घुससहित वडाअध्यक्षसहित तीन जना पक्राउ

घुससहित वडाअध्यक्षसहित तीन जना पक्राउ

जनकपुर, २८ साउन । उपभोक्ता समितिसँग घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको भंगहा नगरपालिका–८ का वडाध्यक्षसहित तीन जनालाई आज पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासको टोलीले घुसबापत लिएको रु. एक लाख ६० नगदसहित वडाध्यक्ष रफिक साफी, वडा सदस्य कारी साह र उनको छोरा मुकेश साहलाई पक्राउ गरेको हो । 

जनकपुरको पीडारीचोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिई रहेको अवस्थामा वडा सदस्य कारी साहको छोरा मुकेशलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी हरि घिमिरेले जानकारी दिए ।

वडाध्यक्ष रफिक साफी र कारी साहलाई महोत्तरीको भंगहा नगरपालिका–८ घरबाट नै पक्राउ गरेको हो । सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग वडाध्यक्ष मो. रफिक साफी र वडा सदस्य कारी मिलेर समितिसँग घुस मागेका थिए । 

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको जनाएको छ ।