्वतन्त्रतापूर्वक उत्पादन गरिन्छ । यस्तो उत्पादन सम्बन्ध भएको आर्थिक पद्दति पुँजीवाद हो । यसमा उत्पादनका साधनहरु निजी स्वामित्वमा रहन्छन । पुँजीवादको चरित्र वा विशेषताहरुबाट यसको असल पहिचान र परिभाषा गर्न सकिन्छ ।

पुँजीवादमा मालसमान उत्पादनका प्रणालीमा विस्तार गरिन्छ । यसको लागि अधिकतम यन्त्रहरु प्रयोगमा आउँछन । कुटिर उद्योगको स्थानमा ठूला उद्योगहरु ठूलो पुँजी र संगठीत शक्तिको लगानीमा स्थापित भएका हुन्छन । नाफाको लागि असिमित उत्पादन गर्ने, उत्पादन विनिमयको लागिमात्र गरिन्छ । नाफा कमाउनु यसको एकमात्र लक्ष भएकोले आत्मनिर्भरता यसको उद्वेश्य भित्र पर्दैन । ठूलो परिमाणमा औधोगिक उत्पादन गर्ने औधोगिक प्रतिष्ठानको स्थापनामा होडवाजी चल्छ । विशेषज्ञ र श्रमको विभाजन यसको मूख्य विशेषता हो ।

पुँजीवादमा प्रविधिमा सुधार हुने भएकोले यसको वजारको पनि विस्तार हुन्छ । श्रम बेच्ने विकल्प बाहेक यस्तो व्यवस्थामा जिविकाको कुनै उपाय रहन्न । उत्पादनका साधनबाट श्रमिकहरु अलग हुन्छन् । औधोगिकरणले जनसंख्याको विस्तार गर्छ । बजार र कच्चा पदार्थको लागि प्रतिस्पर्धा हुन्छ । उत्पादनको साधन मुट्ठिभरको स्वामित्व, नियन्त्रण र कब्जामा हुन्छ । श्रमिकको अत्याधिक शोषण हुने भएकोले पुँजीवादमा श्रमिक र पुँजीपतिसंग शत्रुतापूर्ण सम्बन्ध हुन्छ ।

माक्र्सवादी प्रस्तावना :

माक्र्सवादी प्रस्तावना अनुसार उत्पादनका प्रमुख साधन तथा उत्पादित बस्तुहरुको वितरणमा पुँजीपतिहरुको व्यक्तिगत स्वामित्व भएको आर्थिक व्यवस्था, उत्पादनमा भूमि, श्रम आदिको अपेक्षा पुँजीकै सर्वोपरी मान्ने आर्थिक अवस्था पुँजीवाद हो । 
पुँजीवादमा आय असमान हुन्छ । परम्परागत पुँजीवादले वाल मजदुर, भोकमरी, जनसंख्यामा वृद्धि, पर्यावरणको क्षय (पोलुसन बढाउने) आदि ल्याउँछ । पुँजीवादको लाभ भनेको समान (वस्तु) हरुको सहज सरल उपलब्धता, अपभोक्तामुखि अर्थ नीति र गुणस्तरीय जिवन निर्वाह हो । तर, यसप्रकारको पुँजीवादले दीर्घकालमा संकटलाइ निम्त्याउँछ । आत्मनिर्भरता खत्तम गरेर परनिर्भरता बढाउँछ ।

नोकरशाही पुँजीवाद :

शुद्ध पुँजीवादको स्थापना नहुँदै भ्रष्ट पुँजीवादको स्थापना भयो भने त्यसलाइ नोकरशाही पुँजीवाद नाम दिँदा हुन्छ । पुँजीवादको यो भ्रष्ट रुप हो । अर्थात पुँजीवादी भ्रष्टिकरणको यो दोस्रो खुडकिलो हो ।
कमिसन, अख्तियार दुरुपयोग गरेर, प्रभाव, अप्ठ्यारोमा पारेर नोकरशाहले पदमा रहँदा अकुत सम्पत्ति कुम्ल्याउँछन । पदीय अधिकारको दुरुपयोग गरेर उद्योग व्यवसायमा सेयरको रुपमा पाउने पुँजी नै नोकरशाही पुँजी हो । यहाँ नोकरशाहको अर्थ कर्मचारीतन्त्र मात्र होइन । यस्तो पुँजी नोकरशाहले मात्र ऐंठिन्छन भन्ने होइन । चिनजान, नाता, सम्बन्धको आधारमा नोकरशाहलाई प्रभावमा पारेर कुनै काम गरे वापत कसैले पनि लिने कमिसन नोकरशाही पुँजी हो । राजनैतिक शक्तिको दुरुपयोग गरेर नेताहरुले लिने कमिसन, गिफ्ट (उपहार) पार्सल, घुस, नजराना पनि नोकरशाही पुँजी हो । आयात–निर्यात, कोटा, लाइसेन्स, विक्रिवितरण, भ्रष्टाचारबाट आउने पुँजी पनि हो । समग्रमा यस्तो पुँजी नोकरशाही पुँजी र राजनैतिक शब्दावलीमा नोकरशाही पुँजीवाद हो ।

अव छलफलको केन्द्रिय विषय नेपालमा नोकरशाही पुँजीवाद कुन हदसम्म कामयाव छ भन्ने हो । नाङ्गो आँखाले पनि देख्न सकिन्छ नेपालमा नोकरशाही पुँजीवाद व्याप्त छ । विगत एकाध दशक अघिदेखि नेपाल नोकरशाही पुँजीवादले अक्रान्त छ । शुद्ध पुँजीवाद स्थापना नभइ भ्रष्ट पुँजीवादमा स्खलित भैसकेको छ । 

उदयको कथा:

यस्तो पुँजीवादको उदय पञ्चायतको उत्तराद्र्धबाटै सुरु भएको हो । बहुदलीय संसदीय व्यवस्थाको स्थापनासंगै आर्थिक उदारीकरणको प्रसंगबाट संस्थागत हुन थाल्यो । पञ्चायतले स्थापित गरेको राज्य नियन्त्रित औधोगिक प्रतिष्ठानलाइ निजिकरणको नाममा कौडीको मोलमा विघटन गरियो । पञ्चायतले राष्ट्रिय पुँजीको विकास गर्न यस्ता प्रतिष्ठान स्थापना गरेको भने विलकुल होइन । मित्र राष्ट्रहरुले सदासयतापूर्वक दिएको आर्थिक प्याकेज (गिफ्ट)लाइ स्विकारेको मात्र हो ।

पञ्चायतलाइ टिकाउन उपयोग गर्ने नीति अनुसार यस्ता औधोगिक प्रतिष्ठानलाइ स्विकारेको मात्र हो । पञ्चायतले राष्ट्रिय पुँजीको विकास गर्न चाहेको भए यस्ता औधोगिक प्रतिष्ठानलाई चाहिने कच्चा पदार्थको उत्पादनमा ध्यान दिने थियो । हेटौडा कपडा उद्योगलाइ चाहिने कपास, च्रोट कारखानालाइ चाहिने सुर्ती, चिनी उद्योगको लागि उखु, गोरखकाली रबर उद्योगलाई चाहिने कच्चा पदार्थमा जोड दिने थियो ।

बाँसबारी छालजुत्ता कारखाना लगायतका उद्योगलाइ चाहिने कच्चा पदार्थ उत्पादनमा कतै जोड दिएको पाइन्न । यता जनकपुर चुरोट कारखानलाई पञ्चायतकालमै सूर्य टोबाकोलाई उत्पादन अनुमति दिएर जचुकालीलाई लिक्विडेसनमा पु¥याउने खेल सुरु भयो । नेपालमै कच्चा पदार्थ प्रशस्त भएको हरसिद्धि इट्टा टायल कारखानालाइ बचाउन सकिने प्रशस्त आधार थियो । सिमेण्ट कारखानालाई चाहिने कच्चा पदार्थ नेपालमै पर्याप्त हुँदाहुँदे हिमाल सिमेण्ट, हेटौडा सिमेण्ट उद्योगलाई धारासायी बनाइयो । यतिबेला हेटैडा सिमेण्ट उद्योग परिसरमा प्रदेश नं ३ को राजधानी राखेर दलाल नोकरशाही पुँजीपतिको हित गर्ने खेल सुरु भएको छ । यस्ता उद्योगलाई पुनसञ्चालनमा ल्याउनुको साटो प्रदेश नं. ३ को प्रशासनिक कार्यालय स्थापना गरेपछि सदाको लागि उद्योग पुनस्थापना गर्ने काम समाप्त हुन्छ ।

उता जनकपुर चुरोट कारखानाको परिसरमा प्रदेश नं २ राजधानीको प्रशासकीय कार्यालय स्थापना गरिएको छ । यसले सुर्ति उद्योगमा छिरेको विदेशी दलाल पुँजीपतिलाई सहज बनाइदिएको छ । हिमाल सिमेण्ट उद्योगमा सुकुम्वासीहरु बसाउने निर्णय गरेर यसअघि नै उधुम भैसककेको हो । यी उद्योगलगायत दर्जनबढी उद्योगलाई यसरी नै कोल्याप्स बनाइयो । नोकरशाही पुँजीवादको यो भन्दा बढी उदाहरण दिइरहनु पर्दैन । नोकरशाही पुँजीवादको जग अमेरिकामा पढेर आएका डा. प्रकाशचन्द्र लोहनीले थिति बसाले ।

बहुदलीय व्यवस्थाकालका अमेरिका दीक्षीत डा. रामशरण महत, महेश आचार्य हुँदै आजसम्मका अर्थमन्त्रीले निरन्तरता दिएका छन् । कम्युनिष्ट पार्टीमा अर्थशास्त्र जानेका भनिएका भरतमोहन अधिकारी हुन या डा. बाबुराम भट्टराईले नोकरशाही पुँजीवादको निरन्तरतालाइ क्रम भंग गर्न सकेनन् । अहिलेका अर्थमन्त्रीले गर्लान भन्ने त खुट्टि हेरेरै भविष्यवाणी गर्न सकिन्छ ।

दलाल नोकरशाही पुँजीवाद:

पुँजीवादको पतित रुप दलाल नोकरशाही पुँजीवाद हो । सामान्तवाद र पुँजीवादको समागमबाट दलाल नोकरशाही पुँजीवादको जन्म भएको हो । राष्ट्रको पुँजी, कच्चा पदार्थ, श्रम शक्ति, प्राकृतिक स्रोत साधन साम्राज्यवादी एकाधिकार पुँजीपतिलाइ कौडीको मोलमा बेचेर तिनको जुठोपुरोमा निर्वाह गर्ने नीति दलाल नोकरशाही पुँजीवादको परिभाषा भित्र पर्छ । यसर्थ नेपालमा यो दलाल नोकरशाही पुँजीवादी अर्थनीति छ भन्नु सोह्रै आना जायज हुन्छ ।

यसको चरित्र र विशेषता नीतिगत रुपमा आर्थिक उपार्जनको बाटो नीजि क्षेत्र, विदेशी एकाधिकार पँुजीपन्थीलाई खुला गरिदिनु हो । शिक्षा, स्वास्थ्य, बैंक वित्तिय संस्थाहरु, अपार्टमेण्ट, जग्गा प्लटिङ जस्ता अति महत्वपूर्ण क्षेत्रको कारोबार नीजि क्षेत्रलाई नीतिगत निर्णय गरेर दिने व्यवस्था गरिन्छ । जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने प्रोत्साहन गर्ने, त्यस्ता जनशक्ति निर्यातकर्तालाई वैधानिक अनुमति दिने दलाल नोकरशाही नीति भित्र पर्छ । बढी नाफा हुने उच्च शिक्षा तथा प्राविधिक शिक्षा दलालहरुलाई दिने व्यवस्था गर्नु दलाल नोकरशाही पुँजीवाद हो ।

विद्ववान मिलोभानले भने जस्तो यसले नयाँ वर्ग त जन्माउँछ तर वर्ग निवारण गर्न सक्तैन । यसैले नेपाली समाजको अर्थ–राजनैतिक चरित्र दलाल नोकरशाही पुँजीवादी छ भनिएको हो ।

नेपालको राष्ट्रिय पुँजीको विकास गर्न दलाल नोकरशाही पुँजीवादको अन्त्य हुनु जरुरी छ । नेपालको विकास र समृद्धिको नाराको वाधक यहि पुँजीवाद हो । कम से कम संयुक्त राष्ट्र संघले राखेको दीगो विकास लक्ष छेउसम्म पनि यो व्यवस्थाले जाने बाटो अवरुद्ध गर्छ । समाजवाद मै पुग्ने हो भने त उत्पादनका संशाधन जनताको स्वामित्वमा पुग्नु पर्छ ।

उद्योगको मालिक मजदुर हुनुपर्छ । उत्पादनका फाइदा वा वितरण समानुपातिक हुनुपर्छ ।  त्यहाँ पुग्न नेपालले कति फड्को हान्नु पर्छ भन्ने यो अर्थ–राजनीतिले बताउँछ । यस्तो हिम्मत जुटाउने नेपालको राष्ट्रिय राजनीतिमा दम छ ? समयबद्ध साप्ताहिकबाट