पत्रकार र नेताको फ्यान नबन्नु

पत्रकार र नेताको फ्यान नबन्नु

गंगा पौडेल (बराल)

सन् २०१९ को रामोन म्यागेसेसे पुरस्कारबाट पुरस्किृत भारतीय पत्रकार राविस कुमारले आम जनसमुदायलाई जहिल्यै एउटा सल्लाह दिने गर्छन्, ‘पत्रकार र नेताको निद्रामा पनि फ्यान नबन्नु ।’ उनले पत्रकार र नेतालाई एकै ठाउँमा राखेर यस्तो विचार किन पस्किरहन्छन ? जबकी उनी आफै पत्रकार हुन । उनले नेताको विषयमा मात्र यस्तो विचार राखेको भए विषयको बहस एकतर्फी सोच्न सहज हुने थियो । तर आफ्नै विषय कर्ममा पनि उनले आलोचनात्मक दृष्टिकोण राखेका राख्ने गरेका छन् जस्ले विषयको गाम्भीर्यतालाई बोध गराउँछ । उनी आफै एनडिटीभीका हिन्दी भाषी पत्रकार हुन । उनी आजपनि सक्रिय पत्रकारितामा छन् ।

आजको प्रविधिगत दुनियाँमा कसैको फ्यान हुनु ठूलो कुरो होइन । मानिसहरु आजको भाषामा ‘सेलिब्रिटी’ बनेका कलाकार, गायक, अभिनेता, अभिनेत्री, मोडलको फ्यान हुन्छन् । यस्ता पात्रहरुको फ्यान बन्नु फेसन कै विषय हो । तर राजनैतिक नेतृत्व र पत्रकारको फ्यान बन्ने विषयलाई उनले निरुत्साहित गर्नु पछाडिको रहस्यको आयतन बुझ्नु गम्भीर विषय हो । राजनीतक शास्त्रमा राज्यका तीन अंग हुन्छन । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका । अनौपचारिक रुपमा पत्रकारितालाई चौथो अंगको मान्यता विश्वव्यापी छ । तर, माथिका तिन अंगको नेतृत्व राजनैतिक नेता, नेतृत्वले गरिरहेको हुन्छ । चौथो अंगको नेतृत्व पत्रकारले गर्दछ । यदि कुमारकै भाषामा कुनैको फ्यान नबन्ने हो भने अहिलेको चलनमा यो अनौठो नै हुनेछ आम समुदायको लागि । यद्दपी समाज विकास र परिवर्तनको लागि यो महत्वपूर्ण दार्शनिक सूत्र हो ।

देवत्वकरणको तुरुप 

राविस कुमारले राखेको यो विचारको स्विकृति अस्वकृति आफ्नो ठाउँमा छ । कसैले यो सूत्रलाई स्विकृत गर्लान या कसैले नगर्लान । कसैको फ्यान हुनु भनेको त्यो पात्रलाई देवत्वकरण गर्नु नै हो । कुनै कलाकारले आफ्नो प्रस्तुती राम्रोसंग निर्वाह गर्दा पाठक स्रोतालाई न्याय गर्दा प्रशसित हुनु स्वभाविक हो । तर कुनै गम्भीर विषय वा दीर्घकालीन महत्व राख्ने समाज रुपान्तरण गर्ने, भविष्यलाई दीर्घ दिशा निर्देश गर्ने राजनैतिक कर्ममा लागेका नेता वा पत्रकार पात्रहरुको अन्धसमर्थन गरिन्छ त्यहीँबाट सबै प्रगतीका बाटाहरु अवरुद्ध हुन्छन भन्ने यो सूत्रको सन्देश हो । राजनैतिक दलका नेताहरु वा पात्रहरुका आफ्ना वौद्धिक, शारिरीक सीमाहरु हुन्छन । पत्रकारहरु पनि त्यो सीमा भन्दा वाहिर हुँदैनन् ।

तर कुनै एक घटना विशेषलाई हेरेर उसको समग्रमा मूल्यांकन गर्नु नै देवत्वकरण गर्नु हो फ्यान बन्नु हो । यसले नेता वा पत्रकारले गल्ती गर्दैन भन्ने कुरालाइ स्थापित गर्छ । नेपालमा पनि देवत्वकरणको खुव सैद्धान्तिक विरोध हुने गर्छ तर देवत्वकरण गर्ने कुरामा कसैले बाँकी भने राख्दैन । जब नेताहरु कुनै राजनैतिक आस्था र विश्वासबाट विचलित हुँदै जान्छन उनीहरु प्रशंसाको फुलझडीबाट आँफुलाई आफ्नो अस्तित्व रक्षाको लागि यस्तै फ्यानहरुको खोजी गर्छन । यस्तो अराजनैतिक माहोलमा यस्ता फ्यानहरु प्राप्त गर्न पनि कुनै कठिनाइ हुँदैन । 

छापा होस या विद्युतिय माध्यम वा न्यू मिडियामा मन परेकालाई देवासनमा पुर्याउने वा अन्यलाई रौद्रासनमा पुर्याउने कामले प्राथमिकता पाएको छ । आजभोली न्युज 'पेड न्युज' हुँदै 'फेक' वा 'जंक न्युज'ले आम पाठकको ज्ञानलाई प्रदुषित बनाएको छ । सूचनाको साम्राज्य खडा गरेर मस्तिष्कमा उपनिवेस खडा गरिएको छ । पाठकहरु छद्म सूचनाको दास बनेका छन् ।

आलोचनात्मक दृष्टिकोण

पत्रकारितालाई उजिल्याउने एकमात्र सूत्र  आलोचनात्मक दृष्टिकोण हो । यसका आफ्नै सीमा र बन्देज हुनसक्छन् । राजनैतिक आस्था र विश्वासको आधारमा यस्ता सीमाहरु निश्चित हुन्छन । तर आजको नेपाली पत्रकारिताले यो दृष्टिकोण छोड्दै गएको छ । उनीहरुको पत्रकारिताले ‘पार्टीसन’ हुँदै गुट र व्यक्तिवादितालाई प्रश्रय दिने गरेको छ । छद्म समाचारको उत्पादन गरेर कुनै व्यक्तिलाई खुइल्याउने अर्कोलाई देवत्वकरण गर्ने काम गर्दो छ । कुनै पत्रिका हेरेर राजनैतिक दृष्टिकोण बनाउने भन्दा पनि कसैको अनुयायी वा विरोधी बनाउने काम गर्दो छ । अपवाद बाहेक समग्रमा नेपाली पत्रकारिताको यो दूर्दृशा छ । यस्तोमा राविस कुमारले भनेको सूत्रको यहिँनेर आएर महत्व छ ।

आवाजविहीनको आवाज

पत्रकारिता आवाजविहीनहरुको आवाज बन्न छाडेको प्रसंगसँग पनि सम्बन्धित छ कुमारको सूत्र । पत्रकारिताले जव आमआवाजलाई जनमत निर्माण गर्ने हदको सिर्जना गर्न सक्तैन तब यस्तै फ्यानको फण्डामा पर्छ । समाज रुपान्तरणका यावत मुद्धा माथि पत्रकारिता वायस हुनु हुँदैन । पाठकले पत्रकारलाइ खरो उतार्ने वा पीत पत्रकारितालाई निषेध गर्ने भूमिका खेल्नु पर्छ । नेतालाई पनि जनपक्षीय काम गर्न उद्दत गराइ राख्न उनीहरु प्रति हरदम आलोचनात्मक दृष्टिकोण राख्न सक्नु पर्छ । यसमानेमा कुमारले सपनामा पनि पत्रकार र नेताको फ्यान नबन आग्रह गरेका हुन ।

तर नेपाली पत्रकारितालाइ कसीमा खरो उतार्ने उपक्रम हुन सकेको छैन । पत्रकारिता नेताको होहल्ला गर्ने औजार र पत्रकार त्यसकै पाटपुर्जा जस्तो देखिएको छ । पाठक तिनकै फ्यान भएका छन् । पत्रकारहरु प्रतेक पटकका विद्यार्थी हुन र तिनले पाठक (गुरु) का अगाडि परीक्षा दिइरहनु पर्छ । तर जब पत्रकारहरुको फ्यान पाठक (गुरु, शिक्षक) नै भै दि ए भने पत्रकारिताको विकासमा अर्धविराम हुँदै पूर्णविराम लाग्ने सम्भावना हुन्छ भनेर नै राविस कुमारले नेता र पत्रकारको कहिल्यै फ्यान नबन्नु भनेका हुन् ।