शहीद पार्क भैंसी पालन केन्द्र बन्दै !

शहीद पार्क भैंसी पालन केन्द्र बन्दै !

सप्तरी । सहिदहरुको स्मृतिमा सप्तरीको राजविराज नगरपालिका ९ मलेठमा निर्माण गर्न लागिएको शहीद पार्क, शहीद गेट र शहीद स्तम्भ लामो समयदेखि अलपत्र परेको छ । 

तत्कालीन नेकपा एमालेको मेची-महाकाली अभियानको क्रममा मलेठमा प्रहरीसँग झडप हुदाँ मृत्यु भएका पाँच जना शहीदहरुको सम्झनामा राजविराज नगरपालिकाले निर्माण गर्न लागेको शहीद पार्क अलपत्र हुँदा स्थानीयहरुले त्यहाँ भैंसी पालन गर्न थालेका छन् । 

असार मसान्तमै सम्पन्न हुनुपर्ने उक्त योजना समयमै सम्पन्न हुन नसक्दा शहीद पार्क यतिबेला भैंसीपालन केन्द्रको रुपमा परिणत भएको छ । शहीद पार्क अलपत्र अवस्थामा रहेकाले भैंसी पालन गरिरहेको स्थानीयहरुले बताएका छन् । 

ठेकेदार कम्पनीको लापरबाहीका कारण तीन वटै योजनाहरु अलपत्र परेका हुन् । राजविराज नगरपालिकाको कुल रु. ८१ लाखको लागतमा ठेक्का पाएको माँ गहिल निर्माण सेवाले हालसम्म करिब ७५ प्रतिशत मात्र काम सम्पन्न गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवम् सूचना अधिकृत मनोज कुमार यादवले जानकारी दिए ।

२०७५ जेठमा निर्माण कम्पनीले सम्झौता गरी २०७६ असार–मसान्तभित्र सम्पन्न गर्नुपर्नेमा शहीद गेट र शहीद पार्कको काम अपलत्र अवस्थामै छ । ‘शहीद गेट तथा शहीद स्मारक स्तरोन्नपत’ शिर्षक अन्तर्गत शहीद गेट निर्माण, आर्क ढलान, टाइलिङ्ग, मलेठ घटनाका शहीद इनरदेव यादव, सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्द कुमार साह र वीरेन्द्र महतोको प्रतिमा निर्माण, टायल्स, विजुलीवत्ती जडान लगायतका कामहरु गर्नुपर्नेमा अधिकांश कार्य हुन सकेको छैन् । 

यस्तै राजविराज–रुपनी सडकखण्ड अन्तर्गत मलेठमा निर्माणाधीन शहीद गेट निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणहरु सास्ती झेल्दै आवागमन गर्न बाध्य छन् । शहीद गेटको छेउबाट आवागमनका लागि डाइभर्सन समेत नबनाउँदा यातायातका साधनलाई आवत–जावत गर्न समस्या भइरहेको चालकहरु बताउँछन् । वर्षा अगावै उक्त काम सम्पन्न हुनुपर्नेमा निर्माणमा ढिलाइ भएकाले आफूहरुलाई जोखिमपूर्ण अवस्थामा सवारी चलाउनुरेको चालकहरुको कथन छ । 

मधेश आन्दोलनका शहीदको नाममा निर्माण भइरहेको उक्त कार्य समयमै सम्पन्न हुनुपर्नेमा ढिलाइ हुनु दुःखद् भएको भन्दै शहीदको नाममा निर्माणाधीन उक्त कार्य समयमै सम्पन्न भए शहीदहरुप्रतिको सम्मान हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने स्थानीय प्रकाश महतोको भनाइ छ । त्यस्तै प्रदेश २ सरकारको सहिदहरुको स्मृतिमा सोही स्थानमा बनाउन लागेको शहीद स्तम्भ निर्माण कार्य समेत अलपत्र परेको छ । गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रको पानी बहावलाई थुन्ने गरी स्तम्भ निर्माण गर्न लागेको भन्दै त्यसको ब्यापक बिरोध समेत भइरहेको छ । 

हचुवाको भरमा बहाबलाई थुन्ने गरी प्रदेश २ सरकारको सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गर्न लागेको भन्दै औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले रोक्न पत्राचार समेत गरिसकेको छ ।  

यस विषयमा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ‘शहीद गेट तथा शहीद स्मारक स्तरोन्नति’ शीर्षक अन्तर्गत शहीद गेट निर्माण, आर्क ढलान, टाइलिङ्ग लगायतका कामहरु तोकिएको समयसीमाभित्र सम्पन्न नभएको स्वीकार गर्दै सो कार्यहरुलाई प्राथमिकतामा राखेको बताएको छ । समयबद्ध साप्ताहिकाबाट