सागमा भिड्लान् भारत र पाकिस्तान ?

 सागमा  भिड्लान्  भारत र पाकिस्तान ?

फणीन्द्र फुयाल ज्वाला

तेर्हौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आगामी मंसिर १५ देखि २५ गतेसम्म काठमाडौं र पोखरामा संचालन हुने मिति नजिकिदै जाँदा खेलकुदका पूर्वाधर विकास, नवनिर्मण र पुनर्निर्माणमा नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्ले चासो देखाउन थालेको छ । 

पटक पटक रोकिएको १३ औं साग तेस्रो पटक मंसिर १५ देखि २५ गते सम्म काठमाडौं र पोखरामा हुने तय भएको हो । तर अझै पनि भौतिक पूर्वाधार निर्माण सम्पन्न भने भइ सकेका छैनन् । यसले गर्दा फेरी पनि सागको मिति सर्ने त होइन भन्ने एउटा आशंका जन्माएको छ भने अर्को ज्वलन्त समस्या भनेको भारत पाकिस्तान शितयुद्ध हो । भारत स्वशासित क्षेत्र कस्मिरलाई भारत केन्द्र सरकारले आफ्नो मातहतमा लिएका कारण यतिबेला कश्मिरको जनजीवन अस्तव्यत बनेको छ । उता पाकिस्तानले यही कारण दर्शाउँदै पाकिस्तान–भारत रेलसेवा लगायतका अन्य यातायात एकतर्फि रुपमा रोकिसकेको छ । यसैगरी पाकिस्तानले भारतका लागि पठाएका राजदूतहरु फिर्ता बोलाइसकेको छ ।

यही कारणले गर्दा पाकिस्तानले साग खेलमा सहभागिता जनाउने हो वा होइन भन्ने विषय खेलक्षेत्रमा प्रमुख चासोको विषय बनेको छ । अझ भनौं, यदि सागमा समावेश गरिएकामध्ये कुनै पनि खेलमा पाकिस्तान र भारतका खेलाडी एउटै खेलमा आमने समाने भिड्नु पर्ने स्थिती आए खेलाडीले कसरी खेल कौशल प्रदर्शन गर्लान ? त्यस्तो खेल हेर्न पाउँदा आम दर्शक, खेलप्रेमी, खेल विश्लेषक, पदाधिकारी र प्रशिक्षकमा कस्तो भाव पैदा गर्ला ? पत्रकारले यो खेलको हेडलाइन कस्ता लेख्लान् ? यसपालिको १३ औँ सागले सबैमा यस्तो कौतुहलता जागृत गरेको छ । 

भनिन्छ, खेलकुद क्षेत्र भाइचारा र अनुशासन सिकाउने पाठशाला हो । कतिपय मुलुकको शितयुद्ध र रिसइवीलाई अन्त्य गर्दै मित्रताको कडिमा खेलकुदले जोडेको हामीले देखेका, सुनेका र पढेका छौँ । त्यसैले पनि आगामी १३ औँ सागमा समावेश गरिएका सबै खेलमा भारत र पकिस्तानले उत्साहपूर्ण सहभागिता जनाएर विश्वसामू अर्को नयाँ उदाहरण पेश गर्नुपर्ने बेला आएको छ । यो परीक्षामा यी दुई राष्ट्रहरु पास हुन सके युद्धको यात्रामा हिँडिरहेका कतिपय मुलुकहरुलाई दक्षिण एसियाबाट एउटा ठूलो शान्ति, एकता र भाइचाराको सन्देश जानेमा कसैमा दुइमत नरहला ।

राखेपका सदस्य सचिव रमेशकुमार शिलवालका अनुसार सहभागिताका लागि भारत र पाकिस्तान बाहेक अन्य चार राष्ट्रहरु माल्दिभ्स, भुटान, श्रीलंका र बंगलादेशको लिखित प्रतिवद्धता नै प्राप्त भइसकेको छ । यद्यपी भारत र पाकिस्तानबाट आफुहरुले सकारात्मक जवाफ पाएको तर लिखित प्रतबद्धता भने आउन बाँकी रहेको शिलबालको भनाई छ ।

भारत र पाकिस्तान त्यस्ता दुई देश हुन् जसको सम्बन्धमा आउने उतार चढावले विगतमा पनि साग प्रभावित भएका उदाहरण छन् । सन् १९८४ मा नेपालबाट सुरु भएको साग (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को इतिहास ३ दशक भन्दा लामो छ । तर, दक्षिण एसियाको सबै भन्दा ठूलो खेल मेला योजना अनुरुप प्रत्येक दुई वर्षमा भने आयोजना हुन सकेको छैन ।

यसै सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद्ले सागलाई मध्येनजर गर्दै खेलकुद भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी गोष्ठी आयोजना गरेको छ । सो गोष्ठीले भौतिक पुर्वाधार निर्माण समयमा नै सम्पन्न गर्नका लागि योजना बाँडफाँड र जवाफदेहिताको विषयमा छलफल गर्नुकासाथै १३ औं सागको भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने जनाएको छ । 

गोष्ठीको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनार (विश्वकर्मा) ले राखेपलाई आर्थिक रुपमा पारदर्शी बनाउने भन्दै सुशासन र संस्थागत विकासमा राखेपले नयाँ मोड लिने प्रतिबद्धता व्यक्त गरे । अपेक्षाकृत लगानी प्राप्त नभएका कारण सिमित साधन स्रोतमा नेपाली खेलकुद अगाडि बढ्नु परेको भन्दै उनले प्रदेश र स्थानीय तहमा भौतिक पुर्वाधार निर्माण हुने र ती पुर्वाधार गुणस्तरीय र समयभित्र नै सम्पन्न गर्नुपर्नेमा जोड दिए । समयबद्ध साताहिकबाट