अवैध निजी स्वास्थ्य संस्था बन्द गराइयो 

अवैध निजी स्वास्थ्य संस्था बन्द गराइयो 

लाहान, २७ साउन । जिल्ला स्वास्थ्य कार्यालय सिरहाले आज लाहानस्थित आधा दर्जन निजी स्वास्थ्य संस्थाहरु बन्द गराएको छ । 

लामो समयदेखि नवीकरण नगराई सञ्चालनमा रहेको लाहानस्थित लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक,  लाहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिक बन्द गराएको जिल्ला स्वास्थ्य अधिकृत उमेश लाल कर्णले जानकारी दिए । 

त्यसैगरी लाहानस्थित मेरी गोल्ड पोलिक्लिनिक एण्ड डाइगनोस्टिक सेन्टर प्रालिलाई बन्द गराएर प्रहरी निगरानीमा राखिएको स्वास्थ्य अधिकृत कर्णले बताए । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख नागेन्द्र प्रसाद यादवको नेतृत्वमा इलाका प्रशासन कार्यालय लाहानका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले अबैध रुपमा सञ्चालित स्वास्थ्य संस्थाहरुमा शिलबन्दी गरिएको स्वास्थ्य अधिकृत कर्णले जानकारी दिए । 

स्वास्थ्य कार्यालयले गत जेठ महिनामै पत्र काटेर सिरहाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो ।
 
नवीकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नवीकरणको लागि समय दिए पनि अटेर गरेको सञ्चालन गर्दै आएकाले कार्वाही स्वरुप तालाबन्दी गरी बन्द गराएको अधिकृत कर्णको भनाइ छ ।