नेपालको रक्सी तस्करीमा बिहारका बालबालिकाको प्रयोग

नेपालको रक्सी तस्करीमा बिहारका बालबालिकाको प्रयोग

जनकपुर । हरेक आमाबुवाको चाहना हुन्छ, सन्तान सधैं सुरक्षित रहोस्, तर यस्ता पनि आमाबुवा छन्, पैसा कमाउनकै लागि आफ्नै सन्तानलाई जस्तोसुकै जोखिम मोल्न पनि पछि पर्दैनन् ।

आफ्ना सन्तानको पालनपोषण गर्दै राम्रो शिक्षा दिएर संस्कार बनाउनुपर्ने ठाउँमा आमाबुवाले नै पैसा कमाउने लोभमा सन्तानलाई गलत कार्यमा संलग्न गराइ रहेको सुन्दा अपत्यारो लाग्न सक्छ तर, नेपालबाट हुने अबैध रक्सी तस्करीमा भारतीय अभिभावकहरुले आफ्ना छोराछोरीलाई रक्सी तस्करीमा लगाउने गरेको रहस्य खुलेको छ ।

प्रदेश २ का अधिकांश जिल्लाहरुबाट भारततर्फ हुने मदिरा तस्करीका घटनामा भारतीय बालबालिकाहरु पक्राउ परेपछि रहस्य खुलेको हो । नेपालसँगै सिमाना जोडिएको भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाका अभिभावकहरुले यतिबेला आफ्नै छोराहरुलाई रक्सी तस्करीमा लगाइरहेका छन् ।

भारतको बिहार राज्यमा रक्सी बिक्री बितरण र प्रयोगमा समेत रोक लागेपछि अहिले बिहारका रक्सीप्रेमीहरु नेपाललाई आफ्नो गन्त्व्य बनाएका छन् । यो सँगसँगै बिहारकै कतिपय बासिन्दाहरु नेपालबाट रक्सी तस्करी गर्ने काममा लागेका छन् । आफूसँगै आफ्ना सन्तानलाई समेत रक्सी तस्करीमा लगाउने गरेको तथ्य सार्वजनिक भएको छ ।

बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको फुलहर बेलापर्सा ९ का एकै परिवारका दाजुभाई १७ बर्षीय राजकिशोर र १६ बर्षीय जयराम मुखिया नेपालबाट बिहारतर्फ रक्सी तस्करी गर्दैगर्दा सीमावर्ती क्षेत्रबाट समातिएपछि यस्तो रहस्य खुलेको छ ।

यी दुबै जना १२ वटा कार्टुनमा प्याक गरिएको सौंफी रक्सी टाउकोमा बोकेर जाँदै गर्दा धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका ५ जमुनीघाटस्थित नेपाल–भारत सीमाबाट केही दिनअघि नियन्त्रणमा लिइएको थियो ।

रक्सी तस्करीमा बिहारका कतिपय परिवारका पूरै सदस्यहरु नै संलग्न रहेको रहस्य खुल्न आएको प्रहरीको भनाइ छ । 

बिहारमा रक्सी बन्द गरिएसँगै भारतीय सिमासँग जोडिएको प्रदेश २ का अधिकांश जिल्लाहरुबाट रक्सीको अत्याधिक तस्करी हुने गरेको पाइएको छ । प्रहरी प्रायः दिनहुँ बिहारतर्फ लग्न खोजिने रक्सीहरु बरामद गर्दै आएको छ । सीमामा खटिने प्रहरीसँगै प्रदेश प्रहरी कार्यालय, जिल्ला र बिभिन्न इलाका प्रहरी कार्यालयले रक्सी तस्करप्रति निगरानी बढाए पनि यो क्रम न्यूनीकरण हुन सकेको छैन ।

भारतीय सीमावर्ती क्षेत्रसँग टाँसिएको नेपालतर्फको बजारमा खुलेको मदिरा पसलहरुमा मदिरा जम्मा पार्ने र तस्करहरुले बालबालिकाहरुलाई भरिएका रुपमा प्रयोग गरी तस्करी भइरहेको देखिन्छ । केही समयसम्म लागू औषध कारोबारमा मात्र प्रयोग हुँदै आएका बालबालिकाहरु भारतको बिहारमा रक्सीको प्रतिबन्ध पश्चात अहिले भारततर्फबाट लागू औषध ओसार्ने र नेपालबाट मदिरा तस्करी गर्ने दुबै कार्यमा प्रयोग हुँदै आएको स्थानीयहरुको भनाइ छ । जे सुकै कारणले भए पनि आफ्ना सन्तानलाई

तस्करीमा संलग्न गराउनु आपराधिक कार्य भएकाले यस्ता अभिभावकहरुलाई कार्वाहीको दायरामा ल्याउनु आवश्यक छ । समयबद्ध साप्ताहिकबाट