किन काभ्रे र उपत्यकाका विरुद्ध मोर्चा कसिरहेका छन् तीन नम्बर प्रदेशका मुख्यमन्त्री ?

किन काभ्रे र उपत्यकाका विरुद्ध मोर्चा कसिरहेका छन् तीन नम्बर प्रदेशका मुख्यमन्त्री ?


शंकर तिमल्सिना

२९ साउन, काठमाडौं । प्रदेश नं ३ को प्रदेशसभाको वैठक झण्डै ५० दिनदेखि बस्न सकिरहेको छैन । असार १२ गते बजेट पास भएसँगै स्थगित बैठक आजसम्म बस्न नसकेको हो । प्रदेश सरकारले प्रदेशसभालाई विजनेस दिन नसक्दा वैठक बस्न नसकेको हो । अहिले प्रदेशसभा सदस्यहरुको दवावमा चाँडै नै बैठक राख्ने सभामुख सानु कुमार श्रेष्ठले बताए पनि कहिलेबाट शुरु हुने भन्ने कुरा अझै टुङ्गो लाग्न सकेको छैन ।  

यतिखेर दफावार छलफलको लागि समितिमा पुगेका विधेयकहरुको छलफल आरम्भ भएको छ । अब छिट्टै प्रदेशसभाको वैठक बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।   

राजधानीको विषय पेचिलो बन्दै जाँदा सभाको वैठक धकिलिने गरेको प्रदेश सांसदहरुको भनाइ छ । 

मुख्यमन्त्री डोरमणी पौडेलले पछिल्लो पटक फेरि राजधानीको विषयसम्बन्धी विवादास्पद भनाइहरु बाहिर ल्याउन थालेका छन् । मुख्यमन्त्री पौडेलले केही दिनअघि आफू राजधानी हेटौंडामा नै हुनुपर्छ भन्ने पक्षमा नरहेको बरु रामेछाप र नुवाकोट जता लगे पनि केन्द्र सरकारको छायाँ भन्दा बाहिर हुनुपर्छ भन्ने मात्र आफ्नो सोंचाई रहेको सार्वजनिक अभिव्यक्ति दिए । 

मुख्यमन्त्री पौडेलको उक्त भनाइलाई हेटौडावासीले त्यति नरुचाउनु स्वाभाविक थियो । त्यही मनोविज्ञान बुझेर आइतवार हेटौंडाको जिल्ला समन्वयको कार्यक्रममा उनले राजधानी हेटौंडाबाट कहीं नजाने ठोकुवा गरे । उनले अझ अगाडि बढ्दै आफूले राजधानी हेटौंडामा राख्नको लागि बल गरिरहेको अभिव्यक्ति समेत दिए । यसले के देखाउँछ भने उनले काभ्रे, भक्तपुर जस्ता बलिया सम्भावना भएका ठाउँका विरुद्ध नुवाकोट र रामेछाप लगायत जिल्लालाई आफ्नो पक्षमा तान्न बल गरेका मात्र हुन । उनीहरुको साथ भयो भने काभ्रे, भक्तपुरको पक्षमा दुई तिहाइ पुग्दैन । दुई तिहाइ मत नभए स्थायी हुँदैन । अस्थायी भए पनि आफ्नो कार्यकालभरि हेटौंडालाई राजधानी बनाइरहने पक्षमा मुख्यमन्त्री प्रष्ट देखिएका छन् । 

प्रदेश सरकारका सबै कामकारवाहीलाई स्थायी राजधानी नहुनुले निकै असर गरिरहेको छ । प्रदेश ३ को संचार रजिष्टारको कार्यालयले पत्रकारहरुलाई हेटौंडा अपायक प¥यो भन्दै काठमाडौंमा आएर पत्रकार परिचयपत्र समेत वितरण ग¥यो । राजनीतिवृत्तमा समेत प्रदेश ३ को सरकार असफलतर्फ धकेलिएको चर्चाहरु चल्न थालेको छ । प्रदेश सरकारमात्र होइन राजधानीको मुद्दाले प्रदेशसभा नै असफलतातर्फ लैजाने खतरा बढिरहेको छ । 

राजधानी पहिला टुङ्याउनु पर्ने भन्दै बर्षे अधिवेशनको शुरुवातमै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको थियो । तर सभामुख सानुकुमार श्रेष्ठले बजेट पास हुनुअघि राजधानीको टुङ्गो लगाउने बचनबद्धता गरेपछि संसद चलेको थियो । बजेट पास हुनुभन्दा अघि राजधानीको विषयले प्रवेश पाएन । त्यसको कारण थियो मुख्यमन्त्रीको मुटुको अप्रेसन । मुख्यमन्त्रीको मुटुको अप्रेशन भएकोले मानवीयता देखाउँदै बजेट पास हुन प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन अवरोध गरेन । त्यसैको पुरस्कारस्वरुप मुख्यमन्त्री डोरमणी पौडेलले तीन जना सांसदसहित एक हप्ते चाइना भ्रमणमा कांग्रेसका प्रमुख सचेतक राधा घलेलाई आफ्नो भ्रमण टिममा समावेश गरेका थिए । 

संभवतः दशै अगाडि बर्षे अधिवेशनको अन्त्य हुनेछ । अब बस्ने वैठकमा राजधानीको विषयले प्रवेश पाउला त ? अहिले ३ नं प्रदेशका जनतासहित प्रदेश सभाका सदस्यहरुको पनि चासोको विषय रहेको छ । राजधानी टुङ्गो लगाउन प्रदेशसभाले कार्यविधि पनि पास गरिसकेको छ । 

मुख्यमन्त्री डोरमणी पौडेल मकावनपुरका जनप्रतिनिधि समेत भएको कारण राजधानी हेटौडाबाट अन्यत्र लैजाने विषयलाई आफ्नो राजनीतिक प्रतिष्ठा ठानिरहेका छन् । प्रदेशसभामा मतदान हुँदा दुई तिहाइ मत काभ्रेको पक्षमा जाने अवस्था छ । त्यसैले उच्च नेतृत्वकोमा हारगुहार गरी हेटौंडाको पक्षमा राजनीतिक सहमति खोज्ने प्रयास र तिकडमहरु पनि भइरहेको बुझिन्छ  । 

सबैभन्दा विडम्बनाको कुरा त यो छ कि मुख्यमन्त्रीले मुख्यतः काभ्रे र काठमाडौं उपत्यकाका विरुद्ध खुलेआम मोर्चा कसेका छन् । उनको अभिव्यक्तिले उनी काभ्रे, भक्तपुर, ललितपुर जस्ता सम्भावित राजधानीको ठाउँको खुलेर विरोध गरिरहेका छन् । सार्वभौम संसदको दुई तिहाइले यदि काभ्रे, भक्तपुर वा ललितपुरमा स्थाथइ राजधानी बनाएमा नैतिकताका आधारमा मुख्यमन्त्रीबाट राजीनामा दिने कसम खाएर मुख्यमन्त्री लागेको उनको व्यवहार र पछिल्ला अभिव्यक्तिले देखाएको छ । 

संविधानमा प्रदेशको स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने अधिकार प्रदेश सभालाई दिइएको छ ।  

स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेशसभामा प्रतिवेदन पेस गरिसकेको छ । समितिले ५ जिल्ला काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवनपुरको स्थलगत भ्रमण गरी प्रतिवेदन पेश गरेको हो ।